अख्तियारमा उजुरीपछि मेयर र कर्मचारी आमने–सामने
शवघाट निर्माण गर्ने विषयमा मोरङको बेलबारी नगरपालिकाका मेयर र कर्मचारी आमने–सामने भएका छन् । घाट निर्माणको विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुर्याएको भन्दै मेयर दिलप्रसाद राईले योजना तथा सामान्य प्रशासन प्रमुख महेन्द्र खड्कालाई जिम्मेवारीबाट हटाएपछि कर्मचारीहरुले आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
नेकपा एमालेनिकट स्थानीय कर्मचारी संगठनले मेयरले झुठ्ठो आरोप लगाएर कर्मचारीलाई सफाईको मौकासमेत नदिइकन निकालेको भन्दै आपत्ति जनाएको छ । यता, मेयर राईले अनुशासनविपरीतको कार्य गरेर पालिकाको मर्यादा उल्लंघन गरेकाले कानुनबमोजिम कारबाही गरिएको दाबी गरेका छन् । उपमेयर नितु थापाले पालिकाको कार्यकक्षमा गरेको पत्रकार सम्मेलनमा जनप्रतिनिधि र कर्मचारीहरुबीचको सम्बन्ध सुधार गरेर जनताको असन्तुष्टिलाई न्यूनीकरण गराउनुको साटो मेयरले थप दूरी बढाएको आरोप लगाएकी छन् ।
स्पष्टीकरणको मौका नदिएर कर्मचारी हटाउनु गलत भएको उनको ठम्याई छ । उनले खड्कामाथि गरिएको कारबाही गैरकानुनी भएको बताइन् । ‘यस्तो कारबाहीले कुनैपनि सफलता हासिल गर्न सक्दैन । कार्यसम्पादनमा सबैको उपस्थिति र सहमतिलाई पालिका प्रमुखले नजरअन्दाज गर्न मिल्दैन’,सम्मेलनमा उनले भनिन् ।

मेयर राई एमाले संस्थापन पक्षका हुन् भने उपमेयर नेपाली काँग्रेसको । जिम्मेवारी खोसिएका खड्का एमाले निकट कर्मचारी संगठनका हुन् । स्रोतका अनुसार मेयर राईले उजुरीबारे छानबिन गराएका छैनन् । गत माघ २८ गते बसेको पालिकाको १२७ औं बैठकबाट खड्कालाई गोपनीयता भंग गरेको, कार्यालयको हितविपरीत पदीय मर्यादा भुलेर काम–कारबाही गरेको भन्दै जिम्मेवारीबाट मुक्त गराइएको हो ।
आवश्यक व्यवस्थापनका लागि कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लेखेर पठाउने निर्णय पनि भएको प्रमुख प्रशासकीय अधिकृत किरण ढकालले बताए । ढकालले माघ २९ गते खड्कालाई जिम्मेवारीबाट हटाइएको पत्र थमाएका थिए । त्यसयता उनी कार्यालय गएका छैनन् ।
‘प्रस्तुत विषयमा तपाईंलाई यस नगरपालिकाको कर्मचारी प्रशासन शाखाको शाखा प्रमुखको रूपमा जिम्मेवारी तोकी पालिकाले विभिन्न कामकाज लगाउँदै आएकोमा नगर कार्यपालिकाको मिति २०८१।१०।२८ गते बसेको १२७ औँ बैठकको निर्णयअनुसार तपाईँलाई अर्को व्यवस्था नभएसम्मका लागि तोकिएका सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको व्यहोरा जानकारी गराइन्छ’, पत्रमा उल्लेख छ ।
यता, कारबाहीमा परेका खड्काले भने आफूलाई लगाएको आरोप पुष्टि नहुने बताए । सो बैठकमा उपमेयर थापा, कार्यपालिका सदस्य सञ्चमाया लिम्बु, ८ नम्बर वडाका वडाध्यक्ष धनपति गौतमलगायत अनुपस्थित रहेको उल्लेख गर्दै उनले भने, ‘सफाईको मौकासमेत नदिईकन जबरजस्ती झुठ्ठो आरोप लगाएर जिम्मेवारी खोस्ने निर्णय गरिएको हो ।’
उनका अनुसार वडा नम्बर ७ स्थित व्यक्तिको जग्गामा एक करोड ११ लाख रुपैयाँ सरकारी बजेटमा भइरहेको घाट निर्माणबारे स्थानीयहरुले अख्तियारमा उजुरी दिएका थिए । सो निवेदनको ड्राफ्ट नगरपालिकाको ल्यापटपमा फेला परेको थियो । प्रदेश र स्थानीय सरकारको साझेदारीमा निर्माण गरिएको शवघाटका लागि पालिकाले ठेकेदार भास्कर कन्स्ट्रक्सनलाई ७२ लाख ७३ हजार रुपैयाँ भुक्तानी गरिसकेको छ ।
लोहन्द्रा खोलामा बनिरहेको शवघाटको जग्गा निजी स्वामित्वको पाइएपछि स्थानीयले धनीपुर्जाको खोजी गर्न थालेका छन् । यता, अख्तियारमा बेनामे उजुरी परेको बुझिएको छ । खड्का उजुरीकर्ताबारे आफूलाई केही जानकारी नभएको बताउँछन् । ‘कसले उजुरी हाल्यो, मलाई थाहा छैन् । मैले उजुरी हाल्न लगाएको होइन् । तैपनि छानबिन नै नगरी, स्पष्टीकरणको मौका नै नदिईकन मलाई हटाइयो’,उनले गुनासो पोखे ।
यता, स्थानीय तह कर्मचारी संघ, कोशी प्रदेशकी उपाध्यक्ष अनिता न्यौपाने कोइराला र सचिव किशोर कार्कीले यथार्थ विवरण नबुझिकन कोरा आरोप लगाई कर्मचारी हटाउनु गलत भएको बताएका छन् । ऐनकानुनको समेत ख्याल नगरिकन कर्मचारी हटाइएको विरोधमा संघर्ष गर्ने उनीहरुको चेतावनी छ ।
टिप्पणीहरू