ससुराको किरियामा जाँदै गरेकी बुहारीको सडकमै देहान्त

- यदुनाथ बन्जारा
मोटरसाइकल चलाउने र चढ्नेले सावधानी नअपनाउँदा हुने कतिपय घटनाले पुर्याउने पीडादायी र अपुरणीय क्षतिको कल्पना पनि गर्न सकिँदैन । त्यस्ता अधिकांश घटनापछि धिक्कार्नु सिवाय अरु उपाय हुँदैन । यस्तै पीडादायी घटनाको बज्रपात काभ्रेपलाञ्चोकको एउटा गौतम परिवारमा परेको छ ।
बेथानचोक गाउँपालिका २ का भीमप्रसाद गौतमका हृदयाघातका कारण मृत्यु भयो । भीप्रसादको असामयिक निधनपछि ससुराबाको काज किरियाको लागि मकवानपुरको फापरबारीबाट काभ्रेपलाञ्चोक जाँदै गरेकी बुहारी मेनुका गौतमकोसमेत दुर्घटनामा मृत्यु भएको प्रहरी वृत्त चापागाउँले जानकारी दिएको छ ।
ससुराको निधनको खबरपछि फापरबारीबाट ललितपुरको गिम्दी हुँदै बेथानचोक ढुङखर्क हिँडेकी बुहारी मेनुकाको आफ्नै भतिजले चलाएको मोटरसाइकलको टायरमा ओढेको सल बेरिएर मृत्यु भएको हो । सल घाँटीमा बेरिएर पासो बनेपछि उनको निधन भएको बताइन्छ ।
उक्त परिवारमा २४ घण्टा नबित्दै अर्को बज्रपात परेको छ । राजेशले चलाएको बा.६८ प २२०८ नम्बरको मोटरसाइकलको टायरमा बेरिएर ललितपुरको बागमती गाउँपालिका गिम्दिमा उनको काकीको मृत्यु भएको प्रहरीले बताएको छ ।
हजुरबुबाको निधनको चोट बोक्दै उनले किरियाको लागि ल्याउँदै गरेका काकीको मृत्युपछि गौतम प्रहरी फन्दामा परेका छन् । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धानको लागि प्रहरी वृत्त चापागाउँ ललितपुरमा राखिएको छ ।
चालकसँग सवारी चालक अनुमतिपत्र नभएकाले सवारी ज्यान मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय चापागाउँ ललितपुरका प्रहरी इन्स्पेक्टर सन्जिब योन्जनले बताए । लाइसेन्स नभएको व्यक्तिलाई सवारी चलाउन दिने सवारी धनी मृतक मेनुकाका श्रीमानलाई पनि किरियापछि नियन्त्रणमा लिएर सवारी ज्यान मुद्दा चलाउने प्रहरी इन्स्पेक्टर योन्जनले जानकारी दिए ।
मोटरसाइकल चालकले पछाडि बस्नेलाई व्यवस्थित तवरले बसाउन नसक्नु र यात्रुले पनि सल पछ्यौरा सम्हालेर नबस्दा दुःखद् घटना हुने गरेको छ । अर्कोतर्फ लाइसेन्स नभएकालाई सवारी साधन चलाउन दिनु अर्को ठूलो कानुनी भूल हुने गरेको छ ।
टिप्पणीहरू