भ्रष्टाचार नरोकिएकोमा राष्ट्रपति चिन्तित

भ्रष्टाचार नरोकिएकोमा राष्ट्रपति चिन्तित

राष्ट्रपति रामचन्द्र पौडेलले सत्ता र शक्तिको दुरुपयोग गर्ने प्रवृति बढेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औँ स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सत्ता, शक्तिको अनावश्यक मोहले प्रक्रिया, पद्धति र प्रणालीको दुरुपयोग गरी मानिसलाई भ्रष्टाचारतर्फ प्रवेश गराइरहेको बताउनुभयो । 

‘सत्ता शक्ति प्राप्तिको अनावश्यक मोहले प्रक्रिया पद्धति र जिम्मेवारीको दुरुपयोग गरी मानिसलाई भ्रष्टाचारतर्फ लगिरहेको छ’, राष्ट्रपति पौडेलले भन्नुभयो, ‘प्रविधिको तीव्र विकास र प्रयोगसँगै भ्रष्टाचारका तरिका र प्रवृत्तिमा समेत जटिलता थपिएको छ।’

राष्ट्रपति पौडेलले सुशासनको पहिलो शर्त पारदर्शिता भए पनि त्यसबाट चुकिरहेको बताउनुभयो । पारदर्शिताबिना लोकतन्त्रको प्रतिफल प्राप्त नहुने बताउँदै थप्नुभयो, ‘देशको हित र अन्तर्राष्ट्रिय छविको लागि सदाचार निष्पक्षता पारदर्शितालाई मूल मन्त्र बनाएर काम गर्नुपर्छ ।’

भ्रष्टाचारसम्बन्धी विधेयकहरु लामो समयदेखि टुंगो नलाग्दा छानविन र अनुसन्धानमा समस्या आएको उहाँको भनाई छ । ‘यसमा सम्बद्ध पक्षको म ध्यानाकर्षण गराउन चाहन्छु- भ्रष्टाचार नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको नेपाल पनि पक्षधर मुलुक भएकाले त्यसमा उल्लेखित प्रावधानअनुरूप हाम्रा कानुन र संयन्त्र परिमार्जन गर्न आवश्यक छ’, उहाँले भन्नुभयो । 

भ्रष्टाचारको प्रकृति र स्वरुप परिवर्तन भइरहेको भन्दै त्यसैअनुसारको अनुसन्धान र अभियोजन प्रक्रिया अवलम्वन गर्न आवश्यक रहेकोमा राष्ट्रपतिको जोड छ ।
Write to Editor & Uttam
 

टिप्पणीहरू