राजधानीमा नेपाल–पाकिस्तान मैत्री टी–२० क्रिकेट प्रतियोगिता

राजधानीमा नेपाल–पाकिस्तान मैत्री टी–२० क्रिकेट प्रतियोगिता

नेपाल–पाकिस्तान मैत्री टी–२० क्रिकेट प्रतियोगिताको दशौं संस्करण प्रारम्भ भएको छ । काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले हिजोदेखि आयोजित ‘नेपाल–पाकिस्तान मैत्री टी–२० क्रिकेट प्रतियोगिता–२०२५’ फागुन ४ गतेसम्म चल्ने छ । 

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी बोर्ड सदस्य सुवर्ण श्रेष्ठले हरेक वर्ष कार्यक्रम सफलतापूर्वक आयोजनाका निम्ति दूतावासको पहलको प्रशंसा गरे । उनका अनुसार यस्ता प्रतियोगिताले दुई देशका युवाहरुलाई एकै ठाउँमा ल्याउनुका साथै क्रिकेटप्रतिको लगावलाई उजागर गर्ने छ । 

समारोहमा पाकिस्तानी राजदूत अबरार एच हाश्मीले प्रतियोगिताले क्रिकेटको विकासमा मात्र मद्दत नपुगी दुई देशका नागरिकलाई एकै मञ्चमा काम गर्ने र भावना साटासाट गर्ने अवसर मिल्ने बताए । प्रतियोगितामा १२ क्लब–स्तरीय क्रिकेट टिम सहभागी छन् । 

उद्घाटन समारोहमा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्द वैद्य, पूर्व उपप्रधानमन्त्री सीपी मैनाली, नेपाल क्रिकेट संघका पूर्वअध्यक्ष विनयराज पाण्डे, डेनमार्कका लागि पूर्व नेपाली राजदूत युवनाथ लम्साललगायत विभिन्न क्षेत्रमा सक्रिय व्यक्ति उपस्थित रहेको दूतावासले जनाएको छ । 

एक्सन स्पोट्र्स टेलिभिजन च्यानल र सामाजिक सञ्जालमार्फत प्रतियोगिताको प्रत्यक्ष प्रशारण भइरहेको छ । फागुन ४ गते हुने प्रतियोगिताको फाइनल खेलमा विजेता टोलीलाई ट्रफी र पुरस्कार वितरण गरिने छ । 

टिप्पणीहरू