चुनबाङ बैठक सम्झँदै प्रचण्ड- हामी संघर्षको विन्दुमा आइपुगेका छौं

प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धमा जस्तै समाजवादी क्रान्तिका लागि सङ्कल्प गर्ने बेला आएको बताउनुभएको छ ।
धुलिखेलमा सम्पन्न राजनीतिक तथा वैचारिक प्रशिक्षणलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । अहिले देशभरि भइरहेका भेला र प्रशिक्षणलाई समाजवादी क्रान्तिकै तयारीको रुपमा बुझ्न प्रचण्डले कार्यकर्तालाई आग्रहसमेत गर्नुभएको छ ।
‘हामीले जनयुद्धको तयारी गर्दा पनि यसरी नै देशभरि भेला र प्रशिक्षण गरेका थियौं’, उहाँले भन्नुभयो, ‘अहिले हामी समाजवादी क्रान्तिको तयारीको चरणमा फेरि त्यस्तै कार्यक्रमहरु गरिरहेका छौं, यो हामीले समाजवादी क्रान्तिको संकल्प गर्ने बेला हो ।’
जनयुद्ध गर्नुअघि माओवादी शक्तिलाई बिरोधीले नपत्याएको स्मरण गर्दै प्रचण्डले स्पष्ट विचार, सिद्धान्त र कार्यक्रमका आधारमा जनयुद्ध अघि बढेको र देशकै प्रमुख शक्तिको रुपमा स्थापित भएको बताउनुभयो । तर, शान्तिकालमा केही कमजोरी भएको स्वीकार गर्दै उहाँले अब सुधार गरेर जाने प्रतिवद्धता जनाउनुभयो ।
‘पछिल्लो शान्तिकालमा हामी कतै लरबरायौं, अलिकति सुधारवाद र उदारवादमा हरायौं, जसले गर्दा हाम्रो आफ्नै वर्गले पनि क्रान्तिका बाँकी सपना अधुरै रहन हुने कि भन्ने आशंका गर्न थाल्यो’– उहाँले भन्नुभयो– ‘तर, अहिले हामीले गम्भीर आत्मसमीक्षा गरेका छौं, भर्खरैको केन्द्रीय समिति बैठकपछि हामीले सुधारवाद र उदारवाद होइन, वामपंथ र क्रान्तिकारी लाइन दह्रोसँग पकड्ने सङ्कल्प गरेका छौं, यही नै हाम्रो समाजवादी क्रान्तिप्रतिको सङ्कल्प हो ।’
शान्ति सम्झौता गरेर पार्टी बहुदलीय प्रतिष्पर्धामा आएपछि दायाँ र बायाँ गर्दै अघि बढ्ने क्रममा माथिदेखि तलसम्म नेता-कार्यकर्ता बढी नै दायाँतिर ढल्कन थालेको यथार्थ बोध गरेर नै अब पार्टीलाई बायाँतिर अघि बढाउने नीति र कार्यक्रम अघि सारिएको प्रचण्डले सुनाउनुभयो । जनयुद्धको उत्कर्ष चरणमा भएको चुनबाङ बैठकको निर्णय स्मरण गर्दै भन्नुभयो– ‘हामीले त्यतिबेला स्पष्ट भनेका थियौं– अब गणतन्त्र आउँछ, यसका लागि बुर्जुवाहरुसँग सम्झौता गर्नुपर्ने पनि हुनसक्छ तर त्यो गणतन्त्रलाई बर्जुवाहरुले आफ्नोअनुकूलको गणतन्त्र बनाउने प्रयास गर्ने छन् र हामीले समाजवादी गणतन्त्र बनाउने प्रयास गर्ने छौं । अहिले हामी यही संघर्षको विन्दुमा आइपुगेका छौं ।’
शान्ति प्रक्रिया र संविधान लेखन हुँदै अहिलेसम्म आइपुग्दा विभिन्न सफलता र कमजोरीका बीच एउटा कालखण्ड पार गरेको उल्लेख गर्दै प्रचण्डले अब पार्टी सम्पूर्ण रुपमा समाजवादी क्रान्तिको चरणमा अघि बढ्ने दावी पनि गर्नुभएको छ । जनयुद्धको थालनी, सञ्चालन, शान्ति सम्झौता, संविधानसभाको निर्वाचन, गणतन्त्र घोषणा जस्ता युगान्तकारी निर्णय गर्ने अवसर पाउने माओवादी एक मात्र शक्ति भएको उल्लेख गर्दै अब समाजवादी क्रान्तिको थालनी पनि माओवादीले नै गर्ने बताउनुभयो । यद्यपि यसका लागि माओवादी नेता कार्यकर्ताहरुको रुपान्तरणको विकल्प नभएको उहाँले स्पष्ट गर्नुभयो ।
‘अब भाषण गरेर प्रशिक्षण दिएर मात्रै रुपान्तरण सम्भव हुने देखिएन’, प्रचण्ड भन्नुहुन्छ, ‘त्यसैले यो काम अब नेतृत्वबाट नै सुरु गर्नुपर्छ भनेर म पूरै आत्मसमीक्षा सहित देशभरि नेता कार्यकर्ता र जनताको बीचमा पुग्ने अभियानको थालनी गरेको छु । मैले एक चरण यो अभियान पूरा गरेपछि अब लगत्तै सिंगो पार्टी एकैसाथ देशभरि परिचालित हुने छ, रुपान्तरणको नयाँ अभियान अघि बढ्ने छ ।’
समाजवादी क्रान्तिकै लक्ष्यसहित आफूले तेस्रोपटक सरकारको नेतृत्व गर्दा सुशासन, सामाजिक न्याय र समृद्धिको मूल बाटो तय गर्दै भ्रष्टाचारविरुद्धको महाअभियान सुरु गरेको उहाँको जिकिर छ ।
टिप्पणीहरू