कसका निम्ति सेकिइन् बिन्दा कमरेड ?
प्रधानमन्त्रीमा आफू हुँदै अर्ली महाधिवेशनको प्लान
पार्टीभित्र आन्तरिक लोकतन्त्रको वकालत गरेर नै राजनीतिक जीवनको सर्वोच्च पदसम्म पुग्न सफल केपी ओली आखिर किन यति धेरै असहिष्णु र निर्मम बनेर सहयात्री, सहकर्मीहरूलाई कारबाही गर्न बाध्य बन्नु भएको होला ? एमालेले भीम रावललाई साधारण सदस्यसमेत नरहने गरी गरेको बर्खास्तीसँगै दुईजना नेत्री बिन्दा पाण्डे र उषाकिरण तिमल्सिनामाथि निलम्बनको कारबाहीपछि सर्वाधिक सोधिने प्रश्न हो यो, जसको जवाफ ३–४ जना नेतासँग मात्रै छ । किनकि उनीहरूले नै यसरी कारबाही गर्नुको कारण र त्यसले निम्त्याउने परिणामबारे राम्रैसँग लेखाजोखा गरेर केपी ओलीलाई यसनिम्ति हौस्याएका हुन् । यही रणनीति बुझ्ने एक एमाले नेताका अनुसार आफू प्रधानमन्त्री रहेकै बेला पार्टीको ‘अर्ली’ महाधिवेशन गर्ने ओलीको इच्छाअनुसार नै यस्तो कदम चालिएको हो ।
समाचार स्रोतका अनुसार, पार्टीभित्र आफूलाई प्रतिस्पर्धीविहीन अवस्थामा राख्ने र चीनमा सि चिनफिङ, रुसमा भ्लादिमिर पुटिनजस्तै शक्तिशाली नेता बन्ने ओलीको रहरमा बाधा पुर्याउँदै भीम रावलले अध्यक्ष पदमा फेरि उम्मेदवारी दिने सम्भावनालाई पूर्णविराम लगाउन उनलाई पार्टीबाटै बर्खास्त गरिएको हो । ओलीले यस्तो सन्देश दिँदै भन्नुभएकै थियो, ‘त्यत्रो ९ करोड पार्टी सदस्य भएको चिनियाँ कम्युनिष्ट पार्टीमा शीर्ष नेतृत्वविरुद्ध कोही नबोल्ने अनि यहाँचाहिँ सबैले अध्यक्षको विरोध गर्दै अनेकौं गीत गाउँदै हिँड्नुपर्ने ? यस्तो छुट अब पार्टीमा हुँदैन ।’ यसअनुसार अहिले एमाले निर्धारित समयभन्दा अगाडि नै महाधिवेशनमा जाने भित्री तयारी भएको छ । सोही स्रोत ठोकुवा गर्दै भन्छ– आगामी कार्तिक–मंसिरमा आफू प्रधानमन्त्री रहेकै बेला एघारौं महाधिवेशन गर्ने र पुनः एक कार्यकालका लागि आफैं अध्यक्ष बन्ने योजना यसमा अन्तरनिहित छ ।
२०७० सालमा पूर्ण लोकतान्त्रिक विधिबाट झलनाथ खनाललाई पराजित गरेर ओली संसदीय दलको नेता चुनिनुभएको हो । जबकि त्यो बेला खनाल पार्टी अध्यक्ष थिए । उनै केपी ओलीले यसपटक दलको नेता बन्न भने कुनै विधि प्रक्रिया पूरा गर्नु परेन । खासमा पार्टीले चुनाव हारिरहेको अवस्था थियो । तर उहाँले जित हासिल गरेको भन्दै प्रज्ञा प्रतिष्ठानमा उत्सव मनाउन नेता, कार्यकर्तालाई भेला गर्नुभयो । कुनै औपचारिक प्रक्रियाबिना नै त्यहीं आफूलाई संसदीय दलको नेता घोषणा गर्नुभयो ।
यहाँ स्मरणीय के छ भने बल्खुस्थित पार्टी कार्यालयको शिलान्यास गर्ने र यस निम्ति कार्यकर्ताहरूबाटै चन्दा उठाउने मार्गका सूत्रधारसमेत उहाँ नै हुनुहुन्थ्यो । अहिले पनि नेकपा (एमाले)का संगठित कार्यकर्ताले पार्टी अफिस निर्माणका नाममा सय रुपैयाँ लेबी तिरिरहेका छन् । यो क्रम लामो समयदेखि निरन्तर छ । तर अहिले कुनै व्यापारिक घरानाबाट चन्दा लिएर अफिस बनाउनु हुँदैन भन्ने अडान राखेकै आधारमा नेतृहरुलाई कारबाही गरिएको छ । यो सबैको एउटै उद्देश्य निर्विकल्प र अति शक्तिशाली पार्टी अध्यक्षका रुपमा अझै एक कार्यकाल एमाले हाँक्ने चाहना नै हो ।
अध्यक्षको प्रतिस्पर्धीबाट हटाउन भीम रावललाई कारबाही गरिरहँदा बिन्दा पाण्डेलाई चाहिँ किन निलम्बित गर्नुभएको होला ? यसमा पनि अर्को रोचक पक्ष छ । अहिले पद्मा अर्यालले पाएको सचिव पदको वास्तविक हकदार विन्दा पाण्डे हुन् । तर, उनले त्यो जिम्मेवारी पाइनन् । सिनियरकै हिसाबले हेर्ने हो भने थममाया थापाहरुको पालो आउनुपर्नेमा बहुमुखी प्रतिभा नभेटेकै कारण केही युवा पुस्ता खोज्दा अब्बल देखिने पात्र हुन्, बिन्दा । बरु उनको प्रतिस्पर्धी बन्न सक्थिन् पूर्व अखिल उपाध्यक्ष शिवमाया तुम्बाहाम्फे । तर, शिवमायालाई राजदूत बनाएर कोरिया पठाई बिन्दालाई कारवाही गरेपछि पद्माको प्रतिस्पर्धी कोही पनि बाँकी रहेनन् । गिरिबन्धु टिइस्टेट काण्डमा अर्यालले ओलीलाई लगाउनु गुन लगाएकी थिइन् । भूमिसुधारमन्त्रीका रुपमा उनले नेतृत्वले चाहेका रुपमा भन्दा बढी काम गरिदिएको लोकले देखेको छ । जसका लागि उनलाई पुरस्कृत गर्नुपर्ने नै थियो । त्यही गरियो ।
टिप्पणीहरू