एकीकृत समाजवादी कतै नमिसिने, सहकार्यका लागि तयार
नेकपा एकीकृत समाजवादीले कुनै पनि कम्युनिष्ट पार्टीसँग एकता नगर्ने निर्णय गरेको छ । आज सम्पन्न स्थायी समिति बैठकको निर्णय सुनाउँदै प्रवक्ता जगन्नाथ खतिवडाले उक्त कुरा बताएका हुन् । उनका अनुसार एजेन्डाका आधारमा सहकार्य गर्नसक्ने विकल्प भने बैठकले खुलै राखेको छ ।
एकीकृत समाजवादीले केन्द्रीय सचिवालय पनि गठन गरेको छ । जसमा अध्यक्ष, सम्मानित नेता, उपाध्यक्ष, उपमहासचिव र सचिव गरी २४ जना रहने छन् ।
त्यस्तै, महासचिवको नेतृत्वमा उपमहासचिवहरु सदस्य रहने गरी केन्द्रीय कार्यालय सञ्चालन गर्ने निर्णय भएको छ । नेताहरुको कार्यविभाजन भने दुई दिन पछि गर्ने निर्णय गरेको खतिवडाले जानकारी दिए ।
पार्टीलाई जनतासँग जोड्न र दैनिक समस्या पहिचान गरेर जनसंघर्ष वा आन्दोलन गर्ने एकीकृत समाजवादीको निर्णय छ । जनसङ्घर्षका कार्यक्रम तयार गरेर सार्वजनिक गर्ने बताइएको छ ।
बैठकले संविधान संशोधनको लागि सुझावसहितको प्रतिवेदन पेश गर्न उपाध्यक्ष प्रकाश ज्वालाको संयोजकत्वमा सात सदस्यीय कार्यदल बनाएको छ । कार्यदलमा गरिमा शर्मा, गणेश विक, बलदेव चौधरी, रामचन्द्र यादव, घनप्रसाद गौतम र राजन राई रहने जनाइएको छ ।
टिप्पणीहरू