प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन खोज्ने रास्वपा कार्यकर्ताहरु पक्राउ, लगत्तै कडा सुरक्षा व्यवस्था
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक दर्जन कार्यकर्ता झापामा पक्राउ परेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोजेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्ण चन्दका अनुसार रास्वपाका क्षेत्रीय सभापति शम्भु सुस्केरासहित करिब एक दर्जन प्रदर्शनकारीलाई नियन्त्रणमा लिएर दमक चौकीमा राखिएको छ । त्यस्तै, प्रदेशको नाम कोशी राखेको भन्दै प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने केदार धिमाल, मात्रिका धिमाल र याम लोरिङ्देन लिम्बूलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
गृहजिल्ला झापा पुग्नुभएका प्रधानमन्त्री ओली भोलि साँझसम्म आठ वटा फरक–फरक कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । तर, कार्यक्रमस्थलहरुमा प्रदर्शनकारीहरुले नाराबाजीसँगै कालो झण्डा देखाउने प्रयास गरेको बताइन्छ ।
आज बिहान मेचीनगर इट्टाभट्टा नजिक पनि रास्वपा कार्यकर्ताले प्रदर्शन गरेका थिए । भोलि विभिन्न ठाउँमा प्रदर्शनको तयारी थाहा पाएपछि प्रहरीले सम्भावित सुरक्षा खतरालाई मध्यनजर गर्दै उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरेको बताएको छ ।
टिप्पणीहरू