बैंक डुबाउनेलाई माया गरियो : नेकपा बहुमत

बैंक डुबाउनेलाई माया गरियो : नेकपा बहुमत

नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले कर्णाली विकास बैंकका निक्षेपकर्ताको रकम सुरक्षाको माग गर्दै नियामक निकाय नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ । 

वित्तीय क्षेत्रका माफिया र गिरोहले योजनावद्ध रुपमा बैंक डुबाएको आरोप लगाउँदै सो पार्टीले कारवाहीको मागसहित राष्ट्र बैंकको नेपालगञ्ज कार्यायलाई ६ बुँदे ज्ञापन पत्र बुझाएको हो । कर्जा दुरुपयोगको आरोपमा वित्तीय कारोबार गर्न नपाउनगरी कारवाहीमा परेको कर्णाली विकास बैंकप्रति राष्ट्र बैंक नरम देखिएको भन्दै बहुमतले तत्काल थप कारवाहीको माग गरेको छ । 

’पटक–पटक विभिन्न सञ्चार माध्यमले तथ्य, प्रमाणसहित समाचार प्रकाशन गरिसक्दा पनि राष्ट्र बैंकले कर्णाली विकास बैंकप्रति मौनता साँधेर देखाएको मायामोहको पनि हाम्रो पार्टी खेद प्रकट गर्दछ’, ज्ञापनपत्रमा भनिएको छ । 

मुठ्ठीभर माफियाले जनताको निक्षेपमा रजाई गर्दा पनि नियामक निकायले अनदेखा गरेको आरोप लगाउँदै सो पार्टीले अगाडि भनेको छ, ‘दलाल तस्करहरुले जनताको खुन पसिना बगाएर खाई नखाई जम्मा गरेको रकममा रजाइ गर्दै रासलिला मच्चाउने कुरा हाम्रो पार्टीलाई किमार्थ सह्य हुँदैन ।’

कर्णाली विकास बैंक लामो समयदेखि विवादमा रहँदै आएको बैंक हो । निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत पुगेको र पुँजीकोष अनुपात निकै तल देखिएपछि हालै केन्द्रीय बैंकले सो बैंकको कारोबार रोक्का गरेको छ ।

टिप्पणीहरू