नयाँ मापदण्डपछि एम्बुलेन्सको अघिल्लो भागमा उल्टो अक्षर, पछाडि सुल्टो

नयाँ मापदण्डपछि एम्बुलेन्सको अघिल्लो भागमा उल्टो अक्षर, पछाडि सुल्टो

मापदण्ड नपुगेका एम्बुलेन्सको सञ्चालन अनुमति नवीकरण नहुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ बमोजिम मापदण्ड नपुगेका एम्बुलेन्सको नवीकरण नगर्न निर्देशन दिएको छ । 

सातै प्रदेशका एम्बुलेन्स व्यवस्थापन समिति र ७७ वटै जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिलाई परिपत्र गर्दै मन्त्रालयले निर्देशिकामा तोकिएको मापदण्ड पूरा गरेको अवस्थामा मात्र सञ्चालन अनुमति नवीकरण गर्न भनेको छ । 

देशभरका एम्बुलेन्सको रङ, साइन तथा एम्बुलेन्समा प्रयोग हुने अन्य संकेत समेतमा एकरुपता ल्याउन निर्देशिकाको दफा १५ ले तोकेको मापदण्डमा एकरुपता नआएको जनगुनासो आएकोले यस्तो निर्देशन दिइएको मन्त्रालयको भनाइ छ । 

परिपत्रमा लेखिएको छ, ‘राष्ट्रिय एम्बुलेन्स व्यवस्थापन समितिबाट एम्बुलेन्स सञ्चालनको अनुमति लिएका एम्बुलेन्सहरुले निर्देशिकाको दफा १५ बमोजिम मापदण्ड पुरा गरेको अवस्थामा मात्र सबै जिल्ला एम्बुलेन्स व्यवस्था समितिले नवीकरणका लागि प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समितिमा सिफारिस गर्ने र प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समितिले समेत निर्देशिकाको दफा १५ ले तोकेको मापदण्ड पुरा गरेको अवस्थामा मात्र एम्बुलेन्स सञ्चालन अनुमति नवीकरण गर्ने व्यवस्थालाई कडाईका साथ लागू गर्न निर्देशानुसार अनुरोध छ ।’

निर्देशिकाले एम्बुलेन्समा एकरुपता ल्याउन १५ वटा मापदण्ड तोकेको छ । जसमा एम्बुलेन्सले राष्ट्रिय प्रदूषण मापदण्ड अनिवार्य रुपमा पालना गरेको, एम्बुलेन्सको पहिचान हुने आवज (साइरन), रातो लामो रङको संकेत बत्ती जडान भएको र चार पाङ्ग्रे हुनुपर्छ । 

एम्बुलेन्सको अगाडी भागमा एम्बुलेन्स शब्द उल्टो अक्षरबाट र तीन अंकको १०२ टेलिफोन नम्बर अंग्रेजी र नेपाली दुवै भाषामा लेखिनुका साथै वर्ग उल्लेख गरिनुपर्छ । सोहीबमोजिम सामान तथा सुविधा अद्यावधिक भएको हुनुपर्ने निर्देशिकामा जनाइएको छ । 

एम्बुलेन्स एक हजार सिसिभन्दा बढी क्षमताको, नीलो रङको कम्तीमा तीस सेमी, लम्बाईको स्टार अफ लाइन संकेत चिन्ह दायाँबायाँ र पछाडि तीनतर्फ राखिएको, एम्बुलेन्सको चालकको पछाडी पट्टी कुनै सिट नराखिएको र सरकारबाट राजस्व छुट सुविधाप्राप्त भएमा अनिवार्य रुपमा प्रष्ट देखिने गरी सो लेखिनुपर्छ । 

‘क’ वर्गको एम्बुलेन्समा निर्देशिकाले तोकेको ढाँचामा बाहिर देखिने भागको कम्तीमा दुई तिहाई भाग रातो, त्यसबाहेक दायाँबायाँ भाग हरियो र पहेँलो रङको ब्याट्न वर्गशैली भएको र पछाडी भागमा ६ इञ्च चौंडाई भएको उल्टो चेभरन शैली न्यूनतम तीन धर्का भएको हुनुपर्छ । ‘ख’ वर्गको एम्बुलेन्समा भने बाहिर कम्तीमा दुई तिहाई भाग पहेँलो हुनुपर्छ । निर्देशिकामा एम्बुलेन्समा जीपीएस अनिवार्य रुपमा जडान गर्नुपर्ने समेत व्यवस्था छ ।

टिप्पणीहरू