बंगलादेशबाट फर्किएकामध्ये सबैभन्दा धेरै विद्यार्थी काकडभिट्टा नाका हुँदै

बंगलादेशबाट फर्किएकामध्ये सबैभन्दा धेरै विद्यार्थी काकडभिट्टा नाका हुँदै

सरकारी जागिरको आरक्षणमा गरिएको विशेष व्यवस्थाविरुद्ध जारी आन्दोलन चर्किएपछि बंगलादेशबाट नेपाली विद्यार्थी धमाधम फर्किन थालेका छन् । हालसम्म एक हजार एक सय ३० जना विद्यार्थी नेपाल फर्किएको बताइएको छ ।

तीमध्ये पूर्वी नाका काँकडभिट्टा हुँदै मात्र आज बिहानसम्म सात सय ७५ जना विद्यार्थी स्वदेश आइपुगेका छन् । ढाकाबाट हवाईमार्ग हुँदै तीन सय ४१ जना विद्यार्थी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छन् । 

१४ जना विद्यार्थी बिराटनगरस्थित रंगेली नाकाबाट नेपाल फर्किएका हुन् । प्राप्त विवरणअनुसार आन्दोलनपछि साउन १ गते पहिलो पटक विभिन्न नाका तथा हवाईमार्ग हुँदै १८ जना नेपाली विद्यार्थी बंगलादेशबाट स्वदेश आएका थिए । 

साउन २ गते ४७ जना, साउन ३ गते एक सय ६० जना, साउन ४ गते एक सय ८७ जना, साउन ५ गते दुई सय १२ जना र हिजो साउन ६ गते चार सय १२ जना फर्किएका हुन् । 

आज बिहानसम्म बंगलदेशबाट थप ९४ जना नेपाली विद्यार्थी स्वदेश आइपुगेका छन् । त्यहाँका विभिन्न शैक्षिक संस्थामा करिब पाँच हजारभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत छन् । 

आन्दोलन हिंसात्मक हुन थालेपछि विगत सात दिनदेखि नेपाली विद्यार्थीहरु स्वदेश फर्किने क्रम जारी छ । सन् १९७१ मा पाकिस्तानबाट छुट्टिएर बंगलादेश स्वतन्त्र हुँदा लडेका बंगलादेशी सेनाका सन्तानलाई सरकारी जागिरमा विशेष आरक्षण दिने सरकारको नीतिविरुद्ध उनीहरुले आन्दोलन चर्काएका हुन् । 

विद्यार्थी र सुरक्षाकर्मीबीचको झडपमा सयौंको ज्यान गएको छ । आन्दोलनले हिंसात्मक रुप लिएपछि बंगलादेशको सर्वोच्च अदालतले आरक्षण प्रणाली खारेजको आदेश दिएको छ ।

टिप्पणीहरू