न्युरोडमा उखेलिएको फलामे रेलिङ अन्यत्र लैजाँदै
काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा लगाएको रेलिङ्ग हटाउन थालेको छ । वडा नम्बर २४ को फुटपाथमा लगाइएको कुमारीको आँखा भएको रेलिङ्ग धमाधम निकालिएको छ ।
आज बिहानदेखि महानगरका कर्मचारीले निकालिएको फलामे रेलिङ गाडीमा हालेर लगेका हुन् । महानगरले अब त्यहाँ रेलिङ्ग नलगाउने बुझिएको छ । यसअघि न्युरोड क्षेत्रबाट सवारी पार्किङ्ग हटाएपछि महानगरले सडकपेटीको छेउमा रेलिङ्ग लगाएको थियो ।
यता, न्युरोडमा फुटपाथ विस्तारको विरोधमा आन्दोलनरत २२ नम्बर वडाका वडाध्यक्ष चिनीकाजी महर्जनले आजपनि सडकबाटै सेवा दिइरहेका छन् । धर्मपथ सडकखण्डबाट नेपाल बैंक लिमिटेड जाने बाटोतर्फ पाल टाँगेर टेबलकुर्सी राखेर बसेका उनले फुटपाथ विस्तारको निर्णय फिर्ता नलिएसम्म आफू त्यहाँबाट नहट्ने अडान लिएका छन् ।
उच्च अदालत पाटनले न्युरोडमा फुटपाथ विस्तार गर्न अन्तरिम आदेश दिएसँगै महानगरले गत बुधबारदेखि काम थालेको हो । स्थानीयले भने फुटपाथ विस्तारको विरोध गरिरहेका छन् । फुटपाथ विस्तार गर्दा सडक साँघुरो हुने र न्युरोडको इतिहास मेटिने स्थानीयको भनाइ छ ।
टिप्पणीहरू