वयस्क पुरुष र महिलाले सहमतिमा गरेको करणीलाई जबरजस्ती मान्न मिल्दैन : उच्च अदालत
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणी मुद्दामा गत जेठ २ गते भएको फैसलाको पूर्ण पाठ उच्च अदालत पाटनबाट सार्वजनिक भएको छ । फैसलामा उमेर पुगेका पुरुष र महिलाबीच सहमतिमा भएको करणीलाई कानुनतः जबरजस्ती नमानिने अदालतको व्याख्या छ ।
पीडित भनिएकी किशोरी ‘गौशाला–२६’ वारदातको समय १८ वर्ष पूरा भएको देखिएको ठहर छ । फैसलाको पूर्णपाठमा गौशाला–२६ ले आर्थिक संरक्षण मागेको तर ‘सकेको सहयोग गर्छु’ भनेर सन्दीप विदेश गएपछि आवेगमा जाहेरी दिएको विश्लेषण गरिएको छ ।
पूर्णपाठमा भनिएको छ, ‘प्रतिवादीसँग पीडितले आर्थिक संरक्षण मागेको, प्रतिवादीले पछि सकेको सहयोग गर्छु भनेको तर कुनै सहयोग नगरी प्रतिवादी केन्यातर्फ गएको घटनाक्रमले रिसको आवेगमा प्रतिवादीउपर यस्तो जघन्य कसुरमा जाहेरी दिएको होला भनी यो तथ्यलाई ठाडै इन्कार गर्न सकिने अवस्था पनि देखिँदैन ।’
उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले जबर्जस्ती करणी मुद्दामा लामिछानेलाई सफाइ दिने फैसला गरेको थियो । फैसलामा पीडित भनिएकी जाहेरकर्ताले कराएको, चिच्चाएको, तेस्रो व्यक्तिसँग आत्मरक्षाको लागि कुनै सहयोगको याचना गरेको नदेखिएको विषयलाई पनि सन्दीपले सफाइ पाउने आधार देखाइएको छ ।
नगरकोटस्थित वोजनी होटलका सुपरभाइजर समिर पुरी, होटल इनका सुरक्षाकर्मी राजन राणा, बाबुकाजी थापा मगर, वेटर सबिन श्रेष्ठ, रिसेप्सनिष्ट अनिष श्रेष्ठको कागज र बकपत्रबाट समेत उक्त होटेलमा जान गौशाला–२६ को सहमति रहेको पुष्टि हुने अदालतको ठहर छ ।
पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन, घटनास्थल प्रकृति मुचुल्का, वारदातस्थलमा भएका बेड, तन्ना, टिस्यु पेपर, पीडितले लगाएको भित्री वस्त्र, बाहिरी कपडाहरूको समेत परीक्षण नभएको फैसलामा जनाइएको छ । यस्ता प्रमाणहरूले अभियोग दाबी समर्थित हुने कुनै आधार नदेखिएको ठहर अदालतको छ ।
मुद्दाको मिसिलमा संलग्न सीसीटीभी फुटेजको ‘स्क्रिप्ट’ समेतका प्रमाणबाट अभियोग दाबी शंकारहित तवरले पुष्टि नभएको, जाहेरकर्ता होस्टल नजिकबाट प्रतिवादीको गाडीमा बसी नगरकोट गएको, राति काठमाडौँ होटल इनमा बसी भोलिपल्ट सँगै होस्टलसम्म पुगेको, गौशाला–२६ आफैँले प्रतिवादीलाई फ्रेण्ड रिक्वेस्ट पठाएको, स्न्याप च्याटमार्फत फोटो पठाउने गरेको सन्दर्भ पनि पूर्णपाठमा उल्लेख छ ।
प्रतिवादी सन्दिप लामिछानेले अनुसन्धानका क्रममा र अदालतमा गरेको इन्कारी बयान, गौशाला २६ ले पठाएको म्यासेज, निजको शारीरिक परीक्षण प्रतिवेदन, शारीरिक अवस्था, घटनास्थल मुचुल्का, घटना विवरण कागज गर्ने गौशालास्थित होटल काठमाडौँ इनका सेक्युरिटी गार्ड राजन राणाले गरेको बकपत्रका साथै मिसिल संलग्न परिस्थितिजन्य प्रमाणहरू समेतबाट अभियोग मागदाबीबमोजिमको कसुर गरेको पुष्टि नभएको निक्र्योल उच्च अदालतको छ ।
यस्तै, जाहेरकर्ता सन्दीपको गाडीमा स्वस्फूर्त बसेको, नगरकोट जाँदासमेत कुनै प्रतिकार नगरेको, प्रतिवादीले ‘चाँडै जाउँ, तिम्रो होस्टेल बन्द हुन्छ’ भन्दा ‘होस्टेल जुनसुकै बखत खुला हुन्छ’ भनी विश्वास दिलाएको तथ्य पुष्टि हुने आधार पनि फैसलामा लिइएको छ । दुईजना बसोबास रहेको होटलको सीसीटीभी फुटेजको स्क्रिप्ट समेतका प्रमाणबाट अभियोग दाबी शंकारहित तवरले पुष्टि नभएको फैसलामा उल्लेख छ ।
टिप्पणीहरू