हुनेवाला सेनापतिको जन्ममितिमा के के कैफियत ?
तीन तारे जर्नेल अशोक सिग्देललाई आगामी सेनापतिमा सिफारिस गर्ने दिन नजिकिँदै जाँदा नागरिकता तथा शैक्षिक प्रमाणपत्रको फरक जन्ममिति प्रकरण बल्झेको बल्झ्यै छ । पूर्व रक्षामन्त्री पूर्णबहादुर खड्काको पालामा एक महिना लगाएर गरिएको जन्ममिति दोहोरो छानबिनमा कैफियत नभेटिएपछि उनलाई दुई तारेबाट बढुवा गरिएको थियो ।
त्यसबेलाको विवाद प्रधानसेनापति प्रभुराम शर्मा र निर्मल थापाले निरुपण गरेका थिए । सोही आधारमा आगामी भदौ २४ गतेदेखि घर जाने शर्माको ठाउँमा उनलाई सिफारिस गर्ने प्रारम्भिक तयारी थालिँदा दोहोरो जन्ममितिका अनेक लफडा छरपष्ट भैरहेका छन् ।
प्राप्त विभिन्न कागजातमध्ये एउटामा सिग्देलले २०४० असारमा एसएलसी पास गरेपछि २०४० साउन २९ गते बल्ल नागरिकता लिएको देखिन्छ । जन्ममिति २०२१ चैत १९ को सट्टा लेखिएको छ । पनि सोही वर्षको भदौमा परीक्षा नियन्त्रण कार्यालय सानोठिमीबाट प्रमाणित गरेर २०२३ माघ १९ गते बनाइएको देखिन्छ । यो नागरिकतामा ठिक्क १६ वर्षको उमेर देखाउन त्यसो गरिएको हुनुपर्छ ।
स्रोत भन्छ, ‘२०४३ सालमा यस्तो कागजात बनाइयो । सबैतिर पहिलेको विवरण काटियो । पहिलेको जन्म मिति २०२१ लाई २०२३ बनाइयो र त्यही संशोधनलाई २०७५ मा प्रमाणित गरी त्रिभुवन विश्वविद्यालयमा पुगेर फेरि सच्याइयो ।’
सरसर्ति हेर्दा भैरहवामा २०२१ चैतमा जन्मेका र २०४० असारमा एसएलसी पास गरेका सिग्देलको प्रमाणपत्र जारी मिति १२ नोभेम्बर २०१८ उल्लेख छ । जन्ममिति त्यो बेला संशोधन गरेर २०२३ माघ १९ बनाइए पनि त्यसलाई प्रमाणित भने २०७३ मा बल्ल गरिएको पाइन्छ ।
उनले अध्ययन गरेको भैरहवा माध्यमिक विद्यालयको क्यारेक्टर सर्टिफिकेट (चारित्रिक प्रमाणपत्र) मा जन्ममिति २०२३ माघ १९ गते लेखिएको देखिन्छ । एसएलसी पास भएको तीन वर्षपछि २०४३ भदौ १६ मा मात्र चारित्रिक प्रमाणपत्र लिइएको छ ।
जबकि परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले जन्ममिति प्रमाणित गरेर दिएको कागजातमा २०४० भदौ २९ उल्लेखित छ । त्यसमा संशोधित जन्ममिति २०२३ माघ १९ लेखिएको र त्यसपछि क्याम्पस भर्ना र त्रिवि रजिष्ट्रेसनमा २०२१ चैत १९ लेखिएको पाइन्छ । कतिसम्म भने त्यसबेला कलेजको रेकर्डमा पनि सोही मिति पाइएको छ ।
परिचय नखुलाउने शर्तमा स्रोत भन्छ, ‘२०४३ साउन ३१ गते त्रिविले दिएको जन्ममिति सच्याइएको पत्रमा २०२३ माघ १९ लेखिएको पत्र सिग्देललाई दिए पनि आधिकारिक ढड्डा ३३ वर्षपछि २०७६ साउन ३० मा मात्रै सच्याइनु गम्भीर कुरो हो ।’ यसबीचमा उनले नागरिकताको प्रथम प्रतिलिपी २०५८ जेठ ८ गते लिएको अवस्था छ ।
त्यसअनुसार नागरिकता २०४० साउन २९ गते लिएको देखिन आउँछ । तर नागरिकता नम्बर,जन्मस्थान र मिति फरक परेको प्रष्ट देखिन्छ । त्यसरी फरक विवरणमध्ये एउटा जाजरकोट जिल्ला प्रशासन कार्यालयबाट लिइएको प्रतिलिपी र अर्को राष्ट्रिय परिचयपत्र बनाउने क्रम प्राप्त निस्सामा उल्लेख भएको छ ।
ती कागजातअनुसार एक ठाउँमा जाजरकोट र अर्कोमा रुपन्देही लेखिएको छ । जारी मिति पनि एउटामा २०४० साउन २९ र अर्कोमा सोही वर्षको असोज ९ छ । लाइसेन्समा जिल्ला कपिलवस्तु भनिएको छ भने विवाह दर्तामा रुपन्देही १२ लेखिएको छ । बसाई सराई रुपन्देही ७ लेखिएको सम्बन्धमा कुनै छानबिन र अनुसन्धान नगरिएकाले शंका बढेको स्रोत बताउँछ ।
‘सानोठिमीबाट त्यो बेला पनि प्रक्रिया नपुर्याई संशोधन गरिएको देखिन्छ । २०४० सालको एसएलसी प्रमाणपत्रको २०७५ मा लिइएको प्रतिलिपिमा जन्ममिति २०२३ उल्लेख छ । २०४० सालमा एसएलसी पास तर जन्म मिति खुल्ने २०४० सालको चारित्रिक प्रमाणपत्र (क्यारेक्टर सर्टिफिकेट) देखाइएको छैन,’ उल्लेख गर्दै सोही स्रोतले भनेको छ,‘एसएलसी पासपछि स्कूलको प्रमाणपत्र र क्यारेक्टर सर्टिफिकेटको वरिजिनल हुनैपर्छ । प्रतिलिपिको आधारमा कसैको पनि प्रमाणपत्रलाई आधिकारिक मान्न भएन । त्यो पनि विश्वविद्यालयको ढड्डामै केरमेट गरिएको अवस्था छ ।’
उनी परीक्षा नियन्त्रण कार्यालय,सानो ठिमीबाट सच्चाइएको पत्रको फरेन्सिक जाँच गरेको अवस्थामा वास्तविकता खुल्ने दाबी गर्छन् । एसएलसी पासलगत्तै नागरिकता लिएको भए असोजदेखि पढ्दा कलेजमा किन २०२१ साल लेखियो ? उनको प्रश्न छ । त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रेसन नम्बरबाट पनि त्यो पुष्टि हुन्छ । २०४० असार २० गते एसएलसी प्रमाणपत्र लिएपछि भदौ २९ गते जन्ममिति सच्याइएको छ । तर असोजमा कलेज भर्ना गर्दा त्रिविको ढड्डामा २०२१ नै लेखिएको छ । विश्वविद्यालयको रजिष्ट्रेसन नम्बरमा पनि सोही वर्ष कायम छ ।
२०४३ सालमा पास भएपछि जागिर खाने बेला जन्ममितिको खेलोफड्को गरिएको हुनसक्ने केहीको बुझाई छ । स्रोतको भनाई छ, ‘एसएलसी रिजल्टको छ महिनाभित्र जन्ममिति सच्याउन पाइन्छ । तर सिडिओ कार्यालयको सिफारिस र सर्जमिन मुचुल्का अनिवार्य हुनैपर्छ । जन्म दर्ताको प्रमाणपत्र पनि हुनुपर्छ । घुँडाको एक्सरे गरेकै हुनुपर्छ । बायोमेट्रिक जाँच जस्तै भएकाले चिकित्सकले गरेको सिफारिस बुझाएपछि मात्रै सानोठिमीमा जन्म मिति सच्याउन मिल्ने कानुनी व्यवस्था छ । तर, उनले ती कुनै पनि प्रक्रिया पुर्याएको कागजात फेला पर्दैन ।’
टिप्पणीहरू