बंगलादेशमा नेपाली विद्यार्थी सुरक्षित

बंगलादेशमा नेपाली विद्यार्थी सुरक्षित
सुन्नुहोस्

परराष्ट्र मन्त्रालयले बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरु सुरक्षित रहेको बताएको छ । 

नेपाली विद्यार्थीहरुको सुरक्षा तथा हित सुनिश्चित गर्न सरकार पूर्णरुपमा सचेत रहेको उल्लेख गर्दै परराष्ट्रले सम्बन्धित विश्वविद्यालय, कलेज तथा ढाकास्थित नेपाली दूतावासको सहयोगमा विद्यार्थीहरुलाई सुरक्षित राखिएको जानकारी दिएको छ । 

आज विज्ञप्ति जारी गर्दै परराष्ट्रले विद्यार्थीहरुको सहजताका लागि थप प्रयास भइरहेको पनि जनाएको छ । 

‘बंगलादेशमा विकसित पछिल्लो घटनाक्रमको सन्दर्भमा त्यहाँ अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरुको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ नेपाल सरकार पूर्ण रुपमा सचेत छ’,विज्ञप्तिमा भनिएको छ,‘हालसम्म सम्बन्धित विश्वविद्यालय, कलेज तथा ढाकास्थित नेपाली राजदूतावाससमेतको सहयोग र समन्वयमा नेपाली विद्यार्थीहरु सुरक्षित रहेको तथा उहाँहरुको थप सहजताका लागि निरन्तर प्रयत्न भइरहेको छ ।’

त्यस्तै, तत्काल कुनै सहयोगको आवश्यक परेमा दूतावासको द्धितीय सचिव योजना बम्जनको फोन नम्बर ८८०१८८०६९१०१३ वा रिया क्षेत्रीको फोन नम्बर ८८०१७४५४०७९५८ मा सम्पर्क गर्न सूचित गराइएको छ । 

बंगलादेशमा विद्यार्थीहरुले सरकारी जागिरको आरक्षणमा गरिएको विशेष व्यवस्थाविरुद्ध आन्दोलन गरिरहेका छन् । सन् १९७१ मा पाकिस्तानबाट छुट्टिएर बंगलादेश स्वतन्त्र हुँदा लडेका बंगलादेशी सेनाका सन्तानलाई सरकारी जागिरमा विशेष आरक्षण दिने सरकारको नीतिविरुद्ध विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् ।

टिप्पणीहरू