बेइजिङ पुगेका महिला माननीयहरु सघन सँवादमा

बेइजिङ पुगेका महिला माननीयहरु सघन सँवादमा
सुन्नुहोस्

चीन गएका झण्डै एक दर्जन महिला माननीयहरु सेमिनारमा सहभागितासँगै उच्च तहको भेटघाटमा व्यस्त देखिएका छन् । दक्षिण एशियाली महिला राजनीतिक नेतृत्वसम्बन्धी सेमिनारमा भाग लिएका उनीहरुले चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका महानिर्देशक लुओ चाओहुईसँग भेट गरेको बुझिएको छ । लुओ केही समयअगाडि लगानी सम्मेलनमा भाग लिन नेपाल आएका थिए ।

नेपाली महिला माननीयको नौ सदस्यीय टोलीले माल्दिभ्सकी उच्चशिक्षा मन्त्री मारियाको नेतृत्वमा लुओसङ्ग संयुक्त भेट गरेको छ । भेटमा महानिर्देशक लुओले दक्षिण एसियामा लैंगिक समानता र महिला तथा बालबालिकाको विकासमा चीनले सहयोग गर्नसक्ने जनाएको खबर छ । 

भेटमा श्रीलंकन स्वास्थ्य राज्यमन्त्री सीथा र नेपाली प्रतिनिधिमण्डलको तर्फबाट सांसद सुशिला श्रेष्ठले धारणा राखेको एजेन्सीले जनाएको छ । सेमिनारमा नेपाललगायत श्रीलंका, माल्दिभ्स,पाकिस्तानका महिला मन्त्री तथा सांसदहरुले भाग लिइरहेका छन् ।

यस्तै महिला माननीयहरु बेइजिङमा आयोजित अर्को एउटा उच्चस्तरीय बैठकको उद्घाटन समारोहमा पनि सहभागी भएका छन् । ग्लोबल शेयर्ड डेभलपमेन्ट एक्सन फोरमको दोस्रो उच्चस्तरीय बैठकलाई चिनियाँ विदेशमन्त्री वाङ यीले सम्बोधन गर्नुभएको थियो ।

गत सोमबार राति पौने १२ बजे चाइना साउदर्नको उडान नम्बर सिजेड ३०६८ मा १२ जनाको टोली काठमाडौंबाट ग्वाङ्चौ हुँदै बेइजिङ गएको थियो । टोलीमा सुशीला,सूर्यकुमारी श्रेष्ठ,अमृता अग्रहरि,कल्पना मियाँ कुसारी,दुर्गा राई, ललिताकुमारी चौधरी,हर्कमाया विश्वकर्मा,बिनिताकुमारी सिंह,ईश्वरी घर्ति छन् । त्यसैगरी सहायक निर्देशक देविका घर्ति मगर,शाखा अधिकृत प्रतिमा ढकाल र विज्ञ राजकुमारी चौधरी पनि टोलीमा छन् ।

टिप्पणीहरू