विनोद चौधरीका निम्ति चाउचाउ र किताब बराबर

विनोद चौधरीका निम्ति चाउचाउ र किताब बराबर

व्यापारी विनोद चौधरीले संविधानमाथि नै प्रहार गर्दै आएका छन् । उनै चौधरीको व्यवसायमा अंकुश लगाउने वा फुक्काफाल छाड्ने भन्ने विषय नयाँ शिक्षामन्त्री सुमना श्रेष्ठ र उनको दल राष्ट्रिय स्वतन्त्र पार्टीको काँधमा आइलागेको छ ।

नेपालको संविधान २०७२, धारा ३१ मा सम्पूर्ण नेपालीलाई आधारभूत तहको शिक्षा निःशुल्क र अनिवार्य गरिएको छ । गैरकानुनी ढंगले विदेशी मुद्रा विदेश पुर्‍याएका, उता कमाएको डलर उतै खर्चेर नेपालमा कौडी नल्याएका उनै विधायकले भारतको राजधानी नयाँदिल्लीस्थित एउटा विद्यालयको फ्रेन्चाइको रुपमा वीरगञ्जमा दिल्ली पब्लिक स्कूल डेढ दशकदेखि सञ्चालन गर्दै आएका छन् ।

महाराजगञ्जस्थित बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा चार दशकअघि आफ्नो च्याम्पियन फुटवेयर कम्पनीको नाममा ल्याएका उनीसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दुई साताअघि बयान लिएको थियो । फुटवेयर कम्पनी खारेजीमा गएपछि उक्त जग्गा चौधरी ग्रुपकै चाँदबाग रेसिडेन्सी कम्पनीको नाममा रहेको देखिन्छ । तर, सो स्थानमा चाँदबाग स्कूल सञ्चालित छ । स्कूल सिजी एजुकेसन फाउण्डेशनको मातहत राखिएको छ । फाउण्डेसनका प्रबन्ध निर्देशक भने विनोदका जेठा छोरा निर्वाण चौधरी हुन् । 

उनै चौधरीले वीरगञ्जमा खोलेको दिल्ली पब्लिक स्कूल पनि सोही फाउण्डेशनमार्फत दुई दशकदेखि सञ्चालन हुँदै आएको पाइएको छ । माननीयले चलाएको विद्यालयको नाम छिमेकी मुलुकको राजधानीको नामसँग जोडिएको छ भने अर्कोतिर चर्को शुल्क तोकिएको छ । राज्यले आधारभूत तहको विद्यालय शिक्षा निःशुल्क घोषणा गर्नु तर कानुन तर्जुमा गर्ने विधायक भने त्यस विपरितको व्यवसायमा संलग्न हुनु लाजमर्दो विषय हो । निकै महँगो भनिएको उक्त स्कूलको शुल्कबारे एक जना अभिभावक गुञ्जन साहले विद्यालयको सामाजिक सञ्जाल पेजमा लेखेका छन्, ‘साह्रै महँगो स्कूल । गरिब परिवारले यहाँ पढाउन सक्दैनन् ।’ नयाँदिल्लीस्थित दिल्ली पब्लिक स्कूलले नर्सरीदेखि केजीसम्म २८ हजार चार सय भारु, १ र २ कक्षाको लागि २९ हजार आठ सय भारु र ३ देखि ५ कक्षासम्म ३० हजार तीन सय वार्षिक शुल्क तोकेको छ । 

सोही तरिकाले ६ देखि १० जोड २ कक्षासम्मको शुल्क ३५ हजारभन्दा माथि देखिन्छ । सबै कक्षामा मासिक ५ हजार चार सय भारु खाना शुल्क लिने गरिएको छ । नेपालमा पनि उक्त स्कूलको फि सोहीबमोजिम रहेको बताइन्छ । यता दिल्ली पब्लिक स्कूल विराटनगर र धरानमा पनि छ । विराटनगरको स्वामित्व विशाल ग्रुपले लिएको छ । धरानस्थित उक्त स्कूल विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित छ ।

विनोद चौधरीको सिजी एजुकेसनअन्तर्गत राजधानीमा चाँदबाग, निनोज, क्याम्पियन, क्याम्पियन काठमाडौं, क्याम्पियन एकेडेमी, क्याम्पियन कलेज छन् । उपत्यकाबाहिर भने वीरगञ्जको दिल्ली पब्लिक स्कूल हो ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू