घरेलु मैदानमा अर्जुनको शतक खेर

घरेलु मैदानमा अर्जुनको शतक खेर

युवा ब्याटर अर्जुन कुमालको शतकका बाबजुद आयरल्याण्ड ‘ए’ सँगको तेस्रो एक दिवसीय क्रिकेटमा नेपाल 'ए' ले फराकिलो हार व्यहोरेको छ । आज भएको तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा नेपाल 'ए' ६९ रनले पराजित भएको हो । 

योसँगै नेपाल ‘ए’ ले घरेलु मैदानमा तीन खेलको श्रृंखला ३–० ले गुमायो । अर्जुनले १०२ रनको शतकीय इनिङ खेले पनि नेपालको हार टार्न सकेनन् । आयरल्याण्ड ‘ए’ ले दिएको २८५ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ ३९.४ ओभरमा २१५ रनमै अलआउट भयो । 

ओपनरद्वय कुमाल र अर्जुन साउदबाहेक नेपालका कुनैपनि ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन् । साउदले ३६ रनको योगदान दिए । 

आयरल्याण्ड ‘ए’ का बेन ह्वाइटले ३५औं ओभरमा अर्जुनलाई स्टेफन डोहनीद्वारा क्याच गराए । अर्जुनले १२९ बलमा आठ चौका र दुई छक्का प्रहार गरे । ३४.३ ओभरमा नेपाल ‘ए’ २०४/५ को अवस्थामा थियो । तर, अर्जुनको विकेटसँगै नेपालको इनिङ धराशयी भयो । १८१ रनमा ४ विकेट गुमाएको अवस्थामा थप ३४ रन जोड्दा ६ विकेट पतनसँगै नेपालले पाहुना टोलीलाई सहजै नतिजा सुम्पियो । 

 रूपेश सिंहले १५ रनबाहेक सबै ब्याटर सस्तैमा आउट भए । देव खनालले ११ रन र नरेन भट्टले १५ रन बनाए ।

आयरल्याण्ड ‘ए’ का स्पिनरसामु नेपाली ब्याटर टिक्नै सकेनन् । स्पिनरद्वय ह्वाइटले पाँच र गाभिन होइले चार विकेट लिँदै नेपालको इनिङ धरासायी बनाए । म्याथ्युज फोस्टरको नाममा एक विकेट रह्यो ।

टस जितेर पहिले ब्याटिङ गर्ने आयरल्याण्डको निर्णय सही सावित भयो । आयरल्याण्ड ‘ए’ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८४ रनको राम्रो योगफल तयार पारेको थियो । ओपनर डोहेनीले १०७ रनको शतकीय इनिङ खेले । रिजन ढकालले ४७ औं ओभरमा डोहेनीलाई आउट गरे ।

पिटर मोरले ४४ रन जोड्दा म्याथ्युज हाम्फ्रेजले २३, मोर्गान टोपिङले २१, फियोन हान्डले २० रन र बेट ह्वाइट १९ रनमा नटआउट रहँदा घरेलु टोलीलाई चुनौतीपूर्ण लक्ष्य प्रश्तुत गर्न सफल भयो । नेपाल ‘ए’ को बलिङमा रिजन ढकाल र रञ्जित कुमारले समान तीन विकेट लिँदा विकास आग्री र साहब आलमको नाममा समान एक विकेट रह्यो । 

नेपाल ‘ए’ ले आयरल्याण्ड ‘ए’ सँगको ट्वान्टी–२० श्रृंखला पनि २–१ ले गुमाएको थियो ।

टिप्पणीहरू