ठूला माछाहरू

ठूला माछाहरू

नेपालको माछा बजारमा ठूलो साइजको माछा नआएको धेरै भइसकेछ । जति माछा आउँछन् उही स–साना साइजको मात्रै, जसको कुनै कामै छैन । यस्तो अवस्थामा अहिले भर्खरै एउटा ठूलो माछा आएको छ ।

श्री रवि लामिछाने जब गृहमन्त्री बन्नुभयो, तब ठूलो माछा पक्राउ परिहाल्यो । धेरै समयपछि एउटा ठूलो माछा समाउन सकेकोमा पूरै माछा बजार खुशी भएको छ । कमरेड कृष्णबहादुर महरा यो देशकै ठूलो माछा हो भन्ने कुरा सबैलाई थाहा छ ।

तर, थाहा भएर के गर्नु, समाउन जान्ने माझी पनि त हुनपर्‍यो नि ! ठूलो माछा समाउनु भनेको ठूलै कुरा हो । कसैले समाउन सकेको थिएन । श्री रवि लामिछाने आएपछि च्याप्पै समाइदियो । यो सानो कुरा होइन । ठूलो माछा समाउन आँट पनि ठूलै चाहिन्छ ।

यस्तो काम रवि लामिछाने जस्तो मान्छेले मात्रै गर्न सक्छ । यो किनभने रवि लामिछाने आफैँ पनि यो देशको एउटा ‘ठूलो माछा’ हुनुहुन्छ । महरा त उहाँभन्दा सानो माछा हो । महराभन्दा ठूलो माछा त लामिछाने आफैँ हुनुहुन्छ । उहाँको दुइटा पासपोर्ट काण्ड अझै टुंगिएको छैन । चार श्रीमती काण्ड यथावतै छ । सहकारी काण्ड भर्खर खुलेको छ ।

के त्यो सानो कुरा हो ? यसबाटै थाहा हुन्छ, उहाँ आफू पनि यो देशको ठूलै माछा हुनुहुन्छ । पक्रन कसैले सकेको छैन, त्यो अर्कै कुरा भयो । पक्रन सकेको छैन भन्दैमा माछा भ्यागुतो त हुँदैन । माछा ‘माछा’ नै हुन्छ । हैन र ?
 

टिप्पणीहरू