गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार, अध्यक्ष बेखबर

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार, अध्यक्ष बेखबर
सुन्नुहोस्

धादिङको सिद्धलेक गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत डा. चक्र वलीमाथि दुर्व्यवहार भएको छ । नेपाली काँग्रेस सिद्धलेक गाउँ पार्टी सभापति रामशरण गिरीले वलीमाथि उनकै कार्यकक्षमा अभद्र व्यवहार गरिएको बताइएको छ । फाइलमा तोक लगाउने विषयमा विवाद भएपछि गिरीले दुर्व्यवहार गरेको प्रत्यक्षदर्शीहरुको भनाई छ । 

के हो घटना ? 

गत मंगलबार गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले पालिकास्तरको सर्वदलीय बैठक बोलाएका थिए । दिउँसो शुरु भएको बैठक साँझ ७ बजेसम्म चलेको थियो । बैठकपछि गिरीले वलीको कार्यकक्षमा पुगेर फाइलमा तुरुन्त तोक लगाउन निर्देशन दिए । तर, उनले नमानेपछि ठूलो विवाद भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । 

उक्त घटनापछि नेकपा माओवादी केन्द्रको सिद्धलेक गाउँपालिका कमिटीका अध्यक्ष पुष्प थपलियाले विज्ञप्ति जारी गरेका छन् । उनले प्रमुख प्रशासकीय अधिकृत वलीमाथि भएको दुर्व्यवहारप्रति विरोध जनाएका छन् । प्रत्यक्षदर्शीसमेत रहेका उनले फाइलमा तोक लगाउन नमान्दा भनाभनको अवस्था सिर्जना भएको बताए । 

गिरीले ‘तेरो टाउको फुटाइदिन्छु, तँ कसरी डाक्टर भइस्’,‘तँ झोला बोकेर गइहाल यहाँबाट’, लगायत अपशब्द बोलेर गालीगलौज गरेको थपलियाको भनाइ छ । 

‘२०८०–१२–६ गते सिद्धलेक गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत डा. चक्र वलीमाथि भएको अभद्र व्यवहारको सम्बन्धमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । घटनाको सन्दर्भमा पालिका अध्यक्षज्यूले बोलाउनुभएको सर्वदलीय बैठक सकेर साँझको करिब ७ः३० बजे सबै कार्यपालिका सदस्यहरु र पार्टी प्रमुखहरु क्रमशः पालिकाबाट बाहिरिने क्रममा थिए । त्यहीबीच म एक जना सेवाग्राही दिउँसोदेखि कुरिरहेको र उहाँसँग समस्या राखेर बाहिर निस्केको मात्र थिएँ,’ अगाडि लेखिएको छ, ‘एकैछिनमा नेपाली काँग्रेस सिद्धलेक गाउँपालिका सभापति रामशरण गिरी नि.प्र.प.अको कार्यकक्षमा एउटा फाइल लिएर पस्नुभयो र उक्त फाइलमा सही गर्न दबाब दिनुभयो । त्यसपछि डा. चक्र वली सरले म यो फाइल अध्ययन गरेर मात्र निर्णय गर्छु भनि जवाफ दिनुभयो । त्यसपछि एक्कासी रामशरण गिरी तेरो टाउको फुटाइदिन्छु त कसरी डाक्टर भइस् भन्नेजस्ता शब्दहरु व्यक्त गर्दै हाकिममाथि दुर्व्यवहार गर्न थाल्नुभयो’, विज्ञप्तिमा उल्लेख छ । 

थपलियाले कर्मचारीहरुको सुरक्षाको ग्यारेन्टी गर्न, घटना नदोहोरिने सुनिश्चितता गर्न र घटनाको सिसीटिभी फुटेज सार्वजनिक गर्न माग गरेका छन् । यता, गाउँपालिका अध्यक्ष  खतिवडाले घटनाबारे छानबिन गर्ने बताए । आफूलाई सो विषयमा राम्रो जानकारी नभएको उल्लेख गर्दै उनले भने, ‘म हिजो पनि बाहिर थिएँ । घटनाबारे अलिअलि थाहा पाएँ । म थप बुझ्दै छु, छानबिन हुन्छ ।’

अधिकृत वलीले यसबारे कुनै प्रतिक्रिया दिन मानेनन् । आफूले न्याय नपाउने उल्लेख गर्दै घटनाबारे कुरा गर्नुभन्दा नगर्न उचित रहेको बताए । सिद्धलेकका अध्यक्ष खतिवडा नेपाली काँग्रेसका हुन् । उनी निर्वाचित भएपछिको दुई वर्षमा गाउँपालिकामा सात जना अधिकृत फेरिइसकेका छन् ।

टिप्पणीहरू