सिक्लेस गाउँको सुन्दरता (फोटो फिचर)

सिक्लेस गाउँको सुन्दरता (फोटो फिचर)

कास्कीको सुन्दर गाउँ हो, सिक्लेस । सदरमुकाम पोखरादेखि करिब ३८ किलोमिटरको दूरीमा यो गाउँ मादी गाउँपालिका वडा नम्बर १ मा पर्दछ । करिब चार सय घरधुरी रहेको यस गाउँलाई गुरुङ्ग भाषामा ‘च्यीली’ भनिन्छ । 

सिक्लेसको कला, संस्कृति र प्राकृतिक सौन्दर्यताका कारण पछिल्लो समय यो गाउँ स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षणको गन्तव्य बन्दै गएको छ । हरियो वनजङ्गलले घेरिएको यो गाउँ लमजुङ र अन्नपूर्ण हिमालको काखमा अवस्थित छ । बिहान सबेरै उठेर हेर्दा हिमाल छ्याङ्गै खुलेको देखिन्छ । 

सिक्लेसबाट डेढ घण्टा उकालो हिँडेपछि दुई हजार ३५० मीटरको उचाइमा रहेको राइजिङ डाँडामा पुगिन्छ । त्यहाँबाट लमजुङ र अन्नपूर्ण हिमालको अवलोकन गर्न सकिन्छ । हर्पथर, लामाथरगैरीथर, धप्राङ्थर, सभाथर (कोइथर) सहित पाँच वटा टोल रहेको यहाँका स्थानीयको मुख्य पेशा कृषि र पर्यटन हो । हाल सिक्लेसमा २९ वटा होमस्टे र ४६ वटा होटल सञ्चालनमा छन् । 

पर्यटन पेशाबाट यहाँका स्थानीयले राम्रो आम्दानी गर्दै आएका छन् । सिक्लेसको सौन्दर्यताले जोकोहीलाई लोभ्याउने गरेको छ । तमु (गुरुङ्ग) हरुको अन्तिम पैतृक राज्य (क्होलासोथर) बाट सिक्लेसको विस्तार भएको हो, त्यसैले यसलाई च्यीली क्हयाल्सा अर्थात सिक्लेस राज्य पनि भनिन्छ । 

यो गाउँको आफ्नै भाषा, संस्कार, संस्कृति र परम्परा छ । यसलाई गुरुङ्गहरुको इतिहास अध्ययनको पाठशाला पनि भन्ने गरिएको छ । नेपालको अक्षांश र देशान्तर दुवै रेखाबाट काटिँदा कायम भएको मध्यबिन्दू कोरी र सबैभन्दा कम उचाईको हिमताल ‘क्हफचे’ यही वडामा छ ।

टिप्पणीहरू