राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जालझेल र तिकडम

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जालझेल र तिकडम

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा धाँधली भएको पाइएको छ । उक्त प्रतियोगिता स्वच्छ तरिकाले सम्पन्न नगरिएको जनाएपछि विवाद चर्किएको बताइन्छ । प्रतियोगिता सञ्चालकदेखि प्रतियोगीसम्म कानुनविपरीत देखिएको खुलेको छ । बाग्लुङका उसु प्रशिक्षक दिलबहादुर किसनमाथि झेल गरेर खेलाडीलाई प्रतियोगितामा सामेल गराएको आरोप लागेको छ । 

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १८ वर्ष ननाघेका र कक्षा १२ सम्म पढ्दै गरेकाले मात्रै भाग लिने पाउने व्यवस्था छ । ‘राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका, २०७०’ मा चालु शैक्षिक सत्रमा कक्षा १२ सम्म नियमित रुपमा अध्ययनरत १८ वर्षभन्दा मूनिका बीच मात्र प्रतियोगिता गरिने स्पष्ट उल्लेख छ । 

निर्देशिकाको दफा २ को उपदफा (झ) मा भनिएको छ,‘राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भन्नाले चालु शैक्षिक सत्रमा कक्षा १२ सम्म नियमित रुपमा अध्ययनरत १८ वर्षभन्दा मूनिका छात्र–छात्राहरुबीच आ–आफ्नो समूहमा हुने प्रतियोगितालाई सम्झनुपर्दछ ।’

तर, उक्त नियमको धज्जी उडाउँदै स्नातकमा अध्ययनरत विद्यार्थीलाई उसु प्रतियोगितामा सहभागी गराइएको हो । रोचक प्रसङ्ग त के छ भने, बाग्लुङ नगरस्तरमा अवैध भनेर नखेलाइएका खेलाडीलाई प्रदेशस्तरमा समेटियो । आठ कक्षामा अध्ययनरत विद्यार्थीसँग स्नातकमा अध्ययनरतलाई भिडाएपछि बाग्लुङका प्रशिक्षकमाथि प्रश्न उठेको हो । 

उनीमाथि यसअघि आफ्नै छोरालाई जिताउन अन्य खेलाडीको नम्बर काटेको आरोपसमेत लागेको थियो । गण्डकी प्रदेशका एक मात्रै स्थायी प्रशिक्षक उनले सरकारबाट तलब पाएपनि खेलाडीबाटसमेत शुल्क असुल्ने गरेको धेरैले बताएका छन् । 

बाग्लुङको धौलागिरी बहुमुखी क्याम्पसमा बिएस्सी दोस्रो वर्षमा अध्ययनरत झरना थापा र १२ कक्षा उत्तीर्ण लेलिन रानामगरले प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । ‘क्याटागोरी’ भन्दा फरकलाई खेलमा सहभागी गराइएपछि गण्डकी प्रदेश खेलकुद परिषदमा उजुरी परेको छ । 

म्याग्दीको उसु प्रशिक्षक सोनिया बरुवालले गत सोमबार परिषदमा उजुरी दिएकी हुन् । उनले गत शुक्रबार प्रतियोगितास्थलमै उजुरी दिन खोजेकी थिइन् । तर, किसनले उजुरी दिन पाँच हजार रुपैयाँ मागेको उनको भनाइ छ । उनले ४८ केजी तौल समूहमा सहभागी थापा र रानामगरको उमेर र शैक्षिक योग्यतामाथि छानबिन गर्न माग गरेकी छन् ।

 

उजुरी लेखिएको छ, ‘उसु विधाको ४८ केजी तौल समूहमा बाग्लुङ जिल्लाबाट सहभागी भएकी छात्रा झरना थापा धौलागिरी बहुमुखी क्याम्पस बिएस्सी दोस्रो वर्षमा अध्ययनरत रहेको सूचना प्राप्त भएकोले उचित छानबिन गरी सत्यतथ्य जानकारीसहित खेल नतिजा संशोधनका लागि साथै उसु खेलकै अन्य विधामा खेलमा सहभागी छात्र लेलिन रानामगर १२ कक्षा उत्तीर्ण भइसकेको कारण नगरपालिकास्तरीय खेल्न नपाएको तर प्रदेशस्तरीय खेलमा सहभागी गराइएको र प्रथम स्थान हासिल गरेका थिए । त्यसैले नियमविपरीत भएको सबै विधाको खेल र खेलाडीको परिचयको छानबिन होस् भनि सविनय अनुरोध गर्दछु ।’

तर, हालसम्म पनि कुनै छानबिनको प्रक्रिया अघि नबढेको बरुवालले बताइन् । उनका अनुसार प्रदेशस्तरीय प्रतियोगिताको कुनै पनि खेल निष्पक्ष थिएन । प्रतियोगितामा बाग्लुङकै प्रशिक्षक, बाग्लुङकै निर्णयकर्ता राखिएको थियो । खेल स्वच्छ नभएको भनि विरोध गर्दा उल्टै गाली खानुपरेको उनको गुनासो छ । 

‘प्रतियोगितामा भएको कुनैपनि खेल फेयर थिएन । प्रशिक्षक, जज सबै बाग्लुङकै हुनुहुन्थ्यो । व्यवस्थापन पनि किसनले नै मिलाउनुभएको थियो  । प्रशिक्षण दिने उहाँ, खेल्ने उहाँले प्रशिक्षण दिएका खेलाडी, यो त सरासर गैरकानुनी हो । खेलाडी पनि नियमविपरीत थिए । मैले यसको प्रोटेस्ट गरे । तर, व्यवस्थापकले छोडिदिनु भन्नुभयो । मैले यो हुँदैन भनेपछि उल्टै मलाई नै हप्कीदप्की गरियो’, उनले घटनाक्रमबारे सुनाइन् । 

म्याग्दीका स्वयंसेवक प्रशिक्षक विकल कँडेलले खेलमा झोलझाल भएको बताए । निर्देशिकाविपरीत खेलाडी सहभागी गराइएकाले उक्त खेल मान्य नहुने उनको भनाइ छ । यता, प्रशिक्षक किसनले विद्यालयले पठाएको विवरणअनुसार खेलाडीहरुलाई प्रतियोगितामा सामेल गराइएको भनि गैरजिम्मेवारपूर्ण जवाफ दिए । 

 

खेलाडीहरु कतिमा पढ्छन् भन्ने विषयमा आफू अनभिज्ञ रहेको उनको दाबी छ । भने, ‘विद्यालयले फर्म भरेर पठाएको थियो । त्यसैअनुरुप हामीले खेलाडीलाई सहभागी गराएका हौं । विद्यालयले प्रमाणित गरेर पठाएपछि हामीले के गर्ने ?’

किसनले थपे, ‘खेल हुनुभन्दा अगाडि उजुरी परेन । पछि उहाँहरुले प्रदेशको खेलकुद परिषदमा उजुरी दिनुभएको रहेछ । हामीसँग स्पष्टीकरण माग गर्नुभएको थियो । बाग्लुङ खेलकुद विकास समितिलाई लिखित जवाफ दिइसकेका छौं । उहाँहरुले प्रदेश पठाउनुहुन्छ होला । त्यहाँबाट जे निर्णय हुन्छ, हामी त्यही कार्यान्वयन गर्छौं ।’

यता, विद्यार्थी थापाले आफू बिएस्सी दोस्रो वर्षमा अध्ययनरत रहेको स्वीकारेकी छन् । १८ वर्ष ननाघेकाले प्रतियोगितामा सहभागी भएको उनको जिकिर छ । जनआस्थासँग कुराकानीको क्रममा उनले भनिन्, ‘हो, म धौलागिरी बहुमुखी क्याम्पसमा बिएस्सी दोस्रो वर्षमा पढ्छु । तर, म १८ वर्ष नाघेकी छैन । त्यसैले खेलमा सहभागी भएकी हुँ ।’

निर्देशिकामा भएको व्यवस्थाबारे जानकारी गराउँदा उनले त्यसबारे थाहा नभएको जनाइन् । परिषद्का सदस्य सचिव श्रीधर शर्माले उजुरीमाथि छानबिन भइरहेको बताए । निर्देशिकाविपरीत उनीहरुलाई खेलाइएको पुष्टि भएमा कानुनबमोजिम कारबाही गरिने उनले प्रतिबद्धता जनाए । 

त्यसो भएको अवस्थामा खेलाडीले प्राप्त गरेको पदक खोसिनेछ । साथै, सम्बन्धित विद्यालयका प्रधानाध्यापक र पालिकाका पदाधिकारीलाई झुठ्ठा कागजात पेश गरेको कसूरमा कारबाही गरिने उनी बताउँछन् । 

‘उहाँहरुलाई खेलमा सहभागी गराउन विद्यालय व्यवस्थापनले छनौट गरेर पालिकामा पठाएपछि हामीकहाँ आएको हो । वास्तवमा नै उहाँहरुले नियम मिच्नुभएको रहेछ भने कारबाही हुन्छ । अहिले छानबिनको क्रममा छ । प्रधानाध्यापक त दोषी भई नै हाल्नुहुन्छ, पालिकाका पनि को–को दोषी देखिन्छन्, हामी कारबाही गर्छौं । युवा शाखामा एक जना निजामती कर्मचारी हुनुहुन्छ । उहाँले हेर्नुपर्ने हो । खेलाडीको त एउटा पदक जाने हो तर अन्यलाई त कारबाही नै हुन्छ । झुठ्ठा कागजात पेश गरेर यसरी खेलाउन गैरकानुनी हो’, उनले भने । 

निर्देशिकाको पाँचौं संशोधनको दफा १८ मा खेलकुद प्रतियोगितामा विद्यार्थी सहभागी नहुने अवस्थाबारे उल्लेख छ । उपदफा (ख) मा छर्लङ्ग हुनेगरी लेखिएको छ,‘प्रतियोगिता मापदण्डविपरीतका खेलाडीले पदक प्राप्त गरेको खण्डमा त्यस्तो पदक खोस्ने र निकटतम् प्रतिस्पर्धी खेलाडीलाई सो पदक प्रदान गरिनेछ । मापदण्डबाहिरका खेलाडी सहभागी गराउने निकायलाई आयोजक समितिले अनुशासनको कारबाहीस्वरुप बाँकी सबै इभेन्टमा सहभागी गराउने छैन् । टिम गेमको हकमा पनि सोही नियम लागु हुनेछ ।’

त्यस्तै, झुठ्ठा विवरण बनाएमा सार्वजनिक न्यायविरुद्धको कसूर आकर्षित हुन्छ । कुनै प्रमाण वा प्रमाणपत्र झुठ्ठा हुन् भन्ने जानीजानी त्यस्तो प्रमाणपत्रको प्रयोग गरेमा सो कार्यलाई कसूर मानिनेछ । परिषद्ले नै उनीहरुलाई जोगाउन खोजेको स्रोतको बताउँछ । स्रोतका अनुसार शुरुमा सदस्य सचिव शर्माले छानबिनमा आलटाल गरेका थिए । चौतर्फी दबाब आएपछि मात्रै उनले छानबिनको प्रक्रिया अघि बढाएका हुन् । 

स्रोतले भन्यो, ‘हामीले उहाँलाई जानकारी गरायौं । त्यसपछि खेलस्थलमा उजुरी गर्यौं । तर, वैध भनेर छाडियो । उहाँ आफैं अधिवक्ता पनि हुनुहुन्छ । शुरुमा उहाँले आलटाल गर्नुभएको थियो, चौतर्फी दबाब भएपछि मात्र छानबिन अघि बढाइएको हो ।’

प्रतियोगिता फागुन ११ र १२ गते नवलपरासी बर्दघाट सुस्ता पूर्वको कावासोतीमा भएको थियो । उसु प्रतियोगितामा बाग्लुङ पहिलो भएको छ । दोस्रोमा म्याग्दी रहेको छ । आउँदो वैशाख ४ देखि ६ गतेसम्म राजधानीमा राष्ट्रियस्तरीय प्रतियोगिता हुँदैछ । उसु विधातर्फ एउटा प्रदेशबाट १२ जनाले सहभागिता जनाउने छन् । बाग्लुङबाट विजेता सात, म्याग्दीबाट तीन, कास्कीबाट एक र तनहुँबाट एक जनाले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

टिप्पणीहरू