कसले दिएछ विनोदलाई धोका ?

कसले दिएछ विनोदलाई धोका ?
सुन्नुहोस्

‘हम ने खाया सारा दिल्ली, हमको खाया घरकी बिल्ली’ भनेजस्तो अहिले डलर अर्बपति भनिने विनोद चौधरी आफैं ‘बिल्ली’ बाट पीडित भएको सुस्केरा हाल्दै हिँडेका छन् । 

चौधरीले ‘दिल्ली नै खाएजसरी’ मुलुकका कर र अनेकन कानुन छल्दै आर्थिक साम्राज्य त रचे, तर गत वर्षको चुनावअघि एउटा ‘बिल्ली’ को फन्दामा परेपछि करिब ३५ करोड डुबेको कुरा अहिले कान्छा भाइ अरुणलाई सरकारले पक्राउ गरी कीर्ते मुद्दा चलाउन थालेपछि खुलासा भएको छ ।

तत्कालीन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सीधै भनेर त होइन, पत्नी आरजु र व्यापारी उमेश श्रेष्ठको योजनामा चौधरीबाट त्यति परिमाणको जग्गा नामसारी भयो । चौधरीहरूले बूढानीलकण्ठ हाइटमा हाउजिङका लागि ठीक पारेर राखेको उक्त जमिन क्षेत्रफलका हिसाबले २०–२२ रोपनी छ ।

उमेशको अग्रसरतामा जग्गा पास गर्नुअघि नै नवलपरासी (सुस्ता पश्चिम) बाट उनलाई प्रत्यक्षतर्फ चुनाव लड्न टिकट दिइने शर्त थियो । पैसाचाहिँ ‘अलिक पछि’ भनिएको थियो । चुनावको मुखमा ‘पैसा दिइहाल’ भनेर अत्तो थापे मुखैमा आएको टिकट गुम्ला भन्ने पिर । तर, चुनावपछि पनि पैसाको अत्तोपत्तो भएन ।

त्यसपछि माहिला छोरा राहुलले कहिले फोन गरेर, कहिले भेटेर र धेरैचोटि एसएमएस–ह्वाट्सएपबाट ताकेता गरिरहे । देउवा परिवारमा गत वर्षदेखि नै एकमात्र सन्तान जयवीरको व्यवस्थापनको चटारो शुरु भएको हो । वैवाहिक जीवनपछि अलग्गै बस्ने उनको योजनालाई सार्थक बनाउन आमाले आफ्नो घर आसपासमै जग्गा खोजेकी थिइन् र उमेशले मिलाइदिए । उक्त जमिन चौधरीबाट उमेश हुँदै देउवा परिवारकै कसैको नाममा गएको बताइन्छ ।

विनोद आफैंले चुनावअघि जग्गाको पैसाबारे कुरा उठाउँदा ‘पहिला चुनाव सिध्याऔं, अनि कुरा गरौंला’ भनियो । चुनावपछि पार्टीको केन्द्रीय सदस्य, कोषाध्यक्षदेखि मौका मिलाएर एक कार्यकाल परराष्ट्र मन्त्री बनाउनेसम्मका कुरा चले । तर, न पैसा आयो, न बचन पूरा भयो ! ‘उल्टै अहिले कान्छा भाइ अरुणलाई समातेर प्रतिशोध साँधियो’ भन्दै चौधरीखलक विभिन्न शक्तिकेन्द्रमा बिलौना पोखिरहेको छ । यसरी रुवाबासी चलेपछि हो, बाँसबारी छाला जुत्ता कारखानाको जग्गा कीर्ते मुद्दामा समातिएका अरुणको बयान छिटोछिटो गराई धरौटीमा छुटाउने खेलो चलेको । 

उता, उमेशसँग चौधरीको सम्बन्ध अहिले राम्रो छैन । उमेशले चितवनबाट चुनाव हारे, विनोदले नवलपरासी (सुस्ता पश्चिम) बाट जिते । चितवनको जहाँबाट उमेशले चुनाव हारे, त्यहाँ चौधरीका विभिन्न कारोबार, उनीहरूले प्रभाव पार्नसक्ने थृुप्रै मतदाता छन् ।

तिनीबाट सहयोग होला भन्ठानेका उमेशले तिनैको असहयोगका कारण हार्नुपरेको बुझेका छन् र ‘चौधरी ठीक मान्छे होइन’ भन्दै छन् । त्यसैले चौधरी पार्टीको कोषाध्यक्ष वा परराष्ट्रमन्त्री भइहाल्छन् कि भन्दै चनाखो भई बसेका छन् । कोषाध्यक्ष पद त आफैँले दाबी गरिनै सके ।

टिप्पणीहरू