पहिले माथिको, अनि बल्ल तलको

पहिले माथिको, अनि बल्ल तलको
सुन्नुहोस्

माथिको पहिला, मुनिको पछि गर्ने गरी निर्वाचन आयोग उपनिर्वाचन गराउनतर्फ अग्रसर भएको छ ।

रक्षा मन्त्री पूर्णबहादुर खड्का र गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा निर्वाचनपछि ठोस छलफल गरौं भनेका कारण उक्त निर्वाचन सकिएलगत्तै आयोगका पदाधिकारीहरूले हालै दुई मन्त्रीसँग पालैपालो भेट गरे । अहिले देशभरिमा विभिन्न तहका जनप्रतिनिधिको रिक्त संख्या २५ छ । त्यसमा संघीय र प्रदेश संसददेखि स्थानीय तहमा उपप्रमुख र वडाध्यक्षसम्म छन् । तर, आउने वैशाखमा संघीय र प्रदेश संसदका रिक्त पदमा मात्रै निर्वाचन गराउने तयारी छ ।

मन्त्रीहरूले नै ‘माथिको अहिले, तलको पछि’ भनेका कारण आयोगले त्यहीअनुसार प्रस्ताव लेखिरहेको स्रोतले जनाएको छ । संघीय संसदतर्फ इलाम क्षेत्र नं. २ मा सुवास नेम्वाङ र बझाङको प्रदेशसभामा पृथ्वीबहादुर सिंहको निधनपछि रिक्त क्षेत्रमा निर्वाचन हुन लागेको हो । त्यसो त अघिल्लो संसदको कार्यकालमा प्रभु साह, टोपबहादुर रायमाझीहरूको पद रिक्त हुँदा डेढ वर्षसम्म चुनाव गराइएन । तर, यसचोटि कार्यकाल साढे तीन वर्ष पूरै बाँकी रहेका कारण वैशाखमै उपनिर्वाचन गराउन लागिएको हो ।

स्थानीय तहको हकमा काम रोकिने स्थिति नभएका कारण भदौ–असोजदेखि मंसिरसम्म चुनाव गराउँदा हुने मन्त्रीहरूको सुझाव छ । त्यसबेलासम्म थप पद रिक्त भएमा एकैचोटि सबैको निर्वाचन गराउनु उपयुक्त हुने भनी निर्वाचन आयोगका पदाधिकारीहरूलाई मन्त्रीहरूले सुझाव दिएका छन् ।
 

टिप्पणीहरू