क्यानडामाथि नेपालको सनसनीपूर्ण जित

क्यानडामाथि नेपालको सनसनीपूर्ण जित
सुन्नुहोस्

क्यानडाविरुद्ध पहिलो एकदिवसीय खेलमा नेपालले रोमाञ्चक जित हात पारेको छ । 

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा सहज जिततर्फ अघि बढिरहेको क्यानडालाई ७ रनले स्तब्ध बनाउँदै नेपालले जित दर्ता गरेको हो । २२५ रनको मध्यम लक्ष्य पछ्याएको क्यानडा ४७.५ ओभरमा अलआउट हुँदै २१७ रनमा समेटियो ।

नेपालको जितमा कप्तान रोहित पौडेल नायक सावित भए । क्यानडालाई १३ बलमा ८ रन चाहिएको अवस्थामा रोहितले अन्तिम विकेट लिएर रोमाञ्चक जित दिलाएका हुन् । उनले एक्लै ४ विकेट लिए । 

क्यानडाले आक्रमक सुरुआत गरेको थियो । तर,पहिलो पावरप्लेमा दुई विकेट गुमाएर दबाबमा आएको टोलीको इनिङ उकास्न तेस्रो विकेटका रुपमा पारगत र निकोलस किर्तोनले ७९ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए । 

कप्तान रोहित पौडेलले ५० रन बनाएका पारगत सिंहलाई आउट गर्दै नेपाललाई खेलमा फर्काए । त्यसपछि लगातार विकेट खेर फालेको क्यानडाले २८ रन बनाउँदा उसका ६ ब्याट्सम्यान पेभेलियन फर्किए । 

नेपालका लागि ललित नारायण राजवंशीले २, सोमपाल कामी, रिजन ढकाल र कुशल मल्लले एक-एक विकेट लिए ।

आजदेखि शुरु भएको तीन खेलको शृंखलाको दोस्रो खेल शनिवार हुनेछ ।
 

टिप्पणीहरू