जनआस्थाको घच्घच्याइ र अख्तियारको अग्रसरता

जनआस्थाको घच्घच्याइ र अख्तियारको अग्रसरता

 नेपाली पत्रकारिता क्षेत्रमा छुट्टै पहिचान स्थापित गरिसकेको जनआस्था साप्ताहिकले नागरिकलाई सूचना प्रवाह मात्र होइन, राज्यलाई निरन्तर खबरदारी पनि गर्दै आएको छ । आफ्नो झण्डै तीन दशक लामो यात्राका दौरान पहुँच तथा प्रभावका आधारमा जबर्जस्ती लुकाइएका तथ्यहरु बाहिर निकालेर राज्यका निकायहरुलाई जवाफदेही तुल्याउन महत्वपूर्ण भूमिका खेल्दै आएको पनि प्रष्टै छ । 

राज्यको चौथो अंग पत्रकारितालाई समाजको 'वाच डग' भनिन्छ । त्यही मान्यताअनुरुप जिम्मेवारीसहितको पत्रकारितामा हाम्रो अटुट विश्वास पनि रहँदै आएको छर्लङ्ग नै छ । जनआस्थाले उजागर गरेका थुप्रै यस्ता घटना छन्,जसले राज्यका निकायहरुलाई थप जिम्मेवार बनाउन महत्वपूर्ण योगदान पुर्याएको छ  ।

"नभन्दै आजै अख्तियारले आफ्नो प्रभाव देखाएको छ । राज्य-सत्ताको पहुँचमा रहेर ठूलो अनियमितता गरेको आरोप लागेका दुईजनामाथि अनुसन्धान थालेको छ ।" 

देशमा अहिले चरम बेथिति छ । ठूला भ्रष्टाचारका काण्डहरु सार्वजनिक भैरहेका छन् । राज्य शक्तिको दुरुपयोग गरेर हुने नीतिगत भ्रष्टाचार रोकिएको छैन । जसका कारण बढेको आम निराशाले अराजकता सृजना हुँदैछ । जनतालाई परिरहेको छ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका ठूला काण्ड छानविन नै गर्दैन । ठूलाबडालाई त्यसै उन्मुक्ति दिइन्छ । आयोग प्रभावकारी हुँदा भ्रष्टाचार र अनियमितता रोक्न धेरै हदसम्म सकिन्छ भन्ने आम विश्वास छ । नागरिकको यही आवाज राज्यलाई सुनाउन हामीले जनआस्थाको आजको अंकमा सम्पादकीय लेखेका थियौँ ।

 

 'अख्तियार,कहिले हुन्छ मनस्थिति तयार ?' शीर्षकमा लेखिएको सम्पादकीयमा भ्रष्टाचारविरुद्ध अख्तियारको भूमिका अझै प्रभावशाली हुनुपर्नेमा जोड दिइएको छ । नभन्दै आजै अख्तियारले आफ्नो प्रभाव देखाएको छ । राज्य-सत्ताको पहुँचमा रहेर ठूलो अनियमितता गरेको आरोप लागेका दुईजनामाथि अनुसन्धान थालेको छ । स्मरण रहोस्, अख्तियारलाई सतर्क गराउने हाम्रो उद्धेश्य कुनै संस्था वा व्यक्तितर्फ लक्षित भने थिएन,सायद यो संयोग मात्रै होला । 

नेपालको सूचना प्रविधिको क्षेत्रमा हालीमुहाली गर्दै आएका नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलमाथि लामो समयदेखि अनियमितता गरेको आरोप लागिरहेको थियो । गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेकाले सोसम्बन्धी मुद्दाको अनुसन्धानका लागि हिरासतमा लिएको आयोगले जनाएको छ । 

दुबै जनामाथि नेपाल राष्ट्र बैंकको स्वीकृतिबिना विदेशी बैंकमा रकम जम्मा गरेको,सरकारी सेवामा कार्यरत रहँदाकै अवस्थामा अन्तर्राष्ट्रिय परामर्शदाताको पदमा औपचारिक रुपमा नियुक्ति लिएर पदीय हैसियतको दुरुपयोग गरेको अख्तियारको ठहर छ । विकल पौडेलको हकमा उनले संयुक्त राज्य अमेरिकाको स्थायी आवासीय अनुमति (पीआर) समेत लिएकाले थप छानविन हुने भनिएको छ । 

यसअघि पनि भ्रष्टाचार मुद्दा खेपिसकेका यी दुईलाई यत्तिका दिनसम्म किन अनुसन्धान गरिएन ? भन्ने प्रश्नका बीच कसुरसम्बद्ध प्रमाण नष्ट गर्न सक्ने र भाग्ने सम्भावना देखिएकाले नियन्त्रणमा लिनुपरेको आयोगले जनाएको छ । जे होस्,संयोग नै भए पनि हाम्रो सम्पादकीय प्रकाशित भएकै दिन अख्तियार यसरी तात्नु हाम्रा लागि त खुशीको कुरा हुने नै भयो । भ्रष्टाचारविरुद्ध अख्तियार प्रभावकारी हुनुपर्छ भन्ने आममानिसलाई पनि यसले सकारात्मक सन्देश दिएको छ ।

टिप्पणीहरू