हुण्डी कारोबारी समातिने, कारोबार बढिरहने

हुण्डी कारोबारी समातिने, कारोबार बढिरहने
सुन्नुहोस्

अवैध सुन ओसारपसार र हुण्डी कारोबार गरेको आरोपमा न्यूरोडका एक सुनचाँदी व्यवसायीलाई प्रहरीले गत मंसिर १९ गते पक्राउ गर्यो । न्यूरोडस्थित ओम पर्ल गोल्ड प्रालि र कैलाश ज्वेलर्स प्रालिका सञ्चालक ४१ वर्षीय पदमप्रसाद पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

उनले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिलबिजक बिनाको सुन तथा सुनका गरगहना बिक्री गर्नुका साथै गैरकानूनी रुपमा हुण्डीमार्फत् वित्तिय कारोबार गरेको प्रहरीको आरोप छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनको साथबाट सात किलो १८५ दशमलब ३३५ ग्राम सुन तथा सुनका गरगहना, चार हजार एक सय अमेरिकी डलर, ३९ लाख ५० हजार नेपाली रकम, मोबाइल र विभिन्न कागजात समेत बरामद गरेको हो । 

पुस ३ गते मोरङको विराटनगरमा एक जना हुण्डी कारोबारी पक्राउ परे । सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्म, रानीबाट खटिएको गस्ती टोलीले विराटनगर–७, प्रशासन रोडबाट ४० वर्षीय लक्ष्मणप्रसाद साहलाई नियन्त्रणमा लिएको हो ।

उनको साथबाट १६ लाख १० हजार नेपाली रुपैयाँ बरामद भएको थियो । सशस्त्रको गस्ती टोलीले को. १९ प ४४३४ नम्बरको मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिएको जानकारी दिइएको थियो । हुण्डी कारोबारमा संलग्न रहेको आशंकमा साहलाई बरामद रकमसहित राजस्व अनुसन्धान कार्यालय इटहरीको जिम्मा लगाइयो । 

यता, हुण्डी कारोबारमा संलग्न दुई भारतीय नागरिकलाई प्रहरीले गत असोज १० गते नगदसहित पक्रेको थियो । भारतको मोतिहारी घर भई हाल काठमाडौंको कुलेश्वर बस्दै आएका २४ वर्षीय ओम प्रकाशकुमार यादव र ४४ वर्षीय राकेश राय पक्राउ परेका हुन् । 

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले विशेष सुराकीका आधारमा उनीहरुलाई कुलेश्वरबाट नियन्त्रणमा लिएको थियो । ती दुबैको साथबाट दुई लाख १० हजार ४९५ रुपैयाँ, चेकबुक र मोबाइलसमेत बरामद गरिएको प्रहरीले बताएको छ । 

गत वर्षको फागुनमा हुण्डी कारोबारमा संलग्न एक भारतीय नागरिक झण्डै पौने करोड रुपैयाँसहित पक्राउ परे । भारतको हिमाञ्चल प्रदेश सिमलथाना घर भई हाल कुलेश्वरमा फलफूल पसल चलाउँदै आएका ४९ वर्षीय कुमार गुप्ता हुण्डीको निम्ति जम्मा पारिएको ५७ लाख नगद र १४ लाखको चेकसहित पक्राउ परेका हुन् । 

फागुन १० गते कुलेश्वरबाट पक्राउ परेका उनको साथबाट प्रहरीले उक्त नगद, तीन वटा छुट्टाछुट्टै चेक र एउटा आइफोन समेत बरामद गरेको थियो । फलफूल व्यवसायीको आवरणमा नेपालमा बसेर हुण्डी कारोबार गर्दै आएका गुप्ता यसअघि २०७५ साउन ७ गते पनि दुई लाख भारतीय रुपैयाँ र ३१ लाख नेपाली रुपैयाँसहित पक्राउ परेको प्रहरीको रेकर्डमा देखिन्छ । 

विदेशमा आर्जन गरेको रकम औपचारिक माध्यमबाट नपठाई कुनै निजी व्यापारी, एजेन्ट, व्यक्ति वा दर्ता नभएका एजेन्सीमार्फत स्वदेश वा स्वदेशबाट विदेश पठाउनु हुण्डी कारोबार गर्नु हो । 

अनौपचारिक माध्यमबाट रकम पठाउँदा सुरक्षित नहुने भएकाले नेपालमा हुण्डीमार्फत रकमान्तर वा विप्रेषण गर्नुलाई गैरकानूनी मानिन्छ । यस्तो कार्य गर्नेलाई कानूनी सजायको व्यवस्था छ । 

तर, कार्यथलोमै पैसा लिन आउने र घरमै पुर्याइदिनुका साथै शुल्क पनि कम लाग्ने भएपछि धेरै मानिस हुण्डीमा आकर्षित हुँदै गएको पाइन्छ । हुण्डीबाट पैसा पठाउँदा बैंकिङ्ग प्रणालीभन्दा सहज, सरल र छिटो हुन्छ । रकमको स्रोत पनि खुलाउनु पर्दैन । 

सँगै शुल्क पनि निकै कम लाग्ने र अन्य झन्झटसमेत नहुने भएपछि वैदेशिक रोजगारीमा गएका थुप्रै नेपालीले विदेशबाट पैसा पठाउँदा हुण्डीमार्फत नै पठाउने गर्दछन् । हुण्डी कारोबारमार्फत् विदेशबाट स्वदेशमा रकम प्राप्त भएपनि यो अत्यन्त जोखिमपूर्ण छ । 

विशेषगरी, सुन तस्कारी, लागूऔषध कारोबार, मानव बेचबिखन, अवैध हातहतियारको कारोबार जस्ता अपराधजन्य कार्यमा हुण्डीले प्रश्रय दिने हुँदा यसबाट रकम पठाउँदा निर्दोष व्यक्ति समेत कानूनी सजायको भागिदार हुनुका साथै ठगिने जोखिम पनि उत्तिकै छ । 

अर्कोतर्फ हुण्डी नियन्त्रण हुन नसक्दा अन्य किसिमका अपराधसमेत बढेको प्रहरी अधिकारीहरु बताउँछन् । नेपालमा हुण्डी कारोबार वर्षेनी बढिरहेको छ । त्यसलाई प्रहरीको तथ्याङ्कले पनि पुष्टि गर्छ । हुण्डीसम्बन्धी कानून फितलो भएको र कुन निकायले कारबाही गर्ने भन्ने स्पष्ट नहुँदा यो बढ्दै गएको बताइएको छ । 

प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा आठ करोड ८० लाख २९ हजार ५९३ हुण्डी रकम बरामद भएको छ । उक्त रकमसहित एक सय २३ जना हुण्डी कारोबारीलाई प्रहरीले पक्रेको देखिन्छ ।
 
गत वर्ष हुण्डीमा प्रयोग भएको दुई करोड ५२ लाख ३१ हजार ४२५ रुपैयाँ बरामद गरिएको थियो । उक्त रकमसहित ३१ जना पनि समातिएका हुन् । त्यसको अघिल्लो वर्ष हुण्डीमा प्रयोग भएको एक करोड ८६ लाख ४३ हजार ६५३ रुपैयाँ बरामद भएको र सो अवधिमा २३ जना हुण्डी कारोबारी पक्राउ परेका थिए । आर्थिक वर्ष २०७७÷०७८ मा भने दुई करोड १७ लाख ९९ हजार ५२० रुपैयाँ हुण्डी रकमसहित २५ जनालाई नियन्त्रणमा लिइएको रेकर्ड प्रहरीसँग छ । 

त्यस्तै, आर्थिक वर्ष २०७६÷०७७ मा एक करोड ८१ लाख ६२ हजार ९५ रुपैयाँसहित ३७ जना हुण्डी कारोबारी पक्राउ परेको जनाइएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा ४१ लाख ९२ हजार ९ सय रुपैयाँसहित ६ जना हुण्डी कारोबारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

अधिंकाश हुण्डी कारोबारी सहरी ईलाकाबाट समातिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायत बताउँछन् । उनका अनुसार विभिन्न व्यापार व्यवसाय गर्ने नाममा हुण्डी कारोबार गर्ने क्रम बढेको हो । 

‘विदेशबाट सामान ल्याउँदा कम मूल्यमा किनेको देखाइन्छ । र, बैंकिङ्ग च्यानलबाट भुक्तानी गरिन्छ । तर, थोरै रकमको मात्र बैंकिङ्ग च्यानलबाट भुक्तानी गरी बाँकी हुण्डीबाट गर्ने गरेको पाइएको छ,’ उनले भने । 

अर्कोतर्फ वैदेशिक रोजगारीमा गएका श्रमिकले आफ्नो घरपरिवारमा रकम पठाउँदा बैंकिङ्ग शुल्क धेरै तिर्नुपर्ने भएपछि शुल्क कम लाग्ने प्रलोभनमा हुण्डीमार्फत पैसा पठाउँदा यो गलत कारोबार मौलाउँदै गएको प्रवक्ता कडायतले बताए । 

उनले हुण्डी कारोबार कानूनतः दण्डनीय र जोखिमपूर्ण रहेको उल्लेख गर्दै भने,‘ विदेशमा रगत, पसिना बगाएर कमाएको रकम लोभलालच वा प्रलोभनमा परेर हुण्डीमार्फत स्वदेश पठाउन भएन । यसबाट ठगिनसक्ने भएकाले बेलैमा सोच्नुपर्यो ।’

टिप्पणीहरू