ललितपुरमा वैद्यका युवाहरुको लर्को

ललितपुरमा वैद्यका युवाहरुको लर्को
सुन्नुहोस्

दुई युवाको ज्यान जानेगरी भएको बालकुमारी घटनाको विरोधमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका युवाहरुले ललितपुरमा प्रदर्शन गरेका छन् । 
 
सो पार्टी सम्वद्ध विभिन्न जनवर्गीय संगठनहरुको संयुक्त आयोजनामा आज दिउँसो बालकुमारीस्थित खरिबोट चोकमा प्रदर्शनसहित कोणसभा गरिएको हो । सभाअघि प्रदर्शनकारीहरुले खरिबोट चोकदेखि ग्वार्कोस्थित विएण्डवी हस्पिटल अगाडिसम्म नाराजुलुस गरेका थिए । 

युवाको फ्याक्सन इञ्चार्ज उदय चलाउने दिपकको नेतृत्वमा आयोजित विरोध प्रदर्शनमा बागमति प्रदेश सह-इञ्चार्ज लालबहादुर बिसी, ललितपुर इञ्चार्ज कगेन्द्र महर्जन, सेक्रेटरी कुमार सिलवाल, अखिल नेपाल क्रान्तिकारीले ट्रेड युनियनका महासचिव वसन्त बोगटी, पार्टी केन्द्रीय सदस्य दिनेश शर्मा, नेवा मुक्ति मोर्चा ललितपुरका इञ्चार्ज अनुप महर्जनलगायत सहभागी थिए । 

करिब तीन दर्जनको संख्यामा भेला भएका प्रदर्शनकारीले 'गोली होइन राेटी दे', 'देशमा रोजगारी सिर्जना गर', 'हत्या हिँसा चाहिंदैन मान्छे मार्ने पाइँदैन', 'क्रान्तिकारी कम्युनिस्ट पार्टी जिन्दवाद'जस्ता नारा लगाएका थिए ।

अस्ति शुक्रबार कोरिया पीडित भनिएका युवाहरुले ईपीएस कार्यालयअगाडि गरेको प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुँदा डोटीका २२ वर्षीय वीरेन्द्र शाह र अछामका २३ वर्षे सुजन राउतको ज्यान गएको थियो । त्यसविरुद्ध वैद्यका युवा-विद्यार्थीहरु आन्दोलित छन् ।
 

टिप्पणीहरू