युवासँगै विदेशियो महँगो विदेशी मुद्रा

युवासँगै विदेशियो महँगो विदेशी मुद्रा

पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या हवात्तै बढेको छ । मुलुकमा रोजगारीका पर्याप्त र आकर्षक अवसर नभएकाले जागिर समेत छोडेर विदेश पलायन हुने क्रम बढेको हो । पछिल्लो समय दक्षिण कोरिया जान धेरै इच्छुक देखिन्छन् । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरियाबीचको समझदारी अनुरुप रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत उत्पादनमूलक क्षेत्रका लागि गत मंसिर १८ गते १५ हजार कामदार मागिएकोमा झण्डै डेढ लाखले आवेदन दिएका हुन् । 

१८ वर्ष उमेर पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकलाई दरखास्त दिन आह्वान गरिएकोमा एक लाख ४३ हजार ८१२ जनाले फाराम बुझाएका छन् । उनीहरुले प्रतिव्यक्ति २८ अमेरिकी डलर अर्थात् तीन हजार सात सय २४ नेपाली रुपैयाँ तिरेर फाराम भरेका हुन् । 

यसरी आवेदन दिएकाबाट ईपीएस शाखाले ५३ करोड रुपैयाँभन्दा बढी रकम संकलन गरेको छ । प्रति अमेरिकी डलर नेपाली १३३ रुपैयाँ हुँदा आवेदन दिएकाबाट ५३ करोड ५५ लाख ५५ हजार रुपैयाँ संकलन भएको हो । 

अर्कोतर्फ नेपाल प्रहरीले ९२ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) माग गरेकोमा जम्मा दुई हजार ७९२ जनाले आवेदन दिएका छन् । यसले मुलुकमा सरकारी सेवाप्रति आकर्षण घट्दै गएको र विदेश जानेको संख्या अश्वाभाविक रुपमा  बढ्दै गएको समेत देखाएको छ । 

अहिले सरकारी जागिर भएको व्यक्ति समेत राजीनामा दिएर विदेशिने क्रम बढ्दो छ । सरकारी जागिरले घर धान्न समस्या भएपछि जागिर छोडेर विदेश जाने कर्मचारीहरुको संख्या बढेको हो । 
जसले मुलुकको बिडम्बनापूर्वक अवस्थाको चित्रणसँगै युवा पुस्तामा समेत नकारात्मक सन्देश प्रवाह गरेको छ । सरकारी सेवामा तल्लो तहका कर्मचारीको तलब अरुको तुलनामा निकै कम छ । 

झन् सुरक्षा निकायका कर्मचारीलाई एक्लो जागिरले परिवार पाल्न मुस्किल हुँदै गएको छ । पहिले युवाहरुको आकर्षण रहेको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनामा समेत जागिर छोड्नेको संख्या बढेको छ । 

सकी–नसकी खाएको जागिर छोड्नेमध्ये अधिकांश वैदेशिक रोजगारीमा पुगेका छन् । साथै, यो क्रम बढ्दो छ । मुलुकका दक्ष, सीपयुक्त जनशक्ति हरेक महिना ठूलो संख्यामा विदेशिने गरेका छन् ।

चालु आर्थिक वर्ष २०८०÷०८१ को मंसिर महिनामा वैदेशिक रोजगारीका लागि विदेश पलायन भएको नेपाली युवाको संख्या उच्च देखिएको छ । वैदेशिक रोजगार विभागका अनुसार मंसिरमा नयाँ र पुनःश्रम स्वीकृतिमार्फत वैदेशिक रोजगारीमा जानेको संख्या ७१ हजार २७६ रहेको छ । जबकी गत वर्षको मंसिर महिनामा ६८ हजार ६२२ को संख्या नेपालीहरु वैदेशिक रोजगारीमा गएका थिए ।

ईपीएस दक्षिण कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदी केही वर्षयता कोरिया जान नेपाली युवाहरुको आकर्षण बढ्दै गएको बताउँछन् । उनका अनुसार अहिले बेरोजगारीका कारण मात्र नभई सरकारी सेवामा कार्यरत कर्मचारी समेत कोरिया जाने गरेका छन् । 

‘०७४ पछि नेपाली युवाहरु विदेशिने क्रम बढ्दो छ । पहिला बेरोजगारीका कारण विदेशिन्थ्यो । पछिल्लो समय भने भएको जागिर समेत छोडेर विदेश गएको पाइन्छ,’ उनले भने, ‘अहिले डाक्टरदेखि निजामती सेवाका कर्मचारी समेत कोरिया गइरहेका छन् ।’

कोरिया जान थोरै खर्च लाग्ने र आम्दानी धेरै हुने हुँदा युवा वर्गको आकर्षण बढ्दै गएको उनको भनाइ छ । यता, वैदेशिक रोजगार विभागका निर्देशक कविराज उप्रेती मुलुकमा केही पनि छैन भन्ने भ्रम सिर्जना भएकोले पनि विदेश जानेको संख्या दिनहुँ बढ्दै गएको बताउँछन् । 

‘युवा वर्गमा देशमा केही पनि छैन भन्ने भ्रम सिर्जना भएको छ । जसले गर्दा उनीहरु १२ कक्षा पास गर्नेबित्तिकै विदेश जान तयार हुन्छन्,’ उनले भने, ‘यसलाई रोक्न सम्बन्धित निकायले तत्काल कदम चाल्न जरुरी छ । नत्र मुलुकका सीपयुक्त र दक्ष जनशक्ति सबै विदेशिने छन् ।’

टिप्पणीहरू