बैंक ठग्नेहरूको बढ्यो बथान

बैंक ठग्नेहरूको बढ्यो बथान
सुन्नुहोस्

केही समययता बैंकिङ कसूर ह्वात्तै बढेको छ । आर्थिक अपराध मौलाएको  छ । चेक बाउन्स, हुण्डी, विद्युतीय माध्यमको दुरुपयोग गरी ठगी कार्य व्यापक रुपमा भइरहेको छ । सबैभन्दा बढी चेक बाउन्सका मुद्दा दर्ता हुने गरेको छ । 

भुक्तानीका निम्ति दिइएको चेक बैंकबाट रकम प्राप्त हुन नसकेर तीन पटकसम्म बाउन्स भएको खण्डमा त्यसलाई बैंकिङ कसूरको रुपमा लिइन्छ । नेपाली मात्र नभई विदेशीसमेत बैंकिङ कसूरको आरोपमा समातिँदै आएका छन् । 

आर्थिक अपराधसम्बन्धी प्रहरीको क्राइम चार्टमा चेक बाउन्स पहिलो नम्बरमा छ । यसअन्तर्गतका मुद्दा दायर भएपछि अधिकांश प्रतिवादी फरार हुने गरेको प्रहरीको भनाइ छ । यता, अदालतमा पनि बैंकिङ कसूरका मुद्दा असंख्य छन् । ललितपुर जिल्ला अदालतमा मंसिरको शुरुवातमै बैंकिङ कसूरसम्बन्धी दर्जनौं मुद्दा दायर भएको छ । 

ललितपुर महानगरपालिका–१४, नख्खीपोट बस्ने काभ्रेली ट्रेडर्सका प्रोप्राइटर उमेश धिताल बैंकिङ कसूरको आरोपमा थुनामा छन् । उनीविरुद्ध काठमाडौं महानगरपालिका–१३ सीतापाइलास्थित अमेजन डिष्ट्रिब्युटर्स प्रालिका प्रोप्राइटर बाबुराम दाहालले मुद्दा दायर गरेका थिए । 
धितालले व्यापार व्यवसाय गर्दा कम्पनीलाई तिर्नुपर्ने ८० लाख रुपैयाँ दिन आलटाल गर्दै आएका थिए । सन् २०२१ डिसेम्बर १ मा प्रभु बैंक लिमिटेड, सातदोबाटो शाखाको खाता नम्बर ०४२००९९७८८५०००११ बाट ००२३१७४३०० नम्बरको चेक काटिदिएका थिए । उक्त खातामा रकम नभएकाले तीन पटक चेक बाउन्स भयो । 

०८०–सी१–०५८ मा दर्ता भएको मुद्दामा न्यायाधीश रोशनकुमार भट्टराईले उनलाई तीन वर्ष कैद र बिगो बमोजिम ६८ लाख ७९ हजार ४५१ रुपैयाँ जरिवानाको आदेश दिएका छन् । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१२ घर भएर लाजिम्पाटमा लिकर वल्र्ड चलाउने प्रोमिश श्रेष्ठले कोटेश्वरमा मदिरा पसल भएकी कृष्णमाया रानाविरुद्ध बैंकिङ कसूरको अभियोगपत्र दायर गरेका छन् । कृष्णमायाले आफ्नो पसलका लागि पेय पदार्थ ल्याउने गरेकी थिइन् । तर, त्यसबापतको रकम दिएकी थिइनन् । 

पटकपटक ताकेता गरेपछि नेपाल एसबीआई बैंकको एक लाख ९५ हजार रुपैयाँको चेक दिइन्  । सटही गर्न जाँदा बाउन्स । बैंकमा रकम जम्मा गरेर खबर गर्छु भनेकी कृष्णमाया त्यसपछि सम्पर्कविहीन भएकी उनी हालसम्म पनि फरारै छिन् । ऋण लिएको रकम फिर्ता नगरी लामो समय झुलाइराख्ने डम्बरबहादुर बस्नेतविरुद्ध पनि ललितपुर जिल्ला अदालतमा अभियोगपत्र दायर भएको छ । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम केशरी थापाले अभियोगपत्र दायर गरेकी हुन् । व्यापार–व्यवसाय गर्ने क्रममा ऋण लिएका उनले विभिन्न बनाएर थापालाई झुक्याउँदै आएका थिए । त्यसपछि एकाएक सम्पर्कविहीन भए । बल्लतल्ल भेटिएका उनले नगद नभएको भन्दै मुक्तिनाथ विकास बैंकको चेक थमाइदिए ।

सात लाख ४४ हजारको चेक जम्मा गर्न जाँदा खातामा रकम नभएको खुलेको हो । तीन पटक चेक बाउन्स भएपछि उनले आफ्नो रकम दिलाईभराई पाऊँ भन्दै अभियोगपत्र दायर गरेकी हुन् । अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनी भागेका छन् । आफ्नो घरायसी समस्या सल्टाउनका लागि पैसा सापटी लिएर फिर्ता नदिने सुरेशकृष्ण श्रेष्ठविरुद्ध पनि अभियोगपत्र दायर भएको छ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ बस्ने देवबहादुर रोकायाले ललितपुर महानगरपालिका–२० का श्रेष्ठविरुद्ध बैंकिङ कसूरको आरोपमा अभियोगपत्र हालेका हुन् । उनले घर व्यवहार मिलाएर एक महिनाभित्र रकम फिर्ता गर्छु भनी ११ लाख ५० हजार रुपैयाँ लगेका थिए । 

श्रेष्ठले दिएको सेञ्चुरी बैंक लिमिटेडको चेक तीन पटक नै बाउन्स भएपछि रोकायाले किटानी जाहेरी दिए । ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनी पनि फरार छन् । वैदेशिक रोजगारीमा पठाउन नसकेपछि पैसा फिर्ताका लागि चेक दिने अर्का एक जनाविरुद्ध पनि बैंकिङ कसूरको अभियोगपत्र दर्ता भएको छ । सर्लाहीका सुदर्शन कार्कीले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ललितपुरका चित्रबहादुर केपछाकीबाट १८ लाख रुपैयाँ लिएका थिए । 
काम हुन नसकेपछि उनले सिद्धार्थ बैंकको चेक काटिदिए तर  खातामा पर्याप्त रकम नहुँदा चेक बाउन्स भएपछि उनले कारबाहीको माग गर्दै ललितपुर जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको कार्कीको हाल खोजी भइरहेको बताइन्छ ।   

मुद्दा दर्ता हुने क्रम बढ्दो

अदालतमा मात्र नभई नेपाल प्रहरीमा पनि यस प्रकृतिका मुद्दा दर्ता हुने क्रम बढेको छ । आर्थिक वर्ष २०७९–८० मा १२ हजार १२८ मुद्दा दर्ता भएको छ । जसमध्ये १२ हजार ३० वटा चेक बाउन्ससम्बन्धी छ । त्यस्तै, हुण्डीको २१, सहकारी ठगीको ५३, राष्ट्र बैंक ऐनविरुद्ध कसूरको आठ, अनधिकृत रुपमा चेक, चेक बुक वा बैंक विवरण प्राप्त गर्न वा दिन नहुनेको एक, अनधिकृत रुपमा रकम निकाल्न वा भुक्तानी दिन नहुनेको दुई, विद्युतीय माध्यमको दुरुपयोग गरी भुक्तानी लिन वा दिन नहुनेको दुई, बैंकिङ स्रोत, साधन र सम्पत्ति दुरुपयोग गर्न नहुनेको तीन, बैंक तथा वित्तीय संस्थालाई झुक्याएर काम गर्न नहुनेको सात र गैरकानुनी रुपमा बैंकिङ गर्न नहुनेको एउटा मुद्दा दर्ता भएको छ । 

उपत्यकामा बैंकिङ कसूरको बिगबिगी 

नेपाल प्रहरीका सूचना अधिकारी नायब महानिरीक्षक कुबेर कडायत काठमाडौं उपत्यकाका तीन जिल्लामा सबैभन्दा धेरै बैंकिङ कसूरका उजुरी पर्ने गरेको बताउँछन् । उनका अनुसार उपत्यकामा दैनिक एक सयभन्दा बढी उजुरी पर्ने गरेको छ । चेक बाउन्सको उजुरी पर्ने क्रम तेब्बरले बढेको उनले जानकारी दिए । यता, अनलाइनमार्फत भुक्तानी लिएर ठगी गरेको उजुरी पनि केही समययता बढ्न थालेको उनको भनाइ छ । 
 
 

टिप्पणीहरू