प्रधानन्यायाधीश उता,मुख्य न्यायाधीश यता
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत आज जनकपुर गएका छन् । नेपाल बारको राष्ट्रिय मानवअधिकार गोष्ठीमा भाग लिन प्रधानन्यायाधीश उता गएको बेला सो क्षेत्रका मुख्य न्यायाधीश भने यता न्यायाधीश समाजको कार्यक्रमका लागि काठमाण्डौमा छन् ।
उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश टेकनारायण कुँवर पूर्व निर्धारित कार्यक्रममा भाग लिने क्रममा काठमाडौंमा रहेको बुझिएको छ । प्रधानन्यायाधीश राउतको दुई दिने जनकपुर बसाइमा कार्यवाहक मुख्य न्यायाधीशले सेवा र समन्वय गर्नुपर्ने अवस्था आइलागेको छ ।
भोलि डिसेम्बर १० का दिन विश्वभर मानवअधिकारसँग सम्बन्धित कार्यक्रमहरु गरिँदैछ । बिहान साढे ८ बजे प्रधानमन्त्री सुशीला कार्की राष्ट्रिय मानवअधिकार संगठनको कार्यक्रममा भाग लिन ललितपुरको पुल्चोक जाँदै हुनुहुन्छ ।
प्रधानन्यायाधीश राउतलाई भोलि नै जनकपुरमा आयोजना हुन लागेको बार परिषदको बैठकमा पनि मुख्य अतिथि बनाइएको छ । त्यहाँका मुख्य न्यायाधीश टेकनारायण कुँवर बूढानीलकण्ठको पार्क भिलेजमा राखिएको न्यायाधीश समाजको आवासीय कार्यक्रममा सहभागी छन् । उनी उक्त समाजका महासचिव हुन् ।
प्रधानन्यायाधीशको विगतका घुमघाम र निरीक्षणमा जानाजान वा भूलवशः भएका कमजोरीलाई कतिपयले अहिलेको यात्रासँग जोडेरसमेत हेर्न भ्याएका छन् । केही महिनाअगाडि काठमाडौंको बबरमहलमा ठूलो बाढी आएको बेला जिल्ला अदालतसँगैको विशेष अदालतलाई समेत असर परेको थियो ।
त्यतिबेला बाढीले पुर्याएको क्षति अवलोकन गर्न प्रधानन्यायाधीश जिल्ला अदालत पुग्दा छेउमै रहेको विशेष अदालतको अवस्था बुझ्न उनी त्यहाँ गएनन् । विशेषको परिसरमा भएको डुबान र क्षतिबारे प्रधानन्यायाधीशले चासोसमेत नराखेको त्यहाँका कर्मचारीहरु बताउँछन् ।
त्यसैगरी प्रधानन्यायाधीश नियुक्तिपश्चात उपत्यकामा रहेका न्यायालयहरुको निरीक्षण गर्दा पनि विशेषलाई सौताको व्यवहार गरियो । त्यतिबेला प्रधानन्यायाधीशको उक्त कदमलाई सन्तुलन समन्वय कायम गर्न नसकेको भनेर आलोचना गरिएको थियो । ‘प्रधानन्यायाधीश न्याय क्षेत्रको अभिभावक भएकाले सबैलाई समान दृष्टिकोणले हेर्नुपर्ने,उपयुक्त र योग्य भूमिका दिनुपर्नेमा उहाँ चुक्नुभएको छ,’ सर्वोच्चकै एकजना भूतपूर्व श्रीमानले बताए ।
त्यतिबेला विशेषको अध्यक्ष अहिलेका मुख्य न्यायाधीश कुँवर थिए ।
टिप्पणीहरू