ओलीमाथिमहिला बिरोधी भएको आरोप
नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीमाथि महाधिवेशनको मुखमा गम्भीर आक्षेप लागेको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति गरेको विवादास्पद टिप्पणीले उनीमाथि महिला विरोधीको ट्याग लागेको हो ।
ओलीले सधैँ महिलाको अपमान गर्दै आएको गुनासो गर्दै उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पूर्वराष्ट्रपतिमाथि ओलीको टिप्पणीप्रति कडा आपत्ति जनाएकी छन् । एघारौँ महाधिवेशनका सन्दर्भमा आज काठमाडौँमा आयोजित अन्तरसंवाद कार्यक्रममा उनले प्रश्न गरिन्, ‘केपी ओली आमाको कोखबाट जन्मिनुभएको होइन र ?’
उहाँलाई धामीझाँक्री भनेको के हो ? यस्तो अपमान गर्न पाइन्छ ?’
पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता खोसेर एमालेमा फर्किने बाटो बन्द गरेका ओलीले व्यंग्य भावसहित 'परैदेखि धामीले जस्तो घुमरौं लाएर झर्ल्याङ्–झर्ल्याङ् गरेर मुजुरका प्वाँख–स्वाँख लाएर ढ्याङढ्याङ पार्दै ‘म राष्ट्रपतिबाट आएँ,ठाउँ छोड्,ठाउँ छोड्, म अध्यक्ष हुन्छु,ठाउँ छोड्’ भन्दै आउन मिल्छ ? भनी प्रश्न उठाएका थिए । त्यसप्रति आक्रोश जनाउँदै शाक्यले प्रतिप्रश्न गरिन्, ‘एउटा पूर्वराष्ट्रपति, परमाधिपति पनि भन्छौँ,देशको संरक्षक पनि भन्छौँ,संविधानको संरक्षक पनि भन्छौँ । उहाँलाई धामीझाँक्री भनेको के हो ? यस्तो अपमान गर्न पाइन्छ ?’
गणतन्त्र नेपालको प्रधानमन्त्री भइसकेको व्यक्तिले पूर्वराष्ट्रपतिलाई पटकपटक अपमानित शब्द प्रयोग गर्ने गरेको उनको दुखेसो छ । कसैले पनि महिलाको अपमान गर्न नहुने भए पनि ओलीको हकमा भने यो सामान्य भैसकेको भन्दै उनले व्यङ्ग्यसमेत गरेकी छन् ।
‘पूर्वराष्ट्रपति भइसकेको व्यक्तिलाई यो शब्दले अपमान गर्ने हद भनेको नेतृत्वलाई सुहाउँदैन । नेतृत्वले यस्तो गर्नै हुँदैन’, शाक्यले व्यंग्य गर्दै भनिन्, ‘तर गर्न हुन्छ,कसले गर्न हुन्छ ? केपी ओलीले गर्न हुन्छ । किनभने उहाँमा सोच नै छैन । महिलाप्रति हेर्ने दृष्टिकोण नै छैन । महिलालाई अपमान गरेको गर्यै छ ।’
ओली कहिल्यै नसुध्रिने ठहर गर्दै शाक्यले एमालेमा नेतृत्व परिवर्तनको विकल्प नभएको पनि बताएकी छन् । ओलीलाई पुन: अध्यक्ष बनाए एमाले झनै कमजोर हुने उनको चिन्ता छ ।
टिप्पणीहरू