आयो कली, धपक्कै बली

आयो कली, धपक्कै बली
सुन्नुहोस्

हिन्दू धार्मिक मान्यताअनुसार सत्ययुगको उल्टो कलियुग हो भनिन्छ । अझै ५ हजार वर्षपछि कलियुगको खास प्रभाव देखिन्छ भन्ने विश्वास छ । त्यतिबेला बुवाले छोरीसँग विवाह गर्नेछन् भने मानिसभन्दा जनावरमा मानवता, नैतिकता हुनेछ भन्ने धार्मिक प्रक्षेपण छ । तर, ५ हजार वर्षपछि हुन्छ भनिएका कुकृत्यचाहिँ अहिले नै मानिसले सांकेतिक रूपमा देखाउन थालिसकेका छन् । खासगरी यौनसँग जोडिएका विषय, अपराध र गैरमानवतावादी घटनाले कलियुगलाई निम्तो दिइरहेको भान हुनेगरी प्रकट भइरहेको छ । 

मकवानपुरको राक्सिराङ गाउँपालिकामा यस्तै एउटा घटना भएको छ । जुन घटना प्रहरीसम्म आइपुगेको छ तर अभियुक्तहरू पक्राउ परिसकेका छैनन् । २२ वर्षकी बिमला (नाम परिवर्तन) लाई उनकै ५५ वर्षीया काका ससुराले ब्ल्याकमेलिङ गरेर शारीरिक सम्बन्ध राख्न बाध्य बनाएको घटना सार्वजनिक भएको छ । यही घटनालाई नै आड मानेर विमलामाथि जेठाजु पर्ने अर्का युवकले पनि करणी गरेका छन् । बिमलाकै परिवारका एक सदस्यका अनुसार ५५ वर्षीय काकाससुरा सुरेन्द्रले राक्सिराङ ८ घ्यामरिङ भन्ने ठाउँमा रहेको एकान्त गोठमा बिमलालाई बोलाए । त्यसपछि सुरेन्द्रले ‘तिमीले फलानोसँग सेक्स गरेको मैले देखेको छु, मलाई पनि दिने भए कसैलाई भन्दिन, दिएनौ भने सबैलाई यो कुरा भन्दिन्छु’ भनेर ब्ल्याकमेलिङ गरे । बिमला काका ससुरासँग बस्न विवश भइन् । यो घटना थियो ०८० साल जेठ ७ गते दिउँसो १ बजेको । 

त्यस्तै, फेरि अर्काे घटना पनि भयो बिमलाको जीवनमा । ०८० साल असार २३ गते राति उनी सुतिरहेको ठाउँमा ३५ वर्षीय सुजन प्रजा सुस्तरी सुस्तरी पुगे । काठले बनेको छाप्रे घरमा जेठाजु पर्ने सुजन पनि करणीकै लागि छिरेका थिए । उनले पनि ब्ल्याकमेलिङ गरे । ‘बिमलाले तपाईं मेरो जेठाजु मान्छे, मलाई छुनसमेत हुँदैन, परै बस्नुस्’ भन्दाभन्दै सुजन जाइलागे । यसरी फेरि बिमला बलात्कृत भइन् । 

बिमलाका श्रीमान् शंकर प्रजा काठमाडौँमा ज्यामी काम गर्न गएका थिए । एक बच्चाकी आमा बिमलालाई पटक पटक यस्तो घटना भएपछि उनी गाउँ फर्केर न्यायका निम्ति प्रहरीमा धाए । जबरजस्ती करणीको घटना गाउँमै मिलाउने प्रयत्न भएपनि अन्ततः दबाबपछि यतिखेर इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरमा बिमलाले जाहेरी दिएकी छन् । कात्तिक २५ गते जाहेरी दर्ता गरिए पनि आजको दिनसम्म अभियुक्तहरू सुरेन्द्र र सुजन पक्राउ परेका छैनन् । इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख दीपक थापाले खोजी कार्य जारी रहेको र विमला सम्पर्कमै रहेको बताए । 

गाउँघरमा भइरहेका हाडनाता करणीसमेत आकर्षित हुने यस्ता घटनाले समाज भड्किरहेको छ । घटना सुन्नेहरू कलियुगमा हुने नै यस्तै हो भनेर जिब्रो टोक्ने गर्छन् ।
 

टिप्पणीहरू