सुदखोरद्वारा जेलिएको पाँचखालको दनुवार बस्ती, आचार्य परिवारको वर्षौंदेखि मस्ती

सुदखोरद्वारा जेलिएको पाँचखालको दनुवार बस्ती, आचार्य परिवारको वर्षौंदेखि मस्ती

मीटरब्याज कानुनतः आर्थिक अपराध हो । मीटरब्याजीले गरेको शोषण सहन नसकेर गत बैशाखताका पीडितहरुले काठमाडौं केन्द्रित ठूलो आन्दोलन गरेका थिए । आन्दोलनको दबाबपछि सरकारले मीटरब्याज उठाउनेलाई सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ । 

यसले मधेशका मीटरब्याज पीडितहरुले केही हदसम्म राहत महशुस गरेका छन् । तर, मधेशमा निर्मुल हुन नपाउँदै मीटरब्याजको समस्या यतिबेला काठमाडौं उपत्यका र वरपरका जिल्लामा पनि देखिन थालेका छ । 

काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा रहेको दनुवार बस्तीका अधिकांश स्थानीय सुदखोरबाट ऋण लिएकै कारणले घरबारविहीन हुने जोखिममा परेका छन् । वडा नम्बर १२, तीनघरेमा रहेको स्थानीय दनुवार बस्ती अहिले ‘रुनु न हाँस्नु’ को अवस्थामा छ । एक जना जमिन्दारले सारा दनुवार बस्तीको जग्गा छलछाम गरेर कब्जामा लिँदा उनीहरु विस्थापन हुने अवस्थामा पुगेको बताइन्छ । 
त्यहाँका सबैको आ–आफ्नो दुःखेसो छ । जमिन्दार शरणप्रसाद आचार्यले चलाखीपूर्ण तवरले जग्गा उनको नाममा लैजाँदा दनुवारहरुलाई कहाँ जाने र के गर्ने ? भन्ने चिन्ताले पिरोलेको छ । पुख्र्यौली थातथलो छाडेर अन्तै जानुपर्ने त्रासले उनीहरुलाई सताएको छ । 

घटनाको इतिवृतान्त

दनुवार बस्तीमा भएको घटनाबारे थाहा पाउन वि.सं. २०५२ सालमा फर्किनुपर्छ । तीनघरेमा धेरैजसो दनुवारकै बसोबास छ । उनीहरुको पुख्र्यौली थातथलो नै त्यही हो । खेतीपाती गरेर गुजारा गर्दै आएका त्यहाँका दनुवार आर्थिक हैसियतले विपन्न छन् । 

उक्त स्थानमा एकाध घर मात्रै आचार्य परिवारको छ । उनीहरु बाहिरी जिल्लाबाट बसाइँ सरेर त्यहाँ बसोबास गर्न आएको दनुवारहरुको भनाई छ । राजनीतिमा सक्रिय एक आचार्यले दनुवार बस्तीको मात्रै होइन्, आफ्नै दाजुको जग्गासमेत हड्पेको पाइएको छ । आचार्यले नपढेका र सोझासाझी दनुवारलाई झुक्काएर त्यतिबेला नै उनीहरुको जग्गा आफ्नो नाममा लगेका हुन् । 

हराएको लालपूर्जा बनाइदिने आश्वासन दिँदै उनले कीर्ते गरेर जग्गा आफ्नो नाममा लगेको स्थानीयको आरोप छ । पाँच–सात हजार रुपैयाँ ऋण लिँदा लाखौंको जग्गा गुमाउनेहरु पनि छन् । आचार्यले अहिले धमाधम सो जग्गा बेच्न थालेका छन् । जसले गर्दा सिंगो दनुवार बस्ती नै विस्थापन हुने अवस्थामा पुगेको हो ।

स्थानीय कुमार दनुवारका अनुसार आचार्यले कीर्ते गरेरै तीनघरेको मात्र नभई अन्य स्थानका बासिन्दाको जग्गा पनि आफ्नो बनाइसकेका छन् ।

‘उनले पहिले जग्गाको पूर्जा बनाइदिन्छु भन्दै धुलिखेलमा लगेर ल्याप्चे गर्न लगाएछन् । यहाँ अहिले त धेरैले पढ–लेख गर्न जानेका छैनन् भने त्यतिबेला त कुरै नगरौं । पढ्न–लेख्न नजानेको र सीधासाधी भएको फाइदा उनले उठाए । सबै जग्गा उनले आफ्नो नाममा लगेका रहेछन् । यो कुरा थाहा पाएपछि स्थानीय छाँगोबाट खसेझैं भएका थिए । शुरुमा उनले तीन लाख रुपैयाँको दरले स्थानीयलाई पैसा दिने भनेका थिए । २० हजार दिए, अरु दिएनन् । अहिले धमाधम जग्गा बेच्न थालेका छन्’, उनले भने ।

आचार्यले स्थानीयलाई धम्काउने, तर्साउने कार्य गर्दै आएकाले पीडितहरु कानुनी उपचारमा समेत जान नसकेको दनुवारको भनाई छ । स्थानीय पालिकामा उजुरी गर्दासमेत सुनुवाई नभएको उनले गुनासो गरे ।

‘स्थानीयले कमाउँदै आएको जग्गा उनले बेचिदिएका छन् । केही समयअघि अर्का व्यक्ति पुगेर त्यहाँ ट्रयाक्टर लगाउन थालेपछि विवाद भएको थियो । स्थानीय पालिकामा उजुरी दिएको लामो समय भइसकेको छ । तर, अहिलेसम्म कारबाहीको प्रक्रिया अगाडि बढेको छैन’, उनले भने । 

आचार्यले झुक्याएर एक जना अपाङ्गको समेत जग्गा हड्पेको पाइएको छ । गरिखाने ठाउँ नै नभएपछि ती अपाङ्गको बिल्लीबाठ भएको बताइन्छ । आचार्य परिवारले दिएको धम्कीका कारण उनीहरु कानुनी उपचारमा जानसमेत डराएका छन् । 

यता, अर्का पीडित सन्तोष दनुवारले अझैपनि पीडितहरु खुलेर बाहिर आउन नसकेको बताए । ‘यहाँ भएका अधिकांशको जग्गा उनले त्यसरी हड्पेका छन् । लालपूर्जा बनाइदिने आश्वासन देखाएर उनले जग्गा आफ्नो नाममा गरेका रहेछन् । कसैले थाहा पाएकै थिएनन् । भखरै थाहा पाएका हौं । पीडित थुप्रै भएपनि कोही बोल्न सकेका छैनन् । सबै डराइराखेका छन्’, उनले भने । 

डेढ सय बढी पीडित छन्ः पूर्व उपमेयर 

पाँचखाल नगरपालिकाकी पूर्व उपमेयर लक्ष्मी दनुवारले तीनघरेमा डेढ सयबढी पीडित भएको बताइन् । दनुवारहरुको सोझोपनको फाइदा आचार्यले उठाएको उनको भनाई छ । सात हजार रुपैयाँ दिएर सात–आठ लाख रुपैयाँको जग्गा लिएको उपमेयर दनुवारले जानकारी दिइन् । 

‘यहाँका दुई–तीन घर मात्रै आचार्यका छन् । आचार्यहरुको पुख्र्यौली यहाँ होइन । उनीहरु पछि आएका हुन् । यहाँका आदिवासीहरु सोझोसाझा र निरक्षर भएकाले आचार्यले सजिलै सबैको जग्गा हड्पे । उनले सात हजार रुपैयाँ दिएर सात लाखको जग्गा खाइदिएको उजुरी आएको छ । अहिले अब विदेश जनालाई जग्गा धितो राखेर ऋण लिनेभन्दा पो यो कुरा बाहिर आयो’, उनले भनिन् । 

लालपूर्जा राखिदिने भन्दै उनले धुलिखेलमा लगेर बकस र राजीनामा पास गराएको उपमेयर दनुवार बताउँछिन् । जग्गा आचार्यको नाममा गइसकेकाले कानुनी लडाइँ लड्न पनि गाह्रो परेको उनले दुःखेसो पोखिन् । 

‘जग्गा बकस गराएर र राजीनामा गराएर उनले लगिसकेका रहेछन् । अब कानुनको बाटो जान्छुभन्दा पनि पीडितलाई गाह्रो छ । जालझेल गरेर उनले जग्गा लिए । अहिले पीडितहरु साह्रै तनावमा छन् । उनीहरुले न्यायका लागि लड्छौं भन्दा आचार्यले काट्छु, माछुजस्तो धम्की दिइराखेका रहेछन्’, उनी भन्छिन्, ’यो दनुवार बस्ती सजिलै अर्काको विश्वासमा पर्छ । अहिलेपनि अवस्था यस्तो छ कि कतिपयलाई त मोबाइल चलाउन आउँदैन ।’

जग्गा रोक्का राखिदिएका छौंः नगरपालिका

पाँचखाल नगरपालिकाले २३ वटा कित्ताको जग्गा रोक्का राखिदिएको जनाएको छ । नगरपालिकाले जग्गा रोक्का राखिदिनेबाहेक अरु केही सहयोग गर्न नसक्ने उपमेयर सूर्यमाया दनुवारले बताइन् । पीडितहरुले कागजात नल्याउँदा बाँकी जग्गा रोक्का राख्न नसकेको उनी बताउँछिन् । 

सबैको जग्गाको एउटै लालपूर्जा भएकाले थप समस्या परेको उनको भनाई छ । दुवै पक्षलाई नगरपालिकामा बोलाएर छलफल गराउन पटक पटक कोसिश गरेपनि पीडितहरु उपस्थित नभएको उपमेयर दनुवारले सुनाइन् । साँवा र ब्याज चुक्ता गरेपनि आचार्यले अधिकांशको जग्गा फिर्ता नगरिदिएको उनले जानकारी दिइन् । 

‘यहाँ धेरै समस्या छ । हामी आफैं कसरी समाधान गर्ने भनि अलमल्ल परेका छौं । दनुवारहरुको आर्थिक अवस्था एकदमै कमजोर छ । स–साना काम गर्न पनि ऋण लिने चलन छ । कसैले त्यत्तिकै ऋण त दिँदैन् । अनि जग्गा नै राजीनामा पास गरेर दिने क्या । धितो राख्ने भनेर राजीनामा दिएको तीनघरेमा मात्रै होइन् । अन्य थुप्रै वडामा पनि त्यही समस्या छ । विश्वासमा पर्दा जग्गा नै अर्काको नाममा पुगेको छ’, उनले भनिन् । 

उनका अनुसार पुख्र्यौली जग्गा भएकाले लालपूर्जा एउटै व्यक्तिको नाममा थियो । जसले गर्दा सारा खान्दान नै अप्ठेरोमा परेका छन् । 

को हुन् आचार्य ? 

पञ्चायतकालदेखि राजनीतिमा सक्रिय आचार्यको पेशा–व्यवसाय खासै देखिँदैन । काठमाडौं बस्दै आएका उनले विगतदेखि नै स्थानीयलाई ऋण दिने र जग्गा हड्पिने गर्दै आएका छन् । 

उनका तीन छोरा राममणि, सुन्दरमणि र चन्द्रमणि छन् । राममणिले बुबाकै कारोबार सम्हाल्दै आएका छन् । सुन्दरमणि राजनीतिक क्षेत्रमा छन् भने चन्द्रमणि बैंकको जागिर छाडेर बसेका छन् ।
 

टिप्पणीहरू