नेपाल विश्वकपमा छानिंदा मूलपानीमा देखिएको रौनक

नेपाल विश्वकपमा छानिंदा मूलपानीमा देखिएको रौनक
सुन्नुहोस्

नेपालले १० वर्षपछि टी–२० विश्वकपमा स्थान बनाएको छ । आज मूलपानी अन्तराष्ट्रिय क्रिकेट मैदानमा चीर प्रतिद्धन्द्दी यूएईलाई ८ विकेटले हराउँदै आगामी वर्ष अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा नेपाल छनोट भएको हो ।

यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । त्यसपछिका विश्वकप संस्करणमा छनोट हुन सकेको थिएन । टस जितेर पहिले ब्याटिङ गरेको यूएईले दिएको १३४ रनको लक्ष्य १७ बल बाँकी छँदै मात्र २ विकेट गुमाएर पूरा गर्दै नेपाल दोस्रो पटक विश्व क्रिकेटको सबैभन्दा उपल्लो प्रतियोगिता खेल्ने निश्चित भएको हो । 

नेपालको जितमा ओपनर आशिफ शेखले सर्वाधिक रनको योगदान दिए । अर्धशतकीय पाली खेलेका उनले मात्र ५१ बलमा ६ चौका र २ छक्काको मद्दतले ६४ रनमा अविजित रहे । त्यस्तै, कप्तान रोहित पौडेलले ३५ रनको अविजित पाली खेले । गुल्सन झाले २२ र कुशल भुर्तेलले ११ रन बनाए । 

नेपाली बलर सामु निरिह देखिएको यूएईका भृत्य अरविन्दले ६४ र कप्तान मुहमद वासिमले २६ रन बनाउनु बाहेक अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन थिए । उसका लागि एलिसान सराफुले १६, आसिफ खानले १३, खालिद शाहले ३ र अलि नासिरले ४ रन जोडे । 

यूएईलाई सस्तैमा समेट्न कुशल मल्लले सर्वाधिक ३ विकेट लिए । त्यस्तै, सन्दीप लामिछानेलले २ र सोमपाल कार्मी र रोहित पौडेलले समान एक-एक विकेट आफ्नो नाममा गरे । 

नेपालले विश्व क्रिकेटमा ठूलो उपलब्धि हात पार्दा मूलपानी अन्तराष्ट्रिय क्रिकेट मैदानमा उल्लास देखिएको थियो । नेपाली खेलाडीको हौसला बढाउन ठूलो संख्यामा क्रिकेट समर्थकहरु मैदानमा पुगेका थिए ।  

निर्माणाधीन मूलपानी मैदानमा दर्शकका लागि बस्ने पर्याप्त स्थान थिएन । त्यसैकारण थोरै संख्यामा टिकट बिक्री गरेको क्यानले घरमै बसेर टेलिभिजनमा खेल हेर्न आग्रह गरेको थियो । तर, घरेलु मैदानमा भएको खेल हेर्न क्रिकेटप्रेमीहरुलाई क्यानको आग्रहले रोकेन । घरको छत, सडक, र डाँडामा उभिएर उनीहरुले खेलको मज्जा लिए ।

टिप्पणीहरू