काँग्रेसको ‘विद्रोही’ खेमाद्वारा संघमा पनि सरकार फेर्न माग
कोशी प्रदेशमा माओवादी नेतृत्व अस्वीकार गर्दै एमालेसँग सहकार्य शुरु गरेको नेपाली काँग्रेसको शेखर कोइराला गुटले संघमा पनि प्रचण्ड सरकारको विकल्प खोज्नुपर्ने माग राखेको छ ।
आजको प्रतिनिधिसभा बैठकमा शेखर समूहका सांसद सञ्जय गौतमले सरकार असफल भएको आरोप लगाउँदै विकल्प खोज्नुपर्ने धारणा राखेका हुन् । प्रचण्ड नेतृत्वको सरकारले निकास दिन नसक्ने समेत उनको दाबी छ ।
गौतमले तत्काल काँग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने पनि जनाएका छन् । सरकारले सुकुम्बासीको समस्या समाधान गर्न नसकेको, विकासको काम नगरेको, महँगी नियन्त्रण गर्न असफल रहेको जस्ता आरोप लगाएर उनले आफ्नै पार्टीको नेतृत्वको सर्वपक्षीय सरकार गठनको प्रस्ताव गरेका हुन् ।
‘देशको आर्थिक अवस्था स्थीर छ, यसलाई गतिशील बनाउनुपर्ने छ, उत्पादनमा जोड दिनुपर्ने हुन्छ, प्राकृतिक स्रोतको उपयोग बढाउनुपर्छ तर यही गति र मतिमा चल्ने हो भने यस (सरकार) ले राम्रो परिणाम ल्याउँदैन’, उनले भने, ’नेपाली जनताका अगाडि धेरै विकल्प छैन, यस्तै हो भने नेपाली काँग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार निमाण गरौं समयमै ।’
प्रतिनिधिसभा बैठकमा काँग्रेसको नेतृत्वमा सरकार गठन गर्नुपर्ने माग पहिलो पटक उठेको हो । यसअघि शेखर समूहले सरकारको चर्को विरोध गर्दै आएपनि औपचारिक फोरममा भने मुख खोलेको थिएन ।
टिप्पणीहरू