माग सम्बोधनबारे रामकुमारी झाँक्रीले महाधिवेशन कुर्ने
नेकपा एकीकृत समाजवादीले सञ्चालन गरेको समाजवादी जागरण अभियान जनतामा पार्टीप्रतिको स्वीकार्यता बढाउँदै सकारात्मक सन्देशसहित अगाडि बढेको पार्टी सचिव एवम् पूर्वमन्त्री रामकुमारी झाँक्रीले बताएकी छन् ।
अभियानमा सामेल हुन आज काठमाडौंबाट धनगढी पुगेपछि समाजवादी प्रेस संगठन नेपाल, सुदूरपश्चिम प्रदेश कमिटीले गरेको कार्यक्रममा सञ्चारकर्मीहरुसँग उनले सो जानकारी दिएकी हुन् । अभियानका क्रममा नेतृत्वले झापाको काकँडभिट्टादेखि सुदूर पश्चिमका जनतासँग नेतृत्वले अन्तरक्रिया गर्ने मौका पाएको उल्लेख गर्दै भनिन्, ‘यसबाट पार्टी निर्माण, विचारधारात्मक विकास तथा रणनीतिक क्रियाशीलताका निम्ति नेतृत्वलाई प्रेरणा प्राप्त भइरहेको छ । सोही उत्साहका कारण सुदूरपश्चिम तथा कर्णाली प्रदेशका कार्यक्रममा सरिक हुन् धनगढी आइपुगेको हुँ ।’
पार्टी अभियानले एकीकृत समाजवादी अरु दलभन्दा फरक ढंगले अघि बढ्छ भन्ने सन्देश दिएको उनको भनाई छ । विद्यमान वैधानिक संरचना नेकपा (एमाले) को आठौं महाधिवशनले तय गरेको विधानअनुसार रहेकाले त्यसले नेतृत्वमा नयाँ पुस्ताको उपस्थिति, भूमिका र क्रियाशीलतालाई सहज नबनाएको उनको ठहर छ । पार्टीले त्यसलाई संशोधन गर्नुपर्नेमा कुनै विकल्प नभएको उनले बताइन् ।
हालै सम्पन्न पार्टी केन्द्रीय कमिटी बैठकमा आफूले पार्टी संगठनमा सुधार गर्नुपर्ने सबै विषय राखेको पनि जानकारी दिइन् । तर आफ्ना जायज मागहरुको कार्यान्वयन हुने, नहुने भन्ने सम्बन्धमा आफू आगामी माघमा हुने महाधिवेशनसम्म प्रतिक्षारत रहने बताइन् ।
टिप्पणीहरू