दशैंअघि खसीबोका, त्यसपछि चिनी

दशैंअघि खसीबोका, त्यसपछि चिनी

सरकारले यो वर्षको दशैंका लागि खसीबोका र च्याङ्ग्रा भित्र्याउने तयारी थालेको छ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैं–तिहार लक्षित दुई हजार खसीबोका र एक हजार च्याङ्ग्रा ल्याउन लागेको जानकारी दिएको छ । 

कम्पनीको सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार अघिल्ला वर्षझैं यस वर्षपनि दशैंमा सर्वसाधारण उपभोक्तालाई सुपथ मूल्यमा खसी, बोका र च्याङ्ग्रा उपलब्ध गराउन कम्पनीले आवश्यक प्रक्रिया अघि बढाइसकेको छ । 

दशैंमा सबैभन्दा बढी खपत मासुको हुने गरेको छ । माग उच्च भएपछि व्यापारीहरुले मनपरी मूल्य लिन्छन् । त्यसकारण बजार हस्तक्षेप गर्न केही मात्रामा भएपनि खसी, बोका र च्याङ्ग्रा ल्याउन लागेको उनले बताइन् ।  

‘यस वर्षको दशैंमा दुई हजार खसीबोका र एक हजार च्याङ्ग्रा ल्याउने तयारी छ । त्यसको निम्ति कम्पनीले आवश्यक प्रक्रिया अघि बढाइसकेको छ,’ उनले भनिन्, ‘खसी, बोका र च्याङ्ग्रा ल्याउन आठ करोड ३६ लाख ४० हजार बजेट छुट्याइएको छ ।’

न्यौपानेले बजारको मागअनुसार खसी, बोका र च्याङ्ग्राको संख्या थपघट हुनसक्ने समेत बताइन् । भनिन्, ‘अहिले तीन हजार ल्याउने तयारी छ । तर, बजारको मागअनुसार संख्यामा थपघट पनि हुनसक्छ । माग नै भएन भने धेरै ल्याउने कुरा पनि हुँदैन । माग बढ्यो भने कम्पनीले थप ल्याउँछ ।’

गत वर्षमा भारत र तिब्बतबाट खसी, बोका र च्याङ्ग्रा ल्याउने गरेकोमा यो वर्ष स्वदेशी उत्पादनबाटै माग धान्ने तयारी भइरहेको न्यौपानेले बताएकी छन् । यस पटक हेटौंडा, दाङ, धादिङ, मकवानपुरबाट खसीबोका किन्ने योजना रहेको बताइन् । त्यस्तै, च्याङ्ग्रा भने मनाङ र मुस्ताङबाट पनि ल्याइनेछ ।

स्थानीय निकाय उपभोक्ता समूहमार्फत खसी, बोका र च्याङ्ग्रा संकलन कार्य थालिसकेको जानकारी दिँदै उनले सकभर घटस्थापनाको अघिल्लो दिनसम्म काठमाडौं ल्याएर त्यसको भोलिपल्टदेखि बिक्री वितरण थालिने योजना बनाइएको बताइन् । काठमाडौंको थापाथलीस्थित खाद्य कम्पनीको बिक्री केन्द्रबाट खसी, बोका र च्याङ्ग्रा बिक्रीवितरण गरिने छ । 

गत वर्ष कम्पनीले २३ सय खसी, बोका र च्याङ्ग्रा खरिद गरेको थियो । खसी र बोकाको सहुलियत मूल्य प्रतिकिलो ६ सय ८० तोकिएको थियो भने च्याङ्ग्राको १ हजार २ सय ५० तोकिएको थियो । 

खाद्य कम्पनीले बजार मूल्यभन्दा प्रतिकिलो १० रुपैयाँसम्म सस्तोमा खसी, बोका र च्याङ्ग्रा बिक्री गर्दै आएको छ । यसबाट तीन–चार सय रुपैयाँसम्म सस्तो पर्ने कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने बताउँछिन् । 

यता, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार निजी व्यवसायीले भने ५० हजार खसीबोका ल्याउने निर्णय गरिएको छ । 

‘निजीले ५० हजार खसीबोका र खाद्यले तीन हजार खसी, बोका र च्याङ्ग्रा ल्याउने निर्णय गरेको छ । उत्पादनमा वृद्धि भएका कारण विदेशबाट आयात गर्नुपर्ने अवस्था छैन । हामीले पनि स्वदेशी उत्पादनलाई नै प्राथमिकता दिन भनेका छौं,’ उनले भने  ।

दशैंका लागि सहुलियत पसल

सरकारले दशैं–तिहारलाई लक्षित गरेर विगतका वर्षमा झैं यो वर्ष पनि मुलुकभर सहुलियत पसल सञ्चालन गर्ने निर्णय गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको गत असोज ९ गते बसेको बैठकले दशैं, तिहार र छठ पर्व लक्षित सहुलियतपूर्ण पसल असोज २१ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । 

आगामी मंसिर ३ गतेसम्म सञ्चालन हुने त्यस्ता पसलमा २२ प्रकारका उपभोग्य वस्तुमा २ रुपैयाँदेखि ५० रुपैयाँसम्म छुट पाउने सकिने मन्त्रालयले जनाएको छ । 

जसअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट टे«ेडिङ र दुग्ध विकास संस्थान गरी तीन निकायले ९८ स्थानमा सहुलियतपूर्ण पसल सञ्चालनमा ल्याउने छन् । 

खाद्य कम्पनीले काठमाडौंको थापाथली, रामशाहपथ, ललितपुरको नख्खु र भक्तपुरको सूर्यविनायक गरी चार स्थानमा सहुलियत पसल सञ्चालन गर्ने छ । 

त्यस्तै, उपत्यका बाहिर ४१ स्थानका बिक्री स्थलबाट सहुलियत सेवा दिइनेछ । साल्ट टे«डिङ कर्पोरेसन लिमिटेडले उपत्यकाका ८ वटा बिक्री केन्द्र र ३ वटा घुम्ती पसलमार्फत् सहुलियत पसल सञ्चालन गर्नेछ । 

डीडीसीले भने लैनचौर, न्यूरोड, विराटनगर, जनकपुर, हेटौंडा, कोहलपुर, नेपालगञ्ज, अत्तरिया, धनगढी, बुटवल गरी जम्मा ११ स्थानबाट सहुलियत सेवा उपलब्ध गराउने जानकारी दिएको छ । 

सहुलियत पसलमा कम्तीमा २ रुपैयाँदेखि बढीमा ५० रुपैयाँसम्म छुट पाइनेछ । खाद्य कम्पनी, साल्ट टे«डिङ र दुग्ध विकास संस्थानले दिने छुट फरक फरक रहेको छ । 

खाद्य कम्पनीबाट वितरण हुने सबै किसिमका चामल, दाल, गहुँ, आँटा, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर, भटमासको तेल, चिउरामा प्रतिकेजी र प्रतिलिटरमा ७ रुपैयाँ छुट दिइने छ । 

कर्णालीको सिमी, गेडागुडी, फापरको दाना, चिनो कागुनो र उवामा भने प्रतिकिलो १० रुपैयाँ सहुलियत पाइनेछ । यस्तै, साल्ट टे«डिङबाट वितरण हुने नुनमा प्रतिकेजी २ रुपैयाँ, तेल र चिउरामा प्रतिकेजी ७ रुपैयाँ छुटको व्यवस्था गरिएको छ । 

चिनीमा पनि छुटको व्यवस्था गरिएको छ । साल्ट ट्रेडिङले अहिले चिनी ९७ रुपैयाँ प्रतिकिलो बिक्री गरिरहेको र यसलाई निरन्तरता दिन प्रयास गर्ने मन्त्रालयले जनाएको छ । 

दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो २० रुपैयाँ, पनिरमा प्रति २ सय ग्राममा २० रुपैयाँ तथा ५ सय ग्राममा ५० रुपैयाँसम्म छुट पाइने मन्त्रालयले बताएको छ ।

टिप्पणीहरू