कमल थापाले अब राजा नछोड्ने, सञ्चार माध्यमले विदेशीको पैसा खाएको आरोप
राप्रपाको अध्यक्ष हुन नपाएपछि राजा नमान्ने घोषणा गरेर एमालेबाट चुनाव लडेका कमल थापा पुनः राजसंस्था पुनस्र्थापनाको बाटोमा फर्किएका छन् ।
चुनावमा देशैभरबाट १० हजार भोट कटाउन नसकेपछि त्यतिबेलै पुरानै बाटोमा फर्किने मन बनाएका उनी क्रमश: खुल्न थालेका हुन् । पुर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई राप्रपाको अध्यक्ष हुन नदिएको आरोप लगाएर राप्रपा नेपाल ब्युँताएका उनी अहिले आन्दोलनमा छन् । राप्रपा नेपाल ब्युँताएपछि एमालेसँग हिमचिम बढाएका उनी सूर्य अंकित झण्डा बोकेर 'अब लोकतन्त्रको बिकल्प छैन' भन्दै चुनावमा भोट माग्न हिँडेका थिए ।
त्यसबेला सार्वजनिकरुपमै दर्जनौँ पटक आफू राजतन्त्रको पक्षमा नलाग्ने घोषणा गरेका थापा राजेन्द्र लिङ्गदेनको राप्रपाले राजा फर्काउने एजेण्डा बिकाएर चुनाव जितेपछि अन्तत: पुरानै बाटोमा मोडिएका उनी अहिले 'भ्रष्ट गणतन्त्रको विकल्प खोज्ने' भन्दै आन्दोलनमा लागेका हुन् । उनको पार्टीले राजसंस्थालाई कार्यनीति बनाउने निर्णय केन्द्रिय समितिबाट गरिसकेको छ । थापाले पूर्वराजा लक्षित विगतका आफ्ना टिप्पणीप्रति पछिल्ला दिनमा घुमाउरो प्रायास्चित गर्ने गरेका छन् । आज बिहानै सामाजिक संजाल ट्विटरबाट आफ्नो भावना ब्यक्त गर्दै उनले राजाप्रतिको गुनासो आफ्नो ठाउँमा रहने तर, त्यसलाई गौण रुपमा नलिने अभिव्यक्ति सार्वजनिक गरे ।
सबै गुनासा र चित्त दुखाईलाई तपसिलमा राखेर आन्दोलनमा जाने र हालको व्यवस्थाको बिकल्प खोज्नेसमेत बताएका थापाले शिर्ष नेता र सञ्चार माध्यममाथि बेसरी खनिएका छन् । नेता र सञ्चार माध्यमले विदेशीको पैसा खाएर राष्ट्रियता बेचेको उनको गम्भीर आरोप छ ।
'राजाप्रतिको मेरो गुनासो, असन्तुष्टि आफ्नो ठाउँमा छ । तर, जब देशका प्रमुख राजनीतिक दलका शीर्षनेताहरू र कतिपय चल्तिका आमसञ्चार माध्यमहरु समेत आफ्नो स्वाभिमान र आत्मसम्मानलाई बिदेशीको पैसासँग साटी रहेको देख्छु, म अत्यन्त चिन्तित हुन्छु', उनले लेखेका छन्, 'अनि नेपालमा राजसंस्थाको अपरिहार्यता महसुस गर्दछु ।'
टिप्पणीहरू