तीन वर्ष लडेर अन्तिममा बधाई

तीन वर्ष लडेर अन्तिममा बधाई

अन्ततः स्याङ्जालीले झापालीसँग लडाइँ हारेका छन् । तीन वर्षदेखि शुरु भएको सांगीतिक क्षेत्रका दुई हस्तीबीचको लडाइँमा अदालतले झापाली गायकको पक्षमा निर्णय सुनाइदिएको छ । 

वर्षाैँ देखि प्रोड्युसर सुवाष रेग्मी र गायक प्रमोद खरेलबीच चलिरहेको मुद्दामा जिल्ला अदालत काठमाडौंले शुक्रवार खरेलको पक्षमा फैसला सुनाएको हो । जिल्ला न्यायाधीश उत्तम सिलवालको इजलासले विन्ध्यवासिनीका सञ्चालक लीला शर्मा रेग्मी र सुवास रेग्मीलाई प्रतिलिपि अधिकार उल्लंघनको विषयमा दोषी ठहर गर्दै उनीहरूमाथि सजायँ निर्धारणका लागि फेरि सुनुवाइ हुने फैसला सुनाएको छ । 

उनीहरूबीच लफडाको जड हो प्रणय नामको एल्बम । याद गर्न पनि त कोही न कोही चाहिँदो रहेछ बोलको गीत गाएसँगै प्रमोदले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । ०६७ सालमा निकालिएको प्रणय नामक एल्बमको निहुँमा यो प्रकरण प्रहरी हुँदै अदालतसम्म पुगेकोमा जिल्ला अदालतले सुवास र उनकी पत्नीलाई दोषी ठहर गरेको हो ।

यद्यपि, सुवासको आफ्नै दाबी छ, १३ वर्ष प्रमोदलाई कसैले चिन्दैनथ्यो, उनलाई प्रमोद बनाउने मै हुँ (विन्ध्यवासिनी हो ) । संगीतकार महेश खड्काकै सम्बन्धका आधारमा आफूले प्रमोदमाथि लाखौं लगानी गरेर अडियो भिडियो तयार गरेको र सोही गीतबाट प्रमोदले लाखौं रोयल्टी बुझेको, अहिले आफ्नो कम्पनीले लगाएको गुनलाई घुन सम्झिएको । । आफ्नो लगानी रहेको एल्बम देश÷विदेशको स्टेज कार्यक्रममा अनुमतिविना प्रयोग गरी प्रमोदले मनग्य आर्जन गरेको आरोप लगाउँदै सुवास एक करोड क्षतिपूर्ति मागसहित प्रतिलिपि रजिष्ट्रारको कार्यालय गुहार्न पुगेका थिए । 

०७७ सालमै आफूमा निहित प्रतिलिपि अधिकारको विन्ध्यवासिनी म्युजिक प्रालिले दुरूपयोग गरेको भनी प्रमोदले प्रहरीमा जाहेरी दिएका थिए । त्यसका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा चलाएको थियो । प्रमोदले बिनाअनुमति आफूले तयार पारेको गीत÷संगीत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्टेजमा प्रयोग गरिरहेको सुवासहरूको आरोप थियो । सोही विषयमा गीतकार, गायक र सर्जकहरू प्रमोदकै पक्षमा उभिएका हुन् ।

सुवासका अनुसार, एल्बममा समावेश गीत तथा भिडियो निर्माणका लागि विन्ध्यवासिनी म्युजिकले प्रमोदलाई ४ लाख १० हजार रूपैयाँ नगद दिएको थियो । एल्बमको सर्वाधिकार पाँच वर्षसम्म विन्ध्यवासिनीसँग रहने दुईपक्षीय सहमति थियो । विन्ध्यवासिनी म्युजिकले एल्बम बिक्री गरेर उक्त लगानी सुरक्षित गर्ने पनि त्यसैमा उल्लेख थियो । सम्झौतामा लगानी सुरक्षित नभएसम्म एल्बमबाट आएको पैसामा प्रमोदले दाबी गर्न नपाउने लेखिएको सुवासको दाबी छ ।

लगानी सुरक्षित भएपछि भने आम्दानी रकम प्राप्त भएको एक महिनाभित्र फरफारक हुनुपर्ने सहमति रहेको र प्रमोद र विन्ध्यावासिनी म्युजिकबीचको सम्झौता २०७१ साल चैतमा सकिएको सुवासको जिकिरले अदालतमा काम गरेन । आफ्नो कम्पनीले निर्माण गरेको गीत–संगीत बिनाअनुमति प्रमोदले स्टेजमा गाउँदै हिँडेको भन्दै रेग्मीले १ करोड क्षतिपूर्ति माग राखेर उजुरी दिएकोमा अन्त्यमा अदालतले प्रमोदको पक्षमा फैसला सुनाएपछि सुवासले सामाजिक सञ्जालबाटै प्रमोदलाई बधाई दिएका छन् । 
 

टिप्पणीहरू