नियम विपरित शिक्षक सरुवापछि धादिङमा ठूलै तरंग, एमालेको चर्को विरोध

नियम विपरित शिक्षक सरुवापछि धादिङमा ठूलै तरंग, एमालेको चर्को विरोध

-शंकर श्रेष्ठ

धादिङको शिद्धलेक गाउँपालिकाले शिक्षा ऐन विपरित शिक्षकहरुको साटफेर गरेको छ । गाउँपालिकाभित्रका १० वटा विद्यालयका ११ जना शिक्षकलाई सरुवा गरेर विद्यालय साटफेर गराएको घटना बाहिरिएको छ ।

सम्बन्धित विद्यालय र शिक्षकको सहमति बेगर एक विद्यालयबाट अर्काे विद्यालयमा शिक्षक हेरफेर गराएको भन्दै आलोचना हुन थालेको छ । हेरफेर गर्नेपर्ने अवस्था आए शिक्षकको सरुवा प्रत्येक शैक्षिक सत्रको पहिलो महिना मात्र गर्न पाइने सिद्धलेक गाउँपालिकाको शिक्षा नियमावली २०७४ मा उल्लेख छ । तर पठनपाठन सुरु भएको चार महिनापछि गराइएको शिक्षक हेरफेरको विषयले पालिकाभित्र तरंग ल्याएको बताइन्छ ।

शिक्षक हेरफेरले कुनै विद्यालयको दरबन्दी नै रित्तो भएको छ भने केहीमा एउटै विषयका छ जनासम्म शिक्षक थुपारिएको छ । पञ्चमुखी माध्यमिक विद्यालयमा गणित विषयको राहत दरबन्दी नै खाली गराएर सिद्धेश्वर माध्यमिक विद्यालयमा गणित विषयको मात्रै छ जना पुर्याइएको छ । पञ्चमुखीमा गणित शिक्षक एउटै बाँकी नरहँदा शिद्धेश्वरमा गणितका शिक्षकले अन्य विषय पढाउनुपर्ने अवस्था आएको छ । यसले पनि राजनीतिक प्रतिशोधकै कारण शिक्षक हेरफेर गरिएको पुष्टि गराएको एकथरीले बताएका छन् ।

हेरफेर गराइएका १० वटा विद्यालयका १३ जना शिक्षकमध्ये छ वटा विद्यालय र चार जना शिक्षकले असहमति जनाउदै विद्यालय र सम्बन्धित निकायमा निवेदन दिएका छन् । जलेश्वरी माध्यमिक विद्यालयबाट गोल्मरानी आधारभूत विद्यालयमा सरुवा गराइएकी प्राथमिक स्थायी शिक्षक आरतीदेवी रेग्मीले सरुवाप्रति असहमति रहेको जनाउँदै विद्यालयमा निवेदन दिएकी छन् ।

‘हस्तक्षेपकारी ढंगबाट मेरो मञ्जुरीबिना गोल्मरानी आधारभूत विद्यालयमा सरुवा गरिएकोमा यो प्रक्रियामा मेरो पूर्ण असहमति रहेको जानकारी गराउँदछु । साथै कार्यरत विद्यालयमा नै रही अध्यापन गराउने दृढ संकल्प गर्दछु’, रेग्मीले निवेदनमा भनेकी छन् । गोल्मरानी आविमा अध्यापन गराइरहेकी प्राथमिक स्थायी शिक्षक निर्मला आचार्यलाई नागेश्वरी आधारभूत विद्यालयमा सारिएको छ । घर पायक बनाएर सारिएको उनीहरुको तर्क छ ।

सुन्दरी माध्यमिक विद्यालयबाट समिटार आधारभूत विद्यालयमा सरुवा गराइएका प्राथमिक स्थायी शिक्षक रामप्रसाद अर्यालले पनि असहमति जनाएका छन् । उनलाई समिटार आधारभूत विद्यालय पठाएपछि सुन्दरी माध्यमिक विद्यालयको भने दरबन्दी नै खाली भएको छ ।

रेग्मी र अर्यालले जस्तै सरुवापत्र थमाइएका बलदेवी आधारभूत विद्यालय सिद्धलेक–१ बाट मनकामना आधारभूत विद्यालय सिद्धलेक–५ पठाइएका प्राथमिक राहत शिक्षक पवित्रा सिलवाल र वलदेवी आधारभूत विद्यालयबाटै अमरआदर्श माध्यमिक विद्यालय सिद्धलेक ३ पुर्याइएका प्राथमिक स्थायी शिक्षक रामहरि खनालले पनि असहमति जनाउँदै सम्बन्धित निकायमा निवेदन दिएको बताएका छन् ।

सिद्धलेक गाउँपालिकाको शिक्षा नियमावली २०७४ अनुसार एक पटक सरुवा भएको शिक्षकलाई सोही विद्यालयमा दुई वर्ष सेवा पूरा नगरी सरुवा गर्न पाइने छैन । तर, बलदेवी आविका प्राथमिक स्थायी शिक्षक रामहरि खनाललाई गत वैशाख महिनामा जलेश्वरी आवि पठाइयो । पुनः अमर आदर्श मावि सरुवाको चिट्ठी थमाइएको हो । खनाल नेपाल राष्ट्रिय शिक्षक संगठन सिद्धलेकका उपाध्यक्ष हुन् ।

बलदेवी आविकै प्राथमिक राहत शिक्षक पवित्रा सिलवालले वैशाखमा सरुवा सहमति मागेर सुन्दरी माविमा जाने गरि दुवै विद्यालयको सहमति भएपनि तीन महिनामा राहत सरुवा गर्न नमिल्ने भन्दै सहमति नदिएको गाउँपालिकाको शिक्षा शाखाले अहिले मनकामना आविमा सरुवा गरिएको पत्र दिएको छ । मनकामना आविमा पठनपाठन गराइरहेका पवित्रा दर्लामीलाई बलदेवी आवि पुर्याइएको बताइन्छ ।

त्यस्तै असहमति जनाउने विद्यालयहरुमा सिद्धलेक–६ को समिटार आवि, गोल्मरानी आवि, सुन्दरी मावि, सिद्धलेक–४ को जलेश्वरी मावि, सिद्धलेक–३ को पञ्चमुखी मावि र आमरआदर्श मावि छन् ।

समिटार आविमा चार महिनाअघि गत चैत २८ गते नियुक्त भएका प्राथमिक स्थायी शिक्षक प्रकाश मल्ललाई नलाङ पात्ले माविमा पदस्थापन गराइएको छ ।

शिक्षक सरुवाको विषयमा एमालेको आपत्ति

साउन २५ गतेको सिद्धलेक गाउपालिकाको निर्णयानुसार भनिएको शिक्षक सरुवाको विषयलाई लिएर नेकपा एमालेले आपत्ति जनाएको छ । एमाले सिद्धलेक गाउँ कमिटीले सोमबार जिल्ला शिक्षा समन्वय इकाइमा आफ्ना मागहरुसहित ज्ञापनपत्र बुझाएको छ ।

शिक्षण सिकाई अनुदान वितरणमा देखिएको अनियमितता र नियम विपरितका सम्पूर्ण हर्कतहरुप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । ऐन, कानून, कार्यविधि र निर्देशिका विपरीत गरिएका शिक्षकहरुको सरुवामा रोक र मनोमानी ढंगबाट गरिएको शिक्षण सिकाइ अनुदान वितरण सच्याउन माग गरिएको एमाले सिद्धलेक गाउँ कमिटी अध्यक्ष कमला शर्माले बताइन् । विभिन्न विद्यालयका दरबन्दी कटौती गर्ने अव्यवहारिक निर्णय फिर्ता नलिए आन्दोलन गर्न बाध्य हुने उनको चेतावनी छ । 

स्थायी शिक्षक सरुवा भएर जाने र आउने दुवै तर्फका विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णय र विद्यालय व्यवस्थापन समिति अध्यक्षको हस्ताक्षरसहित सरुवा सहमति लिई शिक्षा विकास तथा समन्वय इकाइमा निवेदन दिनुपर्ने व्यवस्था छ । सोही निवेदनका आधारमा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखले सरुवा गर्नुपर्ने व्यवस्था छ । तर, सरुवा भई जाने र आउने शिक्षकहरुबाट सम्बन्धित विद्यालयमा सरुवा सहमति माग नभएको र विद्यालयको तर्फबाट सहमति नभएकाले शिक्षक सरुवा नियम विपरित भएको ठहर गरिएको हो । समन्वय इकाइ प्रमुखले सरुवा नगरेको, सम्बन्धित शिक्षकको इच्छा विपरीत र मौजुदा कानून विपरीत रहेकाले पनि नियम विपरित ठहरिएको एमाले सिद्धलेकका सचिव रामहरि बराकोटीले बताए ।

शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि २०७६ अनुसार दरबन्दी मिलान गर्दा विद्यालयमा न्यूनतम दरबन्दीको सुनिश्चितता गर्दै नपुग भएमा थप गर्नुपर्ने र बढी भएमा कट्टा गर्नुपर्ने अवस्था छ । राहत शिक्षकको सरुवा सम्बन्धमा विद्यमान मौजुदा शिक्षा ऐन नियमावलीमा कुनै व्यवस्था छैन ।

टिप्पणीहरू