पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षमाथि कालोमोसो दल्ने नेविसंघका नेता कारवाहीमा

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षमाथि कालोमोसो दल्ने नेविसंघका नेता कारवाहीमा

नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. महेश दाहालमाथि कालोमोसो दलेको भन्दै आफ्ना विद्यार्थी नेतालाई कारबाही गरेको छ । 

विश्वविद्यालयभित्र देखिएको समस्या समाधान गर्न चासो नदेखाएको भन्दै गत जेठ २९ गते नेविसंघका कार्यकर्ता तथा विद्यार्थी नेताले आयोगका अध्यक्ष महेश दाहालमाथि क्वार्टरमै पुगेर कालोमोसो दलेका थिए । उक्त कार्यको निन्दा गर्दै नेविसंघले घटनाको सत्यतथ्य छानबिन गर्न समिति समेत गठन गरेको थियो । 

आज विज्ञप्ति जारी गर्दै नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले छानबिनको क्रममा संगठनमा आबद्ध केही व्यक्तिहरुको पनि संलग्नता रहेको पुष्टि हुन आएकोले उनीहरुलाई निलम्बित गरिएको जानकारी दिएका हुन् । उनले मागहरु जायज भएपनि कालोमोसो दल्नु नेविसंघको आदर्श, मूल्यमान्यता विपरीत भएकोले क्षमा नहुने बताएका छन् । 

‘कालोमोसो दल्ने जस्तो खेदजनक कार्य नेविसंघको आदर्श, मूल्यमान्यता विपरीत भएको हुँदा यस्ता कार्यमा क्षमा नहुने जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘पूर्वाञ्चल विश्वविद्यालयको घटना नेविसंघमा आबद्ध केही व्यक्तिहरुको संलग्नता पुष्टि भएको हुँदा नेपाल विद्यार्थी संघको विधान, २०२७ (सातौं संशोधन २०७५) बमोजिम अनुसन्धानको कारबाही गरी केहीलाई निलम्कित गरिएको छ भने केहीलाई नसियत दिइएको छ ।’

अध्यक्ष शेर्पाले संघका नाममा हुने कुनै पनि विधि विधान र पद्धति विपरीत गतिविधि नगर्न नगराउन आग्रह गर्दै यस्ता गतिविधि गर्ने जो कोहीलाई पनि विधान बमोजिम कारबाही गर्न बाध्य हुने पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।
 

टिप्पणीहरू