निर्वाचन खर्च विवरणको प्रक्रिया थाहा भएन : परराष्ट्रमन्त्री

निर्वाचन खर्च विवरणको प्रक्रिया थाहा भएन : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री तथा नेपाली काँग्रेसका नेता नारायणप्रसाद (एनपी) साउदले निर्वाचन खर्च विवरण सार्वजनिक गरेर आयोगलाई जानकारी गराउनुपर्ने प्रक्रियाबारे आफू अञ्जान रहेको बताउनुभएको छ । उहाँले आज दोहोर्याएर खर्च विवरण सार्वजनिक गर्दै उक्त भनाई राख्नुभएको हो । मन्त्री साउदले गत मंसिर २५ गते निर्वाचन आयोगमा खर्च विवरण बुझाएको बताएपनि आज पुनः सामाजिक सञ्जालमार्फत् सोही खर्च विवरण सार्वजनिक गर्नुभएको छ । 

मन्त्रीको भनाई छ, ‘मैले निर्वाचन आयोगमा मिति २०७९–८–२५ मा आफ्नो खर्च विवरण बुझाइसकेको थिएँ । बुझाएको विवरण सार्वजनिक गरेर आयोगलाई समेत त्यससम्बन्धी जानकारी गराउनुपर्ने रहेछ । यसअघि निर्वाचन कार्यालय कञ्चनपुरमा बुझाइसकेको निर्वाचन खर्च विवरण सामाजिक सञ्जाल, कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने कृष्णपुर नगरपालिकाको सूचना पाटी, जिल्ला निर्वाचन कार्यालय, कञ्चनपुरको सूचना पाटीसंगै सामाजिक सञ्जालमार्फत पुनः सार्वजनिक गरेको छु ।’

खर्च विवरणमा निर्वाचनमा २१ लाख ५९ हजार ४२८ रुपैयाँ खर्च गरिएको उल्लेख छ । जसमा उम्मेदवारी दर्ताबापत १० हजार, मतदाता नामावली खरिद एवम् प्रिन्टबापत एक लाख ५५ हजार, इन्धनबापत ६ लाख ७ हजार ८०२, सवारी साधन भाडाबापत दुई लाख रुपैयाँ खर्च भएको बताइएको छ । 
त्यसैगरी, प्रतिबद्धता, भिजिटिङ कार्डलगायत छपाईमा पाँच लाख एक हजार ७५०, मतदाता शिक्षा कार्यक्रमका लागि तीन लाख ५० हजार, प्रचारप्रसार सामग्री खरिदका लागि एक लाख ५५ हजार दुई सय, स्टेशनरीमा ५४ हजार ४५० र ढुवानीका लागि ५५ हजार रुपैयाँ खर्च भएको उल्लेख छ । 

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको खर्च विवरण सार्वजनिक गरेपछि त्यसको सार्वजनिक जानकारी नगराएका एक हजारभन्दा बढी प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारलाई आयोगले हालै जरिवाना गर्ने निर्णय गरेको थियो । त्यसपछि अधिकांशले धमाधम निर्वाचन खर्च सार्वजनिक गरेर आयोगलाई जानकारी गराइरहेका छन् ।
 

टिप्पणीहरू