भ्रष्टाचारी समातिँदा उल्टै विपक्षीको विरोध : सांसद पौडेल
सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सुन तस्करीसहित भ्रष्टाचारमा दोषी देखिएकालाई कारबाही गर्दा सांसदहरु खुशी हुनुपर्नेमा उल्टै अनुसन्धान प्रक्रियालाई नै असर गर्नेगरी विरोध जनाइएकोमा असन्तुष्टी जनाएका छन् ।
प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै उनले भ्रटाचारका विषयमा कसैको अनुहार नहेरी कारबाही गर्न पनि माग गरेका छन् । ‘कसैको अनुहार हेर्न जरुरी छैन । सरकार अघि बढोस् । बाँकी रहेका उठेका कतिपय प्रश्नहरुको बारेमा पनि सरकारले छानबिन गरेर व्यक्तिको अनुहार हेर्ने होइन । उसको काम, तरिका, शैली, गल्तीलाई हेरेर राज्यलाई सुशासनको प्रत्याभूति दिनेगरी अघि बढ्न अनुरोध गर्दछु,’ सांसद पौडेलले भने ।
भ्रष्टाचार र तस्करीमा संलग्न भएकालाई कारबाही गर्न खोजेको सरकारको कामलाई समर्थन गर्नुपर्ने भन्दै उनले भने, ‘ठूला साना मान्छे होइन, दोषीलाई कारबाही गर्दा माननीयहरु खुशी हुनुपर्ने हो नि ! सरकारको यो प्रयत्नलाई सलाम भन्न चाहन्छु ।’
सम्पत्ति शुद्धीकरणलगायतका विषयमा पनि छानबिन हुनुपर्ने माओवादी केन्द्रका सचिवसमेत रहेका पौडेलको माग छ ।
टिप्पणीहरू