गौर हत्याकाण्डका दोषीलाई उम्क्याउन सत्तारुढ पार्टीहरुले घाँटी जोडेको आरोप

गौर हत्याकाण्डका दोषीलाई उम्क्याउन सत्तारुढ पार्टीहरुले घाँटी जोडेको आरोप

पूर्वमाओवादी नेता प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले गौर हत्याकाण्डका दोषीलाई कानूनी दायरामा ल्याउन माग गरेको छ । 

मंगलबार अध्यक्ष प्रभु साहमाथि कारवाहीको माग गर्दै रौतहटका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र लोसपा गरी ६ दलले संयुक्त विरोध  प्रदर्शन गरेपछि आजपाको यस्तो प्रतिक्रिया आएको हो । सत्तारुढ पार्टीहरु एकजुट भएर हत्याकाण्डका दोषीलाई बचाउन खोजेको आजपाको दावीसमेत छ । 

उक्त प्रर्दशनप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आजपाले गौर हत्याकाण्डका पीडितहरुले न्याय पाउने सम्भावना बढेसँगै दोषीहरु आतंकित भई हताश मनोविज्ञानका साथ यसरी संगठित भएको बताएको छ । 

‘आम जनताको कुनै हक अधिकार वा पीडितहरुलाई न्याय दिलाउन एकजुट हुनुको सट्टा आज एकाएक विगत १७ वर्षदेखि अनवरत न्यायको पखाईमा रहेका वीभत्स गैर हत्याकाण्डका पीडितहरुले न्याय पाउने सम्भावना बढेसँगै हत्याकाण्डका अपराधी र तीनका संरक्षकहरु आंतकीत भई हताश मनोविज्ञानका साथ यसरी संगठित हुनुले पनि काफी कुराको संकेत गरिरहेको स्थित छ,’ आजपाले आज निकालेको विज्ञप्तिमा भनिएको छ ।

प्रवक्ता चन्द्रभूषण साहले सर्वोच्च अदालतसहित तीनै तहका न्यायालयबाट न्याय निरुपण हुँदा कहीँ कतै प्रभु साहको नाम निशानसमेत नआएको विषयमा पूर्वाग्रही भई कपोकल्पित, आधारहीन र झुठा आरोप लगाएर चरित्र हत्या गर्न खोजेको भन्दै खेद व्यक्त गरेका छन् । उनले सत्तारुढ गठबन्धनले लगाएको आरोपमा सत्यता भए प्रमाणित गरेर देखाउन खुल्ला चूनौतीसमेत दिए । 

‘यदि सत्तारुढ गढनबन्धले लगाएको आरोपमा थोरै पनि सत्यता छ भने यसलाई प्रमाणित गर्न आम जनता पार्टी खुल्ला चूनौती दिन चाहन्छ,’ विज्ञप्तिमा भनिएको छ,‘ हैन भने, यसरी पीडितहरुलाई अनन्तकालसम्म पीडित बनाइराख्ने सत्ताको उन्मादपूर्ण दुष्प्रयसालाई तुरुन्त बन्द गरी सार्वजनिक रुपमा माफी माग्दै गैर हत्याकाण्डका अपराधीलाई यथाशीघ्र कानूनी दायरामा ल्याउन मार्गप्रशस्त गरी सहयोग गर्न सम्बन्धित सबै पक्षहरुसँग जोडदार माग समेत गर्दछौं ।’

२०६३ मा मा रौटहटको गौरस्थित राइसमिलको चौरमा तत्कालीन मधेसी जनाधिकार फोरमका कार्यकर्ताको आक्रमणमा माओवादीका २७ जना कार्यकर्ता मारिएको घटना 'गौर हत्याकाण्ड' का रुपमा चर्चित छ । १६ वर्षअघिको उक्त हत्याकाण्डको छानबिन हुनुपर्ने माग गर्दै गत जेठमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएपछि यो विषय पुन: विवादमा आएको हो ।

तत्कालीन समयमा फोरमको अध्यक्ष रहेका उपेन्द्र यादव यस घटनामा दोषी रहेको प्रभु साहको दावी रहँदै आएको छ । रौतहटकै त्रिभुवन साह लगायतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् ।
 

टिप्पणीहरू