एमाले राजीनामा माग्ने, राप्रपाले जवाफ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेर झन्डै एक साता संसद अवरुद्ध पारेको प्रमुख प्रतिपक्षी नेकपा एमालेले फेरि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशशरण महतको राजीनामा माग्ने तयारी गरेको छ ।
त्रिभुवन विमानस्थलबाट भएको क्विन्टल सुन तस्करीमा दुवै जना मन्त्रीको संलग्नताको आरोप लगाउँदै एमालेले आज बस्ने प्रतिनिधिसभा बैठकमा दुई मन्त्रीको राजीनामाको विषय उठाउन लागेको हो । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे डाकिएको छ । त्यसअघि मध्यान्ह १२ बजे एमाले संसदीय दलको बैठक बस्दैछ ।
यता, संसदका गतिविधिमा फरक पहिचान देखाउन नसकेको आलोचना खेपिरहेको राप्रपाले सुन तस्करी प्रकरणमा भने एमालेलाई साथ नदिने भएको छ । राप्रपाले गृहमन्त्रीको राजीनामा नभई जवाफ माग्ने तयारी गरेको सो पार्टीका एक नेताले बताएका छन् ।
यसअघि एमालेले संसद अवरुद्ध बनाउँदा राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी एमालेलेको इशारामा चलेको धेरैले टिप्पणी गरेका थिए । राप्रपा र रास्वपाका सांसदहरुले प्रतिपक्षका रुपमा संसदमा आफूहरुको अलगै पहिचान रहेको स्पष्टिकरण नै दिनुपरेको थियो ।
टिप्पणीहरू