प्रधानमन्त्रीको राजीनामाबारे यस्तो थियो बालुवाटारमा सल्लाह

प्रधानमन्त्रीको राजीनामाबारे यस्तो थियो बालुवाटारमा सल्लाह

शेरबहादुर देउवाले भन्नुभयो, ‘भोट प्रभावी हुन्छ भनेर ऐन बनाएन भने शोषण रहिरहन्छ, यो त गर्नैपर्छ ।' एमालेलाई प्रधानमन्त्रीको राजीनामाको रन्कोले नछोड्दा संसद् चल्न पाएन मात्रै हैन, त्यही बहानामा मीटरब्याजसम्बन्धी विधेयकसमेत पारित हुन सकेन । सन्देश गएको छ, एमाले नै मीटरब्याजीको संरक्षणमा तल्लीन छ । त्यसपछि बसेको सत्तारुढ गठबन्धनका नेताहरूको बैठकमा देउवाले त्यसो भन्नुभएको हो । 

कांग्रेस सभापति देउवाले भन्नुभयो, ‘किन राजीनामा दिने ? अहिले यस्तो कुरै हुँदैन ।’ उहाँले मीटरब्याजीलाई कानुनी दायरामा ल्याउने र कारबाही गर्ने कुरामा ज–जसले अवरोध सिर्जना गरे पनि तराईमा सर्वसाधारणमाथि विद्यमान शोषणलाई अन्त्य गर्न पनि त्यो काम अगाडि बढाउनैपर्नेमा जोड दिनुभयो । बैठकमा चर्चा भयो, ‘प्रधानमन्त्रीलाई प्रश्न नसोधी एक्कासी संसद चल्न नदिने कुरा असहिष्णु भयो ।’ यसपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्दैन भनेर निर्णय भएको हो ।

प्रितम सिंहले प्रधानमन्त्री बनाउन दौडधुप गरेको प्रसंगमा प्रचण्डले भन्नुभयो, ‘२०६४ सालतिर छोरी ज्ञानुलाई क्यान्सर भएको थियो । उपचारका क्रममा दिल्ली जाँदा किन होटलमा बस्नुहुन्छ भनेर आफ्नै घरमा बस्न भने । त्यहीँदेखिको चिनजान हो ।’ प्रितम यातायात व्यवसायमा पनि एनपिएन (नेपाल पब्लिक मोटर सार्भिस) मार्फत वीरगञ्जदेखि नारायणगढ, काठमाडौं, भैरहवासम्म गाडी चलाएको इतिहास भएका र राजनीतिमा रुची भएका व्यक्ति हुनुका कारण उनीसँग निकट भएको प्रचण्डले भन्नुभयो । 

‘तपाईं फेरि नेपालको प्रधानमन्त्री बन्नुपर्छ । त्यसका लागि मैले कुराकानी गर्नुपर्छ भने गर्छु’, प्रितमले उहाँलाई भनेका थिए रे । छोरीलाई क्यान्सर लागेको बेला सहयोग गरेको गुण सम्झिएर त्यस्तो मान्छेले लेखेको किताब विमोचन गर्नु उपयुक्त लागेको र त्यहाँ जाँदा ती कुरा बोलेको चर्चा प्रचण्डले गर्नुभयो । तर, एकजना नेताले प्रचण्डलाई भने, ‘तपाईं बेलाबेलामा भावनामा बग्ने, अनि गल्ती गरेँ भनेर पनि छिट्टै स्वीकार्ने !’ 

चर्चाको अर्को विषय थियो, ललिता निवास प्रकरण । त्यसबारे विभिन्न समयमा आठ किसिमका निर्णय भएको कुरा उठ्यो । माधव नेपाल प्रधानमन्त्री रहनुहुँदा उक्त कार्यकालमा बालुवाटारस्थित प्रधानमन्त्री निवासलाई फराकिलो बनाउने कुरामा एउटा निर्णय भएको थियो । एकजना नेताले कुरा उठाए, ‘यस्तो कुरालाई भ्रष्टाचारसँग जोड्ने हो भने नेपालका कुनै पनि प्रधानमन्त्री बाँकी रहँदैनन् ।’ 

कसैकसैले बालुवाटारको कम्पाउण्डभित्र बाटो निकालेर जग्गाको भाउ बढाउन खोज्यो पनि भने । केपी ओलीले झापामा भ्यु टावर बनाउँदा उहाँका केही निकटस्थको जग्गाको मोल बढेको छ । एकजना नेताले प्रश्न गरे, ‘के त्यही नाममा ओलीलाई भ्रष्टाचारमा तान्ने ?’ 

उता, सरकार ढाल्ने एकसूत्रीय अभियानमा लाग्नुभएका एमाले अध्यक्ष केपी ओलीले बालकोटमा बाबुरामपक्षीय एकमात्र सांसद एवं मन्त्री महिन्द्रराय यादवलाई बोलाएको प्रसंगमा पनि बालुवाटारमा चर्चा भयो । भनियो, ‘महिन्द्रले ओलीले भनेको मान्नुहुने भए उहाँ पहिल्यै एमाले हुनुहुन्थ्यो, छाड्नुहुन्नथ्यो । अब अहिले जति प्रयास गरे पनि केही हुँदैन ।’

टिप्पणीहरू