रवि लामिछानेकै जस्तो ‘केस’ गृह मन्त्रालयमा दर्ता, हदैसम्मको कारबाही माग

रवि लामिछानेकै जस्तो ‘केस’ गृह मन्त्रालयमा दर्ता, हदैसम्मको कारबाही माग

विदेशको नागरिकता लिएपछि नेपालको नागरिकता स्वतः निस्क्रिय हुने नागरिकतासम्बन्धी कानुनमा प्रष्ट व्यवस्था छ । नेपालको नागरिकता परित्याग गरि विदेशमा ग्रीनकार्ड र पिआर लिएकाहरुले पुनः उताको छाडेर नेपाली नागरिकताको निम्तिसमेत निश्चित कानुनी शर्त र प्रक्रिया पूरा गर्नुपर्छ । रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गरेको फैसला यसको पछिल्लो उदाहरण हो, जुन नजिरका रुपमा स्थापित छ । 

रविले अमेरिकाको ग्रीनकार्ड लिएपछि निस्क्रिय भइसकेको यहाँको नागरिकता राखेर उम्मेदवारी मनोनयन दर्ता गरेपछि त्यसविरुद्ध अदालतमा मुद्दा परेको थियो । लामिछानेको सांसद पद खारेजीको माग गर्दै युवराज सफलले हालेको रिटमा सर्वोच्चले नागरिकता अवैध ठहर्याएपछि उनले सांसदसहित गृहमन्त्री पदसमेत गुमाएका थिए । नागरिकता जस्तो संवेदनशील विषयलाई हल्काफुल्का रुपमा बुझ्नुको परिणाम कति महँगो पर्दो रहेछ भन्ने तात्तातो उदाहरण हो यो । 

यस्तै प्रकृतिको एउटा मुद्दा अहिले गृह मन्त्रालयमा पुगेको छ । ताप्लेजुङ्गकी प्रमिला सावाँ मादेनले सोही ठाउँकि तारामती मादेनले दोहोरो नागरिकता लिएको दाबी गर्दै छानबिनका लागि गृहमा निवेदन दर्ता गराएकी छन् । तारामतीसँग हङकङ र नेपालको नागरिकता भएकाले उनले जुनसुकै बेला नेपालबाट रकम उता लैजाने अवस्था देखिएको भन्दै प्रमिलाले गृह गुहारेकी हुन् । 

मन्त्रालयको नीति योजना महाशाखामा दर्ता भएको निवेदनमा ताप्लेजुङको साविक फुइलिङ नगरपालिका–७ (हाल वडा नम्बर ६) बस्ने स्वर्गीय कृष्णप्रसाद मादेनकी कान्छी छोरी तारामती मादेनले सन् २०१३ मा हङकङबाट स्थायी आवासीय प्रमाणपत्र अर्थात् नागरिकता लिएको र २०६१ साल साउन १० गते जिल्ला प्रशासन कार्यय ताप्लेजुङ्गबाट पनि नेपाली नागरिकता बनाएको उल्लेख छ । 

सन् २०१६ जुलाई २७ मा हङकङको नागरिकता लिइसकेपछि निस्क्रिय भएको नेपाली नागरिकता प्रयोग गरि पासपोर्ट बनाएको र विदेश आउजाउ गरेको पनि निवेदनमा दावी गरिएको छ । सन् २०१४ मा अमेरिकी नागरिकता लिएका रवि लामिछानेले पनि त्यसको अर्को वर्ष २०१५ मा नेपालबाट राहदानी बनाएका थिए । सन् २०१८ मा मात्र अमेरिकी नागरिकता परित्याग गरेका उनले सन् २०२२ सम्म करिब चार वर्ष बकाइदा दुईवटा राहदानी बोकेर १७ पटक विदेश यात्रा गरेका थिए । 

सो निवेदनमा दोहोरो नागरिकता प्रयोगसम्बन्धी र झूठो विवरण दिएर नेपाली राहदानी बनाएको कसूरमा तारामतीलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्न माग गरिएको छ । यस्तै माग सिन्धुलीका युवराज सफलले रविको हकमा पनि गरेका थिए । नागरिकताका सम्बन्धमा सर्वोच्च अदालतले मागबमोजिमकै फैसला गरेपनि दोहोरो राहदानीमा भने उनले सफाई पाएका छन् ।

टिप्पणीहरू