रामचन्द्रपछि देउवाद्वारा सिटौलाको रेस्क्यु

रामचन्द्रपछि देउवाद्वारा सिटौलाको रेस्क्यु

जटिल राजनीतिक अभ्यासमा फसेको कोशी प्रदेशलाई मध्यावधिबाट बचाउनका लागि स्वयं कांग्रेस सभापति शेरबहादुर देउवा सक्रिय हुनुभएको छ ।

विश्वासको मत पाउन नसकेर ढलेको अन्तिम एमाले सरकारको विकल्पमा कांग्रेसले झापाकै हिक्मत कार्कीको सट्टा उद्धव थापालाई मुख्यमन्त्री बनाउन पाउने भएको छ । प्रदेशसभा सभापतिसमेत रहेका उद्धव कृष्ण सिटौलानिकट सांसद हुन् । सिटौलाले प्रतिनिधिसभाको चुनाव हारेपछि कम्तीमा उनी पक्षको एउटा मान्छे मुख्यमन्त्री छ भनी चित्त बुझाउन ठाउँ हुन्छ भन्ने नाममा देउवाले रामचन्द्र पौडेललाई जसरी नै व्यवस्थापन गर्न लाग्नुभएको हो । यसका निम्ति साथ चाहिन्छ, राप्रपाको । त्यसैले देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग समन्वय गर्नुभएको छ । त्यसक्रममा मध्यावधिमा जानुभन्दा कांग्रेस, माओवादीसहितको सरकारलाई समर्थन गर्ने कुरा भएको बताइन्छ । नत्र, बहुमत सांसदका आधारमा एमालेले सरकार बनाउन त पाउँछ, तर विश्वासको मत नपाउँदा उसले मध्यावधि सिफारिस गर्नुपर्ने हुन्छ । यदि मध्यावधि भयो भने प्रदेशको नेतृत्व स्वयं एमाले, कांग्रेससहित सबैको हातबाट गुमेर घण्टीमय हुने खतरा छ ।

अर्कातर्फ, एमालेले अहिलेको राजनीतिक गतिविधिमा आफ्नो अनुकूलता खोजिरहेको छ भने देशभरिमा ऊबाट विभाजित एकीकृत समाजवादीसँग एउटा पनि मुख्यमन्त्री नहुने भएको छ । उसका लागि अनुकूल बागमती र मधेस हो । ती प्रदेशमा उक्त पार्टीका सात–सात सीट छन् । त्यसमध्ये मधेसमा मधेसकेन्द्रित दलको दावी बढी छ । विशेषतः उपेन्द्र यादव नेतृत्वको जसपा मुख्यमन्त्री छाड्न तयार देखिँदैन । समाजवादीले सातै प्रदेशको नीति आयोगमा भाग पाउने सहमति भएको सो पार्टीका नेताहरूको भनाइ छ । एक–एक सांसद रहेका गण्डकी र लुम्बिनीमा तत्काल मन्त्री दिइने भएको छ । कर्णालीमा अहिलेलाई एउटा संसदीय समितिको सभापति लिने सल्लाह छ ।

प्रदेश सरकारकै कुरालाई लिएर एमालेका कोशी प्रदेश इञ्चार्ज रघुवीर महासेठ र जसपा अध्यक्ष उपेन्द्र यादवबीच आइतबार दिउँसो भेट भएको छ । यद्यपि, यही कारण केन्द्रीय गठबन्धनभन्दा जसपा कोशीमा फरक भूमिकामा जाने सम्भावना छैन । त्यहाँ जसपाको एक सीट छ । 
 

टिप्पणीहरू