सेना बन्यो स्याण्डविच

सेना बन्यो स्याण्डविच

नेपाली सेना अहिले कस्तो चेपुवामा परेको छ भने, एकातिर छिमेकी राजदूतहरुले निवासमै बोलाएर गत शुक्रबार दबाब दिने, अर्कातिर अर्को मुलुकले चेतावनीयुक्त शैलीमा भन्ने, ‘होस गर है !’

एपिसी खरिदका क्रममा सेनाले यस्तो झमेला व्यहोरिरहेको हो । अमेरिकाले कालोसूचीमा राखेको नोरिन्को कम्पनीमार्फत एपिसी खरिदका लागि सेनाले कांग्रेस सभापति शेरबहादुर देउवाका सालो भूषण राणा, नेता ज्ञानेन्द्र कार्कीका भाइ लोकेन्द्रहरुलाई एजेण्ट बनाएको छ । अर्कातिर, सैनिक अस्पताल बनाउने टेण्डर नै यसरी खोलिएको छ कि, एउटा मेडिकल माफियाबाहेक कसैले त्यसमा काम गर्नै नसक्ने । २ अर्ब ८० करोडको उक्त टेण्डर विशाल पण्डितहरुको  इजी इन्फ्रास्टक्चरल कम्पनीलाई मात्रै मिल्ने गरी सार्वजनिक भएको छ । अर्को एउटा फर्मले पनि उक्त टेण्डरमा प्रतिस्पर्धा गर्दैछ । तर, कामचाहिँ विशालहरुकै हातमा पुग्ने सैनिक स्रोतले जनाएको छ । किनभने, मापदण्डमै पण्डितले सिंहदरबारको दक्षिणी गेटसामुन्ने आफ्नो होटल बनाउँदा अपनाएको इपिएसकै तरिकाले अस्पताल बनाउनुपर्ने उल्लेख छ । उनको बाहेक नेपालका अन्य निर्माण कम्पनीसँग यससम्बन्धी अनुभव छैन ।

सेनाभित्र यो गिरोह कति शक्तिशाली छ भने, निजगढ–काठमाडौं द्रूतमार्ग (फास्टट्रयाक) का लागि पहिला इञ्जिनियरहरुले पनि ९८ प्रतिशत काममा उनैलाई ठेक्का दिलाएका थिए । अर्बौं रकमको लेनदेनमा उक्त काम भएको थियो । 

उनी शक्तिकेन्द्र धाउँदै आफ्नो काम गराउनमा माहिर छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकोमा पनि जान्थे । अहिले विभिन्न राजनीतिक दलका नेताहरुको ढोकाढोकामा गएर कसरी काम उम्काउने भनी सल्लाह लिने गर्दछन् । 

उता, आफू चोखो देखिन र घर गैसकेका पूर्वजर्नेलसँग रिस साँध्ने नाममा लेखा अधिकृत (क्याप्टेन) लाई जाक्ने काम भएपछि जंगी अड्डाले हालै महासेनानी (फुल कर्णेल) विजित रेग्मीको कमाण्डमा कोर्ट अफ इन्क्वायरी गठन गरेको छ । 

जुम्लाका बाहिनीपति सोभेन्द्र महतले आफूभन्दा पहिलाका हाकिम रामचन्द्र खत्रीको पालामा भएको एउटा कारोबारको फाइल पल्टाएपछि लेखाका क्याप्टेन सुदीप श्रेष्ठ एक ठेकेदारमार्फत १० हजार लेनदेन र टिएडिएलगायत इन्भर्टर र इन्टरनेट जडानको मामिलामा  परेका हुन् । उनीसँगै उक्त बाहिनीका मेजर र क्लर्क पनि जंगी अड्डा तानिएका छन् । 

सामान्यतया एक हाकिमको पालामा भएको कारोबार वा गतिविधिमाथि अर्को हाकिमले छानवीन गर्ने र कारवाही गराउनेजस्ता काम सेनाभित्र हुने गर्दैन । सोभेन्द्रले भने आफूलाई अब्बल देखाउने नाममा अरुलाई दुःख दिइरहेको भनी जंगी अड्डामा चर्चा छ ।

टिप्पणीहरू